आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दैछन् एन्जिल, ममता र श्रीराम

images
मंगलबार, चैत २० २०८०
images
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दैछन् एन्जिल, ममता र श्रीराम

च्याउखेतीबाट वार्षिक लाखौँ आम्दानी गरिरहेका उनीहरु च्याउखेतीमा लगानीभन्दा आम्दानी तेब्बर हुने बताउँछन्।

images
images

कैलाली- पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेका छन्।

images
images
images

व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएका छन्। विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ। उनले व्यवसायलाई बढाउँदै लगेका छन्।

images
images

'मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन। उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन। घरबाटै सबै बिक्री हुन्छ', उनले भने।

images
images

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएका छन्। गर्मीमा ब्लुक्याप, पिंकी च्याउ उत्पादन गर्दै आएका उनले बर्खामा दुधेच्याउ लगाउँदै आएका छन्। लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्।

'लगानीको तुलनामा आम्दानी अधिक छ। त्यसैले व्यवसाय विस्तार गरेको छु', उनी भन्छन्, 'परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु।' उनले च्याउखेतीमात्रै नभइ बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएका छन्। अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ।

'च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु। तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक चारदेखि पाँच लाख रूपैयाँ आम्दानी हुन्छ', उनले भने।

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएका उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ।

जानकी गाउँपालिका-४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन्। उनले च्याउखेतीमा करिब ५० लाख रूपैयाँ लगानी गरिसकेका छन्। व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन्।

'मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो। करिब ५० लाख रूपैयाँ लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो। अबको आम्दानी बचतमा जान्छ', उनी भन्छन्।

च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन्। जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ। च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन्। उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन्।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन्। पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएका थिए साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सकिन् भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन्।

परिवारको दबाबले एक वर्ष कानून पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो। उनी भन्छिन्, 'अब स्नातकोत्तर गर्छु। व्यवसायलाई पनि निरन्तरता दिनेछु।'

बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशी लगानी गरेका छैनन्। यो वर्ष एक लाख रूपैयाँ लगानी गरेको उनको च्याउ खेतीबाट छ लाख रूपैयाँ आम्दानी भएको छ।

'च्याउखेतीमा खासै लगानी छैन। त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैसँग हुन्छ प्लास्टिक किन्नुपर्छ। लगानीभन्दा आम्दानी तेब्बर छ', उनले भने। उनको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन्। रासस


प्रकाशित : मंगलबार, चैत २० २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend