शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

छिल्लीकोटमा आम्दानीको राम्रो स्रोत बनिरहेको सुगन्धकोकिला, यसवर्ष कमाए दुई करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १६ २०८०
images
छिल्लीकोटमा आम्दानीको राम्रो स्रोत बनिरहेको सुगन्धकोकिला, यसवर्ष कमाए दुई करोड

सुगन्धकोकिला बेच्न बजार खोज्नु पर्दैन मानिस घरमै आउँछन्। बर्सेनि यसको माग र मूल्य दुवै बढ्दै गएको छ। नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्तीलगायत कच्चापदार्थका रुपमा लिइने सुगन्धकोकिला नै छिल्लीकोटको पहिचान बनेको छ।

images
images

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोटबासी सुगन्धकोकिला अर्थात मालागेडी बिक्री गरेर यस वर्ष करिब दुई करोड रुपैयाँ आम्दानी गर्न सफल भएका छन्। माडागेडीबाट निस्कने सुगन्धले छिल्लीकोट बाह्रै महिना बासनादार बन्ने गरेको छ।

images
images
images

चैत लागेसँगै फूल फुल्न थालेपछि अचेल सो ठाउँको वातावरण मगमग बासनादार बनेको छ। यस वर्ष मौसमले निकै साथ दिएपछि मालागेडी अर्थात् सुगन्धकोकिला बिक्रीबाट राम्रो आम्दानी भएको छिल्लीकोटबासी बताउँछन्।

images
images

५७ हजार रुपैयाँ प्रतिक्विन्टलमा मालागेडी बिक्री भएको स्थानीय तिलबहादुर वलीले बताए। उनले यस पटक १० क्विन्टल मालागेडी बिक्री गरे।

images
images

बाउबाजेको पालामा रोपेको मालागेडीका विरुवा अहिले ठूलाठूला भएर फल दिने भएका छन्। पछिल्लो समय व्यावसायिक रुपमा यसको खेती गर्न थालेपछि रोपिएका रुपले पनि प्रशस्त मात्रामा फल दिन थालेको छ। त्यसले गर्दा मालागेडी बिक्री गरेर उनले मनग्य आम्दानी गरे।

स्थानीय ६७ वर्षीय नत्रबहादुर खत्रीको १२ जनाको परिवार छ। यस वर्ष उनले १२ क्विन्टल मालागेडी बिक्री गरेर ६ लाख ८४ हजार आम्दानी गरे। रोपेको छ वर्षपछि नै बिरुवाले फल दिन थालेको उनले बताए। उनको घरमा ५० बोट जति पुराना रुख छन्। अरु नयाँ बोट पनि हुर्किरहेका छन्। हुर्केका बिरुवाले वर्षौंसम्म फल दिन्छन्। एक पटकको लगानीले वर्षौंसम्म आम्दानी दिने भएपछि यहाँका अधिकांशको घरमा मालागेडीका बिरुवा भएको खत्रीले बताए।

पाकेपछि रुखबाट खस्ने फललाई संकलन गरेर बिक्री गर्ने गरेको सोही वडाको खानी गाउँका खुमा थापाले बताइन्। उनी पेसाले शिक्षक हुन्। गाउँका हरेक घरमा मालागेडीका रुख छन्। बिदाको समयमा मालागेडी संकलन गर्ने गरेको उनले बताइन्। विश्वमै लोपोन्मुख प्रजाति मालागेडी अर्थात् सुगन्ध कोकिला छिल्लीकोट क्षेत्रमा प्रशस्त मात्रामा पाइने गरेको उनले बताइन्।

अन्यत्र फलेको मालागेडीभन्दा छिल्लीकोटमा फलेको मालागेडीले मूल्य राम्रो पाउने गरेको थापा बताउँछिन्।  फूल फुल्ने समयमा असिना पानी परेन भने राम्रो फल दिने उनले बताइन्।

यस वर्ष हावापानीले राम्रै साथ दिएपछि गाउँभरबाट करिब एक सय ५० क्विन्टल मालागेडी निकासी भएको उनले बताइन्। एक घरबाट दुई क्विन्टलदेखि १२ क्विन्टलसम्म मालागेडी बिक्री भएको बताइएको छ। मालागेडी किन्न व्यापारी घरमै आउने हुँदा बजारको समस्या नरहेको उनको भनाइ छ।

तुलसीपुर-१८ को दूधरासबाट उत्तर पहाडमा करिब १२ किलोमिटरको दूरीमा रहेको छिल्लीकोटमा मालागेडीलगायत थुप्रै आयुर्वेदिक वनस्पति पाइन्छन्। 'यो हाम्रा लागि आम्दानीको गतिलो स्रोत हो', स्थानीय तिलबहादुर वलीले भने, 'मालागेडी नै हाम्रो मुख्य आम्दानीको स्रोत हो, छिल्लीकोटका सबै घरपरिवारले व्यावसायिक रुपमा मालागेडीको खेती गर्दै आएका छन्, स्थानीयको आम्दानीको मुख्य स्रोत यही मालागेडी हो।'

असोज लागेपछि कालो भएर आफैँ खस्ने मालागेडी सङ्कलन गर्न सजिलो होस् भन्दै रुखको वरपरका सबै झाडी सफा गरेर मैदान बनाउने गरिन्छ। यसरी संकलन गर्दा चाँडो हुने गरेको  छ। मालागेडी बेच्न बजार खोज्नु पर्दैन मानिस घरमै आउँछन्। बर्सेनि यसको माग र मूल्य दुवै बढ्दै गएको छ। नुहाउने साबुन, स्याम्पु, अत्तर, अगरबत्तीलगायत कच्चापदार्थका रुपमा लिइने सुगन्धकोकिला नै छिल्लीकोटको पहिचान बनेको छ।

छिल्लीकोट क्षेत्रमा पर्ने खानी गाउँ, चुचुर्के, तिनुखोला, डोटेल डाँडा, पीपलडाँडा, पैयाँ टाकुरालगायत आसपासमा मालागेडीका रुखैरुख छन्। हाल यो वनस्पतिको खेती अन्य पालिकामा पनि विस्तार हुने क्रममा रहेको स्थानीय किसान परवीर पुनले बताए। हालसम्म २६ जिल्लामा छिल्लीकोटबाट मालागेडीका बिरुवा पठाइएको उनले बताए।

डिभिजन वन कार्यालयले हरेक वर्ष आफ्ना नर्सरीमा उन्नत जातका मालागेडीका बिरुवा उत्पादन गरेर किसानलाई निःशुल्क वितरण गर्दै आइरहेको कार्यालय दाङका प्रमुख मोहन श्रेष्ठले बताए। रासस


प्रकाशित : शुक्रबार, चैत १६ २०८०१४:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend