शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

रोगका कारण तीन सातामा एउटै फार्मका २८० बाख्रा मरे, करोडौँको क्षति

images
आइतबार, चैत १८ २०८०
images
रोगका कारण तीन सातामा एउटै फार्मका २८० बाख्रा मरे, करोडौँको क्षति

रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित डेढ करोड रूपैयाँ क्षति पुगेको फार्म सञ्चालक नारायण बराल बताउँछन्।

images
images

कास्की- मादी गाउँपालिका-१२ स्थित एक बाख्रा फार्ममा रोगका कारण दुई सय ८० बाख्रा मरेका छन्। लिपेयानीस्थित नारायणप्रसाद बरालले सञ्चालन गरेको स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बोयर जातका बाख्रा तीन सातामा निमोनियाका कारण मरेका हुन्।

images
images
images

बरालले पछिल्ला २० दिनमा अधिकांश बाख्रा मरेर खोर रित्तै भएको र अहिले तीन वटामात्र बाँकी रहेको जानकारी दिए। बाख्रामा सुरुवातमा घाँस, दाना, पानी नखाने, सिगान बगाउने लगायतका लक्षण देखा परेको बताइन्छ।

images
images

सुरुवातमा गत पुसमा केही बाख्रा बिरामी भएपछि औषधि गरेर निको भए पनि अहिले पछिल्लो दुईदेखि तीन सातामा सबै बाख्रा मरेको बरालले बताए। 'सुरुमा पुस अन्तिमतिर केही बाख्राले नाकबाट सिगान बगाउने, घाँसपानी नखाने, झोक्रयाउने भएपछि गाउँपालिकाका पशु प्राविधिकलाई बोलाएर उपचार गरेपछि ठीक भएका थिए', बरालले भने, 'तर अहिले पुनः पहिलाकै समस्या देखियो र बीस दिनमा सबै बाख्रा मरे।'

images
images

बरालले बाख्रा मर्न थालेपछि प्राविधिकलाई बोलाएर उपचार गर्दासमेत कम नभएको बताए। पशु प्राविधिकले रोग पत्ता लगाउनका लागि ल्यावमा परीक्षण गर्दा क्रोनिक निमोनिया पुष्टि भएको थियो। थप क्षति हुन नदिनका लागि इन्जेक्सन लगाएको भए पनि काम नगरेको बरालले बताए। बरालले रोगका कारण ठूलो सङ्ख्यामा बाख्रा मरेपछि अनुमानित डेढ करोड रूपैयाँ क्षति पुगेको उल्लेख गरे।

बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिए। पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आएका थिए। बाख्रासँगै उनले कुखुरापालन गरेका छन्। बरालले गत वर्ष बाख्रापालनबाट ३८ लाखको आम्दानी गरेकामा यसवर्ष ५० लाख रूपैयाँको बिक्री गर्ने योजना बनाएका थिए।

'सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ। अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ', बरालले भने। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिए।

हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताए। 'विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो। त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ। धेरै ढिला भएकाले उपलब्धि भएन', उनले भने।

सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताए। पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताए। रासस


प्रकाशित : आइतबार, चैत १८ २०८०१६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend