काठमाडौं- नेपालले आयोजना गर्ने तेस्रो लगानी सम्मेलनका लागि चीनमा लगानी बोर्डले प्रि-इभेन्ट सेमिनार आयोजना सम्पन्न गरेको छ। लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूतावास, बेइजिङ तथा हङकङ, छेङ्दु र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनका विभिन्न सहरमा प्रि-इभेन्ट गरेको हो।
बोर्डले तेस्रो लगानी सम्मेलनको प्रि-इभेन्टसम्बन्धी पाँचवटा छुट्टाछुट्टै सेमिनारमा सहभागिता जनाएको छ।
आगामी बैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई दृष्टिगत गरी चिनियाँ सरकारी निकायहरु, चिनियाँ लगानीकर्ता र च्याम्बरका प्रतिनिधिहरु तथा गैरआवासीय नेपालीलगायतलाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रमहरुमा आगामी लगानी सम्मेलनको उद्देश्य, लगानीको वातावरण निर्माणका लागि भएको नीतिगत एवं कानूनी सुधारका प्रयासहरु, लगानीका अवसर र सम्भाव्य परियोजनाहरूको बारेमा जानकारी दिइएको थियो।
मार्च २३ मा हङकङस्थित महावाणिज्यदूतावासद्वारा आयोजित कार्यक्रममा महावाणिज्यदूत उदय राना मगरले नेपालमा वैदेशिक लगानी विषयक प्रस्तुतीकरण दिएका थिए। लगानी बोर्डको कार्यालयका सहसचिव प्रद्युम्न प्रसाद उपाध्यायले नेपालमा रहेका लगानीका अवसर र आगामी लगानी सम्मेलनको विषय समेटिएको प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै बोर्डको कार्यालयका प्रवक्ता उपाध्यायले नेपालमा रहेको लगानीको प्रचुर सम्भावनाको खोजी गरी उपस्थित सहभागीहरुलाई नेपालमा लगानीको लागि आह्वान गरेका छन्। एक सयभन्दा बढी सहभागीहरु रहेको उक्त कार्यक्रममा हङकङ र मकाउका स्थानीय व्यवसायीहरु, च्याम्बरका प्रतिनिधिहरु तथा गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो।
त्यसैगरी मार्च २५ मा छेङ्दुस्थित महावाणिज्यदूतावासको आयोजनामा सञ्चालित कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा रहेको लगानीको वातावरण र लगानीको अवसर, सार्वजनिक निजी साझेदारीका परियोजना र ठूला लगानीको सहजीकरण गर्न स्थापित लगानी बोर्डको संस्थागत विकासका लागि भएका प्रयास गरिरहेको बताए। उनले परियोजना विकास र व्यवस्थापनका क्षेत्रमा लगानी बोर्डले चालेका कदमहरुको बारेमा जानकारी दिँदै आगामी महिना आयोजना हुने तेस्रो लगानी सम्मेलनमा सहभागिताका लागि अनुरोध गरेका थिए।
सहभागीहरुबाट उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानी बोर्ड लगानीकर्ताहरुलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको विषय जानकारी गराए। उक्त कार्यक्रममा लगानी बोर्डको कार्यालयका उपसचिव रमेश अधिकारीले विदेशी लगानीको प्रक्रिया र लगानीसँग सम्बन्धित मुख्यमुख्य कानूनका प्रावधानहरु समेटिएको एक प्रस्तुतीकरण दिएका थिए।
बेइजिङस्थित दूतावासले मार्च २६ मा आयोजना गरेको विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको चर्चा गर्दै नेपालमा रहेका तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका क्षेत्रहरुमा लगानी गर्न आह्वान गरेका थिए।
उपप्रधानमन्त्रीले आगामी महिना आयोजना हुने लगानी सम्मेलन नेपालमा रहेको लगानीको वातावरण र अवसरहरुको विषयमा जानकारी लिने उपयुक्त अवसर भएकोले सहभागिताका लागि उपस्थित सहभागीहरुलाई अनुरोध गरेका थिए।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील सिंहावलोकन प्रस्तुत गर्दै लगानीका आकर्षक क्षेत्रहरू भट्टले नेपालमा लगानीको वातावरण सम्बन्धमा संक्षिप्त स्वच्छ र नवीकरणीय ऊर्जाका साथै भौतिक पूर्वाधार, पर्यटन, सूचना प्रविधि, कृषि प्रशोधन, उत्थानशील सहरी पूर्वाधार, खानी तथा खनिज परियोजनाहरूमा लगानी गर्न चिनियाँ लगानीकर्तालाई आह्वान गरे।