आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

आत्मनिर्भर बन्दै खजुराका किसान

images
शनिबार, चैत १७ २०८०
images
आत्मनिर्भर बन्दै खजुराका किसान
फाइल तस्बिर

उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको किसानको गुनासो छ।

images
images

खजुरा- बाँकेका स्थानीय तहले ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण’ कार्यक्रमअन्तर्गत तरकारी पकेट क्षेत्र सञ्चालन गरेको छ। उक्त कार्यक्रमबाट तरकारी खेती गरी किसान आत्मनिर्भर बन्न थालेका छन्। किसानहरु कृषि समूह बनाएर तरकारी पकेट क्षेत्रमा आबद्ध भएका छन्।

images
images
images

उनीहरुले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित मूल्यसहितको बजार भने नपाएको र ढुवानीको समस्या भएको गुनासो गरेका छन्। बाँकेको खजुरा गाउँपालिका-३ बि गाउँका कृषक राजकुमार गुरुङले तरकारी बिक्री गर्न भाडाको सवारी साधन खोजेर नेपालगञ्ज लैजानुपर्ने बाध्यता रहेको बताए।

images
images

'तरकारी उत्पादन राम्रै गरेका छौँ, आम्दानी ठिकै छ तर उत्पादन भएको तरकारी बजारसम्म लैजान ढुवानीको समस्या छ', उनले भने, 'बल्लतल्ल ढुवानीको साधन जोहो गरेर तरकारी बजारमा पुर्‍यायो व्यापारीलाई कमिसन दिनुपर्छ।'

images
images

नेपालगञ्जका ठूला तरकारी व्यापारीले भारतबाट तरकारी ल्याउँदा कृषक मर्कामा परेको उनले बताए। 'हामीले उत्पादन गरेका तरकारी अर्गानिक हुन्छन्, सस्तो पनि हुन्छ', कृषक गुरुङले भने, 'व्यापारीले भारतबाट ठूलो मात्रामा तरकारी ल्याउँदा हामीले उत्पादन गरेका तरकारीले भाउ पाउँदैन, थोक व्यापारीले लिन मान्दैनन् अनि बाध्यताले कमिसन दिनुपर्छ।'

तरकारी बिक्री गरीदिन थोक व्यापारीलाई सयकडा आठ प्रतिशत सम्म कमिसन दिनुपर्ने बाध्यता रहेको कृषकको गुनासो छ। अर्का किसान पदमबहादुर रानाले पनि गुरुङकै जस्तो समस्या भोगेको बताए। विगत २७ वर्षदेखि कृषि पेसा गरेका रानाले कृषि फर्ममार्फत तरकारी, फलफूल तथा बेर्ना उत्पादन गर्दै आएका छन्।

'तरकारी र फलफूलजन्य वस्तुको उत्पादन गर्छु, घरपरिवार सबै यही पेसामा छौँ, आम्दानी राम्रै छ,' किसान रानाले भने, 'तर उत्पादित तरकारी बजारसम्म पुर्‍याउन समस्या छ, सवारी साधन छैन, भाडाको सवारी खोजेर कोहलपुर र नेपालगञ्जसम्म तरकारी पुर्‍याउनुपर्छ।'

कृषि समूहलाई अन्य संघसंस्थाले पनि प्राविधिक सहयोग गर्दै आएको छ। बाँके युनेस्को क्लबले पानी तान्ने ठूलो समरसेल मोटर र पाइप सहयोग गरेको रानाले छ। खजुरा-३ बी गाउँको हरियाली कृषक समूहमा २२ जना किसान आबद्ध छन्। उनीहरुलाई पालिकाले ६ लाख रूपैयाँ अनुदान दिएको छ। समूहमा आबद्ध हरेक किसानले तीनदेखि पाँच बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्।

पालिकाका विभिन्न वडामा तरकारी पकेट क्षेत्र सञ्चालन गरी अनुदान दिइएको र अझै तीन वर्षसम्म सहयोग गर्ने पालिका अध्यक्ष डम्बरबहादुर विक ‘तूफान’ले बताए। उनले भारतीय तरकारी आयात रोक्न सके खजुरा क्षेत्रले नेपालगञ्जलाई आवश्यक तरकारीको माग पूरा गर्न सक्ने बताए।

कृषि क्षेत्रको विकासका लागि पालिकाले विशेष रणनीतिअनुसार काम गर्दै आएको छ। अध्यक्ष विकले किसानलाई कृषि क्षेत्रमा आकर्षण गर्ने कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताए। खजुरा क्षेत्र तरकारी र कृषि उत्पादन पकेटका रुपमा विकास हुँदै गएको छ। रासस


प्रकाशित : शनिबार, चैत १७ २०८०१७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend