शनिबार, मंसिर १५ गते २०८१    
images
images

जाँचपास नहुँदा वीरगञ्ज भन्सारमा थन्किए एक हजारभन्दा बढी सवारीसाधन

images
आइतबार, चैत १८ २०८०
images
images
जाँचपास नहुँदा वीरगञ्ज भन्सारमा थन्किए एक हजारभन्दा बढी सवारीसाधन

व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो।

images
images

पर्सा- वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन्। अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै भन्सार यार्डमा रोकिएका सवारीसाधनको जाँचपास गराउने गर्दै आएकाले यार्डमा सवारीसाधन थन्किने प्रवृत्ति बढेको हो।

images
images
images

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले कार्यालयमा मात्रै जाँपपास नभएका एक हजार दुई सयभन्दा धेरै इन्धनबाट चल्ने सवारीसाधन रहेका बताए।

images

'यहाँ एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभइ रोकिएका छन्। व्यवसायीहरूले शोरुममा भएका सवारीसाधन बिक्री भएसँगै वा ग्राहकको माग बढेपछि भन्सार जाँचपास गराउने प्रवृत्ति छ।'

images

कार्यालयका अनुसार भन्सार यार्डमा बस, ट्रक तथा च्यासिस र बडीलगायत छन्। भन्सार कार्यालयका अनुसार २०७९ चैतमा भन्सारमा जाँचपास नभएका सवारीसाधनको सङ्ख्या दुई हजार दुई सयभन्दा बढी थियो।

त्यसैगरी २०८० को साउनमा भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या घटेर एक हजार आठ सयमा झरेको थियो। २०८० चैत १५ गतेसम्म भन्सारमा थन्किएका सवारीसाधनको सङ्ख्या एक हजार दुई सय छ।

अटोमोबिल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष ध्रुव थापा आर्थिक मन्दीले दुई वर्षअघिदेखि नै सवारीसाधन भन्सारमा जाँचपास नभइ थन्किरहेको बताउँछन्। 'पहिला वीरगञ्ज भन्सार कार्यालयमा झन्डै दुई हजार दुई सय सवारीसाधन भन्सार जाँचपास नभइ थन्किएकामा अहिले व्यवसायीले विदेशबाट सवारीसाधनको आयात घटाएर भन्सारमा भएको सवारीसाधन छुटाउँदा रोकिएका सवारीसाधनको सङ्ख्या केही घटिरहेको छ', उनले भने, 'आर्थिक मन्दी र बैंक तथा वित्तीय संस्थाले सहज ढंगले सवारीसाधनमा लगानी नगर्दा पनि सवारीसाधन भन्सारमा नै रोकिएका हुन्।'

पूर्वअध्यक्ष थापाले भन्सारमा रोकिएका इन्धनबाट चल्ने सवारीसाधन खरिद मूल्यभन्दा धेरै रकम भन्सार महसुल तथा राजस्वबापत तिर्नुपर्ने भएकाले पनि बिस्तारै छुटाउने नीति लिँदै आएको बताए।

प्रमुख भन्सार प्रशासक पन्थीले भन्सार यार्डमा सवारीसाधन जाँचपास नगरिकनै थन्किनुले सवारीसाधनको बजार सुस्ताएको संकेत गर्ने बताउँछन्। 'अहिले इन्धनबाट चल्ने सवारीसाधनको माग कम छ। त्यसैले पनि भन्सारमा रोकिरहेका सवारीसाधनको सङ्ख्या केही बढी देखिएको हो', उनले भने, 'भन्सार यार्डमा रोकिएका एक हजार दुईसय सवारीसाधनको जाँचपास हुने हो भने कम्तीमा पनि १० अर्ब रूपैयाँ हाराहारीको राजस्व संकलन हुनेछ।' 

वीरगञ्ज भन्सार कार्यालयमा भन्सार जाँचपास नभइ रोकिएका सवारीसाधनमध्ये अधिकांश व्यावसायिक प्रयोजनका लागि ल्याइएका छन्। भाडाका बस, पिकअपलगायत छन्।

'अहिले यहाँका मान्छेको क्रय क्षमता निकै घटेको छ। अहिले आर्थिक मन्दीका कारण गाडी किन्ने क्षमतामा मान्छे पुगिसकेका छैनन्', पूर्वअध्यक्ष थापाले भने, 'अहिले व्यावसायिक गाडीबाट खासै कमाइ छैन। त्यही कारणले पनि व्यावसायिक प्रयोजनका सवारीसाधनको खरिद गर्न व्यवसायी अनिच्छुक छन्।'

पूर्वअध्यक्ष थापाका अनुसार बैंक तथा वित्तीय संस्थाले पनि निश्चित प्रकृतिका सवारीसाधनबाहेक अन्यमा फाइनान्सिङ गर्न हिच्किचाइरहेका छन्। 'नयाँ सवारीसाधन खरिद गर्नेले अहिले ५० प्रतिशत नगद लगानी गर्नुुपर्ने हुन्छ', उनले भने, 'बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा ५० प्रतिशत लागनी गर्नसमेत आनाकानी गरिहेकाले केही समस्या भएको हो।'

विगतमा इन्धनबाट चल्ने सवारीसाधनमा सवारीसाधनको कुल लागतको ७०-८० प्रतिशतसम्म ‘फाइनान्सिङ’ गर्ने व्यवस्था थियो। त्यसबेला ‘डाउनपेमेन्ट’ भने २०-३० प्रतिशत तिरेमात्रै पुग्ने गर्थ्यो। यद्यपि अहिले पनि विद्युतीय सवारीसाधनमा भने बैंक तथा वित्तीय संस्थाले ७० प्रतिशतसम्म फाइनान्सिङ गर्दै आइरहेका छन्। रासस


प्रकाशित : आइतबार, चैत १८ २०८०१०:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend