बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जनगणनामा जनशक्ति : शिक्षकभन्दा विद्यार्थी प्राथमिकतामा 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
जनगणनामा जनशक्ति : शिक्षकभन्दा विद्यार्थी प्राथमिकतामा 

केन्द्रीय तथ्यांक विभागले यो पटक गणक छनौट गर्दा शिक्षक तथा कर्मचारीभन्दा निश्‍चित शैक्षिक योग्‍यता पूरा गरेका वेरोजगार युवाहरूलाई प्राथमिकता दिने भएको छ।

काठमाडौं- मंसिरमा सम्पन्न हुने जनगणनामा खटिने जनशक्तिमा शिक्षकभन्दा विद्यार्थी प्राथमिकतामा पर्ने भएका छन्। 

केन्द्रीय तथ्यांक विभागले यो पटक गणक छनौट गर्दा शिक्षक तथा कर्मचारीभन्दा निश्‍चित शैक्षिक योग्‍यता पूरा गरेका वेरोजगार युवाहरूलाई प्राथमिकता दिने भएको छ।

पहिले  शिक्षक र कर्मचारीहरू गणकका रुपमा खटिन्थे। तर यो पटक सकेसम्म शैक्षिक योग्यता भएका बेरोजगार युवाहरूलाई प्राथमिकता दिन भनेपछि छनौटको मापदण्ड बनाइएको थियो। वैशाखमै सुरु भएको छनौट निरन्तर हुने विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए।

विभागले यसअघि गरेका अन्य सर्वेक्षण तथा गणनामा पनि विद्यार्थी परिचालन गरेको थियो। यसरी विद्यार्थी परिचालन गर्दा तथ्यांक सङ्कलनको गुणस्तरमा कुनै बाधा नपरेपछि यसपटकको जनगणनामै संख्या बढाउने विश्वास बढेको रेग्मीको भनाइ छ।  

सरकारका लागि विद्यार्थीभन्दा शिक्षक खटाउँदा आर्थिक रुपमा फाइदा हुन्छ। शिक्षकलाई खटाउँदा काजमा लिइन्छ। यसरी लिँदा खाइपाइ आएको तलबको पचास प्रतिशतमात्र दिइन्छ। तर विद्यार्थी खटाउँदा भने एक महिनाका लागि खरिदार सरहको तलब दिइन्छ।

विभागले जनगणनाका लागि तय भएका प्रश्‍नावली लिएर फिल्डमा जाने ३९ हजार गणक छनौटको काम पहिले नै पूरा गरेको थियो। असारमा तय भएको गणना कोरोनाका कारण रोकिएपछि फेरि छनौट सम्पन्न गरी तालिम दिने काम अघि बढ्ने छ। 

जगणनामा गणक बाहेक ८ हजार ५ सय सुपरीवेक्षक खटिने छन्। पहिले छनौट भइसकेका र यहाँ नरहेका या काम गर्न नसक्ने भएर जनशक्ति अपुग भएमा सरकारी कर्मचारी काजमा खटाउने तयारी भइरहेकाे छ। 

स्थानीय जिल्ला जनगणना कार्यालयमा भने शिक्षक तथा कर्मचारीहरू काजमा खटिने छन्। 

मंसिर ९ गते सम्पन्न हुने जनगणनामा दसैँअघि नै घरपरिवार सूचीकरण हुने छ। यो काम सुपरीवेक्षकले गर्ने छन्। यसरी आएको सूचीकरणको आधारमा एक सुपरीवेक्षकले चारजना गणकहरु लिएर मुख्य प्रश्‍नावली लिएर कात्तिक २५ देखि मंसिर ९ सम्म फिल्डमा जाने छन्। त्यस्तै सामुदायिक प्रश्‍नावली भने वडा कार्यालय मार्फत जाने छन्।

जनगणना सम्पन्न भएको तीन महिनाभित्र प्रारम्भिक तथ्यांक सार्वजनिक हुने छ।


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०५:४३
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend