काठमाडौं- नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्वतन्त्र लेखापरीक्षकको योग्यता तोकेको छ। यसअघि प्रकाशन गरेको आशयपत्र संशोधन गर्दै राष्ट्र बैंकले अन्तर्राष्ट्रिय लेखापरीक्षक नियुक्तिका लागि योग्यता थप गरेको हो।
न्यूनतम ७ वर्षसम्म वैधानिक लेखापरीक्षण वा परामर्श सेवाको काम गरेको स्वतन्त्र लेखापरीक्षक फर्मले मात्रै बोलपत्रमा सहभागिता जनाउन पाउने सर्त राष्ट्र बैंकले राखेको छ। सो अवधिभन्दा बढी कार्य अनुभव भएका अडिटर फर्मलाई प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले स्वतन्त्र लेखापरीक्षकका लागि विशेष अनुभवसमेत थप गरेको छ। जसअन्तर्गत ५ वटा वैधानिक लेखापरीक्षण गरेको वा कम्तिमा एक कर्जा फोर्टफोलियो मूल्यांकन वा कम्तिमा ७ वर्षदेखि वाणिज्य बैंकहरूको लेखापरीक्षण गरिरहेको हुनुपर्ने सर्त राखिएको छ।
वाणिज्य बैंकहरूको कर्जा फोर्टफोलियो परीक्षण र बैंकहरूको सम्पत्तिको गुणस्तर मूल्यांकनका क्षेत्रमा काम गरेका अन्तर्राष्ट्रिय अडिटरलाई अतिरिक्त नम्बर प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ।
यस्तै कम्तिमा दुई वर्षसम्म विभिन्न देशहरूमा बैंकहरूको लेखापरीक्षण वा परामर्श सेवा दिइएका अन्तर्राष्ट्रिय अडिटरलाई समेत विशेष अंक उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ।
नेपालका १० ठूला वाणिज्य बैंकहरूबाट प्रवाह भएको कर्जाको लेखापरीक्षणका लागि राष्ट्र बैंकले चैत ९ गते आशयपत्र आह्वान गरेको थियो। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) र नेपाल सरकारबीच सम्झौता भएको विस्तारित कर्जा सुविधा (ईसीएफ) को प्रमुख सर्तका रुपमा अन्तर्राष्ट्रिय स्वतन्त्र लेखापरीक्षकमार्फत नेपालको १० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण गराउनुपर्ने सर्त राखिएको छ।
यसअघि आह्वान गरेको आशयपत्रमा राष्ट्र बैंकले दिएको टीओआरकाआधारमा १० ठूला वाणिज्य बैंकले प्रवाह गरेको कर्जाको मूल्यांकनसम्बन्धी प्रतिवेदन र नेपालको वित्तीय प्रणालीमा बैंकको भूमिका तथा प्रभावसहितका दुईवटा एकीकृत अध्ययन प्रतिवेदन तयार पार्नुपर्ने जिम्मेवारी दिइएको छ।
छनोट भएका अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्मले नेपालका बैंकहरूले अपनाएको लेखाप्रणाली, एनएफआरएस तथा आईएफआरमा उपलब्ध तथ्यांकका आधारमा कर्जाको मूल्यांकन गर्नुपर्ने सर्त राखेको छ।
स्वतन्त्र लेखापरीक्षकले नेपालका बैंकहरूले अबलम्वन गर्दै आएको नीति, प्रकृया तथा नियन्त्रण प्रणालीका आधारमा कर्जाको विश्लेषण गर्नुपर्ने राष्ट्र बैंकले आशयपत्रमा उल्लेख गरेको छ।
कर्जाको क्रेडिट रिस्कको मूल्यांकन, अनुगमन, नियन्त्रण र बैंकहरूको क्रेडिट रिस्क प्रणालीको अध्ययन गर्ने राष्ट्र बैंकले सर्त राखेको छ। स्वतन्त्र लेखापरीक्षकले गुणात्मक तथा परिमाणात्मक लेखापरीक्षण गर्नेछ।
गुणात्मक लेखापरीक्षण अन्तर्गत बैंकहरूको कर्जा नीति, गाइडलाइन्स र प्रोडक्ट पेपर, क्रेडिट रिस्क व्यवस्थापन, भूमिका, संरचना र जोखिम व्यवस्थापन तथा कार्यान्वयन प्रणाली, बैंकहरूको खराब कर्जा, सम्पत्ति मूल्यांकन तथा गुणस्तर र कर्जाको उपयोग तथा अनुगमन प्रणालीको अध्ययन गर्नेछ।
१० वाणिज्य बैंकबाट प्रवाह भएको कर्जाको वर्गीकरण, जोखिम भार, राष्ट्र बैंकको नियमन तथा उसले जारी गरेको निर्देशन, कर्जा प्रवाह तथा लोन लस प्रोभिजनिङलगायतका क्षेत्रमा गुणात्मक लेखापरीक्षण गरिने उल्लेख छ।
अन्तर्राष्ट्रिय लेखापरीक्षकले आगामी अप्रिल ७ गतेसम्म नेपाल राष्ट्र बैंकको सार्वजनिक बोलपत्रसम्बन्धी वेबसाइटमा नि:शुल्करुपमा आशयपत्र (ईओआई) बुझाउनुपर्ने छ।
प्राप्त ईओआईमध्ये ५० प्रतिशत क्षमता तथा योग्यता,४० प्रतिशत अनुभव र १० प्रतिशत कार्यक्षमताका आधारमा अन्तर्राष्ट्रिय लेखापरीक्षक छनोट हुनेछ।
राष्ट्र बैंकले तोकेको सर्त, योग्यता तथा कार्य अनुभवका आधारमा न्यूनतम ७० प्रतिशत अंक पुर्याएर सहभागी फर्ममध्येबाट राष्ट्र बैंकले स्वतन्त्र लेखापरीक्षक नियुक्ति गर्नेछ। यस प्रकृयाबाट छनोट भएका स्वतन्त्र लेखापरीक्षकले आगामी जुनबाट वाणिज्य बैंकहरूको कर्जाको परीक्षण गराउने राष्ट्र बैंकको तयारी छ।