शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बैंकिङ प्रणालीमा ६२ खर्ब पुग्यो निक्षेप, लगानी नभएपछि झन्डै साढे ६ खर्ब रूपैयाँ बैंकमै थुप्रियाे

सोमबार, चैत १९ २०८०
बैंकिङ प्रणालीमा ६२ खर्ब पुग्यो निक्षेप, लगानी नभएपछि झन्डै साढे ६ खर्ब रूपैयाँ बैंकमै थुप्रियाे

विप्रेषण आप्रवाहमा भएको वृद्धि, व्यावसायिक गतिविधिमा आएको शिथिलता, सेयर तथा घरजग्गा कारोबार संकुचित रहेकाले बैंकिङ प्रणालीमा निक्षेप निरन्तरुपमा बढेको हो।

काठमाडौं- नेपालको बैंकिङ प्रणालीमा कुल निक्षेप संकलन ६२ खर्ब १ अर्ब पुगेको छ। वाणिज्य बैंक, विकास बैंक, वित्तीय कम्पनी र लघुवित्तीय तथा वित्तीय संस्थामा गरी कुल निक्षेप संकलन ६२ खर्ब पुगेको हो।

राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकमा ५४ खर्ब ८७ अर्ब रूपैयाँ र अन्य वित्तीय संस्थाहरुमा ७ खर्ब १३ अर्ब रूपैयाँ निक्षेप रहेको छ। 

विप्रेषण आप्रवाहमा भएको वृद्धि, व्यावसायिक गतिविधिमा आएको शिथिलता, सेयर तथा घरजग्गा कारोबार संकुचित रहेकाले बैंकिङ प्रणालीमा निक्षेप निरन्तरुपमा बढेको हो। 

लगानीका लागि उपयुक्त वातावरण निर्माण नभएको भन्दै बैंक वित्तीय संस्थामा निक्षेप राख्ने काम बढिरहेको छ। बैंकहरुले मुद्दती निक्षेपमा अहिले पनि औसतमा ७ देखि ८ प्रतिशत ब्याजदर दिइरहेका छन्।

संस्थागत मुद्दती निक्षेप र व्यक्तिगत मुद्दती निक्षेपबीचको ब्याजदरको अन्तर १ प्रतिशत मात्रै रहेकाले संस्थाहरु अझै पनि बैंकको मुद्दतीमा बचत राख्न प्रोत्साहित देखिन्छन्।

यस्तै निक्षेपको तुलनामा कर्जा प्रवाह भने बढ्न सकेको छैन। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक वित्तीय संस्थाबाट कुल कर्जा प्रवाह ५० खर्ब ८४ अर्ब रूपैयाँ भएको छ। जसमध्ये वाणिज्य बैंकले ४४ खर्ब ९८ अर्ब रूपैयाँ र अन्य वित्तीय संस्थाहरुले ५ खर्ब ८६ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन्।

निक्षेप संकलनको तुलनामा कर्जाको परिचालन घट्दै गएकाले बैंकहरुको औसत कर्जा निक्षेप (सीडी) अनुपात ७९.६१ प्रतिशतमा झरेको छ। 

राष्ट्र बैंकले बैंकहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ। कर्जा निक्षेप अनुपात ७९.६१ प्रतिशत कायम भएसँगै बैंकिङ प्रणालीमा करिब ६ खर्ब ४४ अर्ब रूपैयाँ लगानीयोग्य रकम रहेको छ। 

बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य रकम भएकाले नै बैंक वित्तीय संस्थाहरुले २.६३ प्रतिशत ब्याजदरमा अन्तरबैंकिङ कारोबार गरिरहेका छन्।


प्रकाशित : सोमबार, चैत १९ २०८०१७:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend