शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

लगातारको सर्किटले नेप्सेमा १० औँ ठूलो कम्पनी बन्यो सर्वोत्तम सिमेन्ट

शुक्रबार, चैत १६ २०८०
लगातारको सर्किटले नेप्सेमा १० औँ ठूलो कम्पनी बन्यो सर्वोत्तम सिमेन्ट

काठमाडौं- सर्वोत्तम सिमेन्टको सेयर कारोबारमा लगातार सातौँ दिन पनि सकारात्मक सर्किट लागेको छ। बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको सर्वोत्तमको सेयर दोस्रो बजारमा कारोबारमा आएदेखि नै निरन्तर सर्किट लागिरहेको हो।

सर्किटसँगै सर्वोत्तम सिमेन्ट पुँजीकरणको हिसाबले १० औँ ठूलो कम्पनी भएको छ। जसको बजार पुँजीकरण ५० अर्ब ३४ करोड ५५ लाख ५० हजार पुगेको छ। बजार पुँजीकरणको हिसाबमा सर्वोत्तम शीर्ष १० भित्र प्रवेश गरेको हो।

सर्वोत्तम सिमेन्ट कम्पनीको पहिलो दिन नेटवर्थको तीन गुणा अर्थात ५ सय ५६ रुपैयाँबाट कारोबार सुरु भएको थियो। सर्वोत्तमको सेयर सातौँ कारोबार दिनसम्म आइपुग्दा पनि सर्किटमै कारोबार भएर १०८३ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

बिहीबारको बजारमा सर्वोत्तमको करिब १५ मिनेटको कारोबारमा १ लाख  ७८ हजार ९ सय २५ कित्ता कारोबार भएको थियो। जसमा १९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। थोरै कित्ता भएका र संस्थापक लगानीकर्ताले बिक्री गर्न ६ महिनासम्म नपाउने भएकोले सेयर मूल्य अझै माथि जाने अनुमान गरिएको छ। 

यस कम्पनीको आईपीओमा करिब ५५ हजार लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए। लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैयाँ ९० पैसाका दरले ५० कित्ता सेयर भर्न १८ हजार ४५ रुपैयाँ लगानी गरेका थिए। सर्वोत्तमले नेपाल लाइफ इन्स्योरेन्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई पछि पारेको छ।

नेप्सेमा चैत्र ६ गतेबाट सर्वोत्तम सिमेन्टको सेयर कारोबार सुरु भएको थियो। कम्पनीको सिम्बलबाट कारोबार भएको हो। चैत्र ६ गते, चैत्र ७ गते,  चैत्र ८ गते, चैत्र १२ गते, चैत्र १३ गते,  चैत्र १४ गते र चैत्र १५ गते गरि लगातार सातौ दिन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। 

नेप्सेमा कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सुचिकृत भएको छ। सुचिकृत भएको ४ करोड ६५ कित्ता सेयर मध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ।बाँकि रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो। कम्पनीले बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गरेको हो ।

आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा २१ करोड ३८ लाख रहेको थियो। आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले ४६ करोड ७६ लाख खुद नाफा कमाएको थियो। यो कम्पनीको लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसारको खुद नाफा हो।

आर्थिक वर्ष २०८०/८१ को असोजसम्मको विवरण अनुसार कम्पनीको खुद नाफा ८ करोड ३५ लाख रहेको छ। यो अपरिस्कृत वित्तीय विवरण अनुसारको खुद नाफा हो।

चालु आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ८२ करोड ८४ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। भने आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब २ करोड खुद नाफा कमाउने प्रक्षेपण गरेको छ। आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १ अर्ब १८ करोड पुग्ने कम्पनीको प्रक्षेपण छ।

आईपीओ निष्कासन गर्नुअघि कम्पनी प्रतिसेयर नेटवर्थ १८५.३६ रुपैयाँ थियो भने प्रति सेयर आम्दानी ५ रुपैयाँ २८ पैसा थियो। 

कम्पनीको अधिकृत पुँजी ५ अर्ब रहेको छ भने आईपीओ निष्काशनपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ६५ करोड पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा कम्पनीको रिजर्भ र सरप्लसमा ३ अर्ब ४५ करोड रहेको छ। आर्थिक वर्ष २०८०/८१ मा यो रकम बढेर ४ अर्ब ९८ करोड पुग्ने कम्पनीको प्रक्षेपण छ ।

कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६५ करोड मध्ये संस्थापक सेयरधनीसँग ८७.०९६७ प्रतिसत सेयर अर्थात् ४ करोड ५ लाख किता सेयर छ। योग्य संस्थागत लगानीकर्तासँग ५.१६१३ प्रतिशत अर्थात् २४ लाख कित्ता सेयर रहेको छ।

आयोजना प्रभावित स्थानीयसँग  ०.५३ प्रतिशत सेयर अर्थात् २ लाख ४८ हजार ४ सय ७० कित्ता सेयर छ। यी सेयरमा लकइन अवधि भएकोले अहिले यी सेयर कारोबार हुन सक्दैन।

अहिले कारोबारमा आएको सेयर भने सर्वसाधारणसँग रहेको सेयर मात्र हो। जुन ७.२० प्रतिशत अर्थात् ३३ लाख ५१  हजार ५ सय ३० कित्ता मात्र हो।

गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै 

सर्वोत्तम सिमेन्ट लिमिटेडले उद्योेगको उत्पादन क्षमता ६० हजार बोरा उत्पादन हुँदै आएको छ।

सिमेन्टको उत्पादन ठुल्ठूला परियोजना तथा गौरवशाली आयोजनालगायत पुल, बाँध, हाइड्रोपावर, धावनमार्गदेखि हाउजिङ कम्पनीमा समेत पहिलो रोजाइमा पर्दै आएको कम्पनीले दाबी गर्दै आएको छ। 

सर्वोत्तम सिमेन्ट अत्याधुनिक युरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो।

कम्पनी आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरणमैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित छ। कम्पनीले ग्रिन सर्वोत्तम ओपिसी र सौरभ ग्रिन पीपीसी नामक ब्रान्डका सिमेन्ट नेपालभर बिक्री गरिरहेको छ। 


प्रकाशित : शुक्रबार, चैत १६ २०८००६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend