काठमाडौं- आगामी बैशाखमा काठमाडौंमा हुने लगानी सम्मेलनमा बेलायतबाट उच्चस्तरीय लगानीकर्ताको टोली आउन इच्छुक रहेको छ।
नेपालका लागि बेलायतका राजदूत रब फेनले बिहीबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर बेलायती लगानीकर्ता लगानी सम्मेलनमा आउन इच्छुक रहेको जानकारी दिएका हुन्।
राजदूत फेनले नेपालले वैदेशिक लगानीमैत्री वातावरण बनाउँदै गएको भन्दै प्रशंसा गरे। दोहोरो कर प्रणालीसम्बन्धी नीतिबारे अन्तर्राष्ट्रिय समुदायलाई प्रष्ट पार्न अर्थमन्त्री पुनसँग उनको आग्रह थियो।
राजदूत फेनले लगानी सम्मेलन सफल पार्न आफूहरूले काठमाण्डौंस्थित अन्य मुलुकका नियोग प्रमुखहरूसँग पनि छलफल र समन्वय गरिरहेकोसमेत बताए।
‘बेलायती लगानीकर्ताको उच्चस्तरीय टोली लगानी सम्मेलनमा आउँदैछ’, उनले भने, ‘हामी लगानी सम्मेलन सफल पार्न सक्रीय भएर लागेका छौँ।’
राजदूत फेनले नेपालको शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र बञ्चितीकरणमा परेका समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको स्मरण गराउँदै आगामी दिनमा समेत त्यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए। राजदूत फेनले फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे-लिस्टमा पर्नबाट बच्न नेपालले गरिरहेको प्रयासको पनि सराहना गरे।
मन्त्री पुनले बेलायत नेपालको पुरानो मित्र र महत्वपूर्ण वैदेशिक साझेदार चर्चा गर्दै हालसम्म गर्दै आएको सहयोगका लागि धन्यबाद दिए। काठमाण्डौँस्थित बेलायती दूतावासले लगानी सम्मेलन सफल पार्न खेलेको भूमिकाको पनि उनले सराहना गरे।
मन्त्री पुनले नेपालले वैदेशिक लगानीलाई स्वागत गर्ने नीति लिएको जानकारी गराउँदै दोहोरो कर प्रणालीसहित अन्तर्राष्ट्रिय लगानीकर्ता र विकास साझेदारले उठाउँदै आएका सवाल सम्बोधन गरिने उल्लेख गरे।
वैदेशिक लगानीको वातावरण बनाउन एक दर्जन बढी कानून संशोधनको प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो। मन्त्री पुनले बेलायतले नेपालमा गर्दै आएको लगानी बढाउने अपेक्षा लिइएको बताए। जवाफमा राजदूत फेनले त्यसका लागि सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए।
यस्तै उनले गत फागुनमा नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा नेपाल आएका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल हेर्ने मन्त्री एन्ड्रयु मिचेलले घोषणा गरेको सहयोग कार्यान्वनको चरणमा रहेको पनि जानकारी दिए।
मिचेलले गत ८ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा बेलायतका तर्फबाट नयाँ विकास पोर्टफोलियोमार्फत नेपाललाई आगामी ६ वर्षभित्र ६६ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएका थिए।
सन् २०३० सम्म कार्यान्वयन हुने उक्त रकम नेपालले जलवायु परिवर्तनका संकटसँग जुध्न, विकासका लागि अन्तर्राष्ट्रिय वित्त परिचालन गर्न, आर्थिक रूपान्तरण गर्न तथा सुशासन र समावेशीकरणमा खर्च गर्नेछ।
उक्त रकमबाट १३ हजार पाँच सय रोजगारी सिर्जना हुने तथा २० लाख महिला र बालबालिकाको गुणस्तरीय स्वास्थ्य र शिक्षामा सेवामा पहुँच पुग्ने अपेक्षा दुवै देशको छ।