शनिबार, वैशाख १५ गते २०८१    
images
images

भाउ घटेर खेतालालाई दिने ज्यालासमेत नउठ्ने भएपछि किसानले बगानमै छाडे कुचो

images
images
images
भाउ घटेर खेतालालाई दिने ज्यालासमेत नउठ्ने भएपछि किसानले बगानमै छाडे कुचो

कुचो काट्ने खेतालालाई दिने ज्याला कुचो बेच्दासमेत नआउने स्थिति आएकाले कुचो नटिपी बगानमै छाड्नुपरेको किसान बताउँछन्।

images
images

इलाम- कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका-६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडे। अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि उनले बगानमै छाडेका हुन्।

images
images
images

कुचो काट्नका लागि प्रयोग हुने खेतालालाई दिने ज्याला बेच्दासमेत नपुग्ने भएपछि उनले कुचो नथुती बगानै छाडेको बताए। 'हामी आफै सबै काम गर्न सक्दैनौँ, खेतालालाई महँगो ज्यालामा कुचो काट्न लगाउनुपर्ने हुन्छ', उनले भने, 'अहिलेको भाउमा त्यही कुचो बेच्दा खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि त्यत्तिकै छाडिदिएको हुँ।'

images

उनले घर नजिकै रहेको घुमाउने पाखामा फुलेको झन्डै १२ क्विन्टल कुचो नकाटी त्यतिकै छाडिदिएका छन्। उनले गत वर्ष सोही बगानको कुचोबाट एक लाख ३२ हजार रूपैयाँ आम्दानी गरेका थिए। अहिले सो बगानबाट एक रूपैयाँ पनि आम्दानी गर्न नसकेपछि चिन्तित बन्नुपरेको उनले बताए।

images

'मैले गत वर्ष घुमाउने पाखाबाट १२ क्विन्टल कुचो उत्पादन गरेर प्रतिकिलोग्राम एकसय १० रूपैयाँमा बिक्री गरेर एक लाख ३२ हजार रूपैयाँ आम्दानी गरेको थिएँ', उनले भने, 'तर अहिले भाउ घटेकाले खेतालाको पैसा पनि नउठ्ने भएपछि कुचो काटिएन, कुचो नकाटेपछि एक रूपैयाँ आम्दानी पनि गरिएन।'

images
images

उनले करिब ५० रोपनी क्षेत्र पाखाबारीमा अम्रिसोखेती लगाएको सुनाए। विगतमा कुचो बेचेको पैसाले घरव्यवहार चलाउँदै आएका महेशकुमारको परिवारलाई अहिले घरव्यवहार चलाउन समस्या पर्न थालेको छ।

अर्का किसान बुद्धि राईको पनि पीडा उस्तै छ। उनले पनि कुचो बगानमै छाडेका छन्। कुचो बगानमै छाडेपछि त्यहाँबाट आउने आम्दानीको स्रोतसमेत बन्द भएको उनी बताउँछन्। विगतका वर्षमा सरदर १० देखि १२ क्विन्टल कुचो बेच्दै आएका बुद्धिले यस वर्ष भाउ नआएकै कारण बगानमै छाड्न बाध्य भएको सुनाए। कुचो काट्ने खेतालालाई दिने ज्याला कुचो बेच्दासमेत नआउने स्थिति आएकाले कुचो नटिपी बगानमै छाडेको उनले बताए।

महेशकुमार र बुद्धि त्यहाँका प्रतिनिधि किसानमात्र छन्। उनीजस्ता त्यहाँका १५ घर बढी किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडेका हुन्। त्यहाँका करिब एक सय क्विन्टल कुचो किसानले माया मारेर बगानमा नै छाडेको अर्का किसान धनबहादुर राईले बताए।

आफ्नो परिवारको गुजारा चलाउने माध्यम नै अम्रिसो खेतीलाई बनाएका त्यहाँका प्रायः सबै किसानलाई अहिले कसरी घरव्यवहार चलाउने भन्ने चिन्ताले पिरोल्न थालेको छ। कुचो बगानमै छाड्नुपेको घटना इलामवासीका लागि सम्भवतः यो पहिलो घटना हो।

गत वर्ष प्रतिकिलो एकसय १० देखि एकसय ३० रूपैयाँसम्ममा किनबेच भएको कुचो अहिले प्रतिकिलो ६५ रूपैयाँमा मात्र किनबेच भइरहेको छ। यो मूल्य गत वर्षको तुलनामा ५० प्रतिशतले कम हो। जिल्लामा लगाइएको अलैँचीखेती केही वर्षदेखि मासिने क्रम बढेपछि अधिकांश किसानले अलैँची लगाउने ठाउँमा अम्रिसो लगाएका थिए।

पाखो र भिरालो जमिन भए पनि सप्रने अम्रिसो अलैँचीको वैकल्पिक खेती बन्दै आएको थियो। रोगले अलैँची मासिएपछि अम्रिसो रोपेका किसान कुचोले पनि राम्रो मूल्य नपाएपछि भने चिन्तित बनेका हुन्। अन्नबाली उब्जाउनका लागि सिँचाइ अभाव हुने गरेका अधिकांश किसानले अम्रिसो लगाउने गरेका छन्। 

अम्रिसोखेती इलामका प्रायः सबै पालिकामा हुने गर्दछ। इलाममा उत्पादित कुचो स्थानीय बजारमार्फत झापाको धुलाबारीमा संकलन गरी काकटभिट्टा हुँदै भारत निकासी हुने गर्दछ। इलाममा वार्षिक तीन हजार पाँच सय मेट्रिक टन कुचो उत्पादन हुने तथ्यांक छ। कुचो उत्पादन हुने क्षेत्र थपिँदै गएकाले उत्पादनमा समेत वृद्धि हुने व्यापारीहरूको अनुमान छ। घर र कोठा सफा गर्नका लागि कुचो बनाउनदेखि विदेश निर्यात हुँदै आएको छ। रासस

images

प्रकाशित : बिहीबार , चैत १५ २०८००५:२७

प्रतिक्रिया दिनुहोस