काठमाडौं- आन्तरिक तथा बाह्य हवाई यात्रा गर्ने यात्रुको संख्या बढ्दो छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांकअनुसार सन् २०२४ को जनवरी र फ्रेब्रुअरीमा मात्रै आन्तरिक हवाई यात्रुको संख्या झन्डै १२ प्रतिशतले बढिसकेको छ।
यात्रुको यो वृद्धिदर अझै बढ्ने निश्चित छ। हवाई यात्रुको संख्या बढेसँगै एयरलान्स कम्पनीहरूबीच जहाज थप्ने प्रतिस्पर्धा नै चलेको छ। यो प्रतिस्पर्धा अब टिकटको मूल्यमा समेत पर्ने छ।
यस्तोमा जहाज थपिरहेका कतिपय कम्पनी भने पहिलेदेखि नै आर्थिक संकटमा पनि छन्। आर्थिक संकटकै कारण गुण एयरलाइन्स त बन्द नै भएको छ। गुण एयरलाइन्सले विमानस्थललाई तिर्नुपर्ने बक्यौता रकमसमेत तिर्न सकेको छैन। गुणको ७ वटा जहाज ग्राउन्डेड छ। बुद्ध, यती र श्री एयरलाइन्सले भने प्रतिस्पर्धात्मक बढ्दो बजारमा जहाज थपिरहेका छन्।
पछिल्लो समय एयरलाइन्स कम्पनीहरूको व्यापारसमेत बढेको देखिएको छ। केही दिनअघिमात्रै रेटिङमार्फत सार्वजनिक भएको बुद्ध एयरको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा मात्रै १२ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ।
पछिल्लो समय हवाई यात्रुको संख्या बढ्नुमा देशभर कमजोर रहेको राजमार्गको अवस्थालाई समेत कारकका रुपमा तुलना गरेर हेर्ने गरिएको छ। अहिले अधिकांश राजमार्गमा विस्तारको काम भइरहेको छ। जसका कारण सडक यात्रा कष्टकर भएको छ। त्यसले गर्दा पनि हवाई सुविधा भएको स्थानमा यात्रुले आकाश मार्ग नै रोजिरहेका छन्। सन् २०२४ को गएको दुई महिनामै २०२३ को सोही अवधिको तुलनामा १२ प्रतिशतले आन्तरिक हवाई यात्रु बढेका छन्।
जहाज थप्ने प्रतिस्पर्धा
२०८० को कात्तिकयता पाँच महिनाकै अविधमा तीनवटा एयरलाइन्स कम्पनीले ५ वटा जहाज थपिसकेका छन्। २०८० को कात्तिक १० गते शुक्रबार बुद्ध एयरले १७ नम्बरको एटीआर काठमाडौं अवतरण गराएको थियो। बुद्धले थपेको जहाजको कलसाइन नाइन एन-एओसी हो। योसँगै बुद्धले १४ वटा एटीआर ७२ जहाज बनाएको छ। साथै बुद्धसँग थप तीन वटा एटीआर ४२ जहाज रहेका छन्।
बुद्ध एयर आन्तरिक उडानमा यात्रु संख्या तथा तत्कालीन समयमा वायुयान धेरै भएको नम्बर एक कम्पनी भएको थियो। बुद्ध एयरको बजार हिस्सा ६० प्रतिशतभन्दा माथि गइसकेको छ। आन्तरिक उडानमा ट्रंक रुटमा मात्रै उडान गरिरहेको बुद्धले दैनिक सरदर ८ हजार भन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक एक सय ५० भन्दा बढी उडान भरिरहेको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ।
यस्तैगरी सञ्चालनमा आएको २५ वर्षपछि ४९ प्रतिशत सेयर स्वामित्वसहित एसियन लाइन इन्सोरेन्सको प्रवेशसँगै यती एयरले पनि दुईवटा जहाज भित्र्याएको छ। यतीले २०८० को माघ १८ गते दुईवटा एटीआर ७२ जहाज भित्र्याएको हो। सबै प्रक्रिया पूरा गरेर जहाज उडानमा ल्यायने तयारी भइरहेको छ।
२०७९ को माघ १ गते पोखरामा जहाज दुर्घटना भएसँगै यती एयर केही असहज परिस्थितिबाट गुज्रिरहेको थियो। यती ग्रुपका अध्यक्ष सोनाम शेर्पाले लगानीकर्ताको रुपमा एसियन लाइफ इन्सोरेन्सलाई भित्र्याउँदै दुईवटा जहाज थपेका हुन्। योसँगै यतिसँग ७ वटा एटीआर ७२ जहाज भएको छ। सन् २०२४ भित्रै थप तीनवटा जहाज ल्याइ १० वटा पुर्याउने लक्ष्य रहेको र यसले गुमेको बजार हिस्सा कायम गर्दै यात्रुहरूलाई उत्कृष्ट सेवा प्रदान गर्न मद्दत पुग्ने यतीको दाबी छ।
यतीले जहाज भित्र्याएको एक महिना नपुग्दै श्री एयरलाइन्सले पनि दुईवटा जहाज थपेको छ। श्रीले ८० सिट क्षमताका दुईवटा 'बम्बार्डियर ड्यास-८-क्यू-४००' २ वटा जहाज थपेको हो।
दुईवटा जहाज थप्दै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा बढी वायुयान भएको कम्पनी श्री बनेको छ। तर यात्रु संख्याको आधारमा श्री तेस्रो कम्पनी हो। श्रीसँग ४ वटा सिआरजे जहाज भएपनि एउटामात्रै फूलपेजमा उडानमा छ। ३ वटा ग्राउन्डेड नै छ।
यसैगरी श्रीसँग ८० सिट क्षमताका ६ वटा 'बम्बार्डियर ड्यास-८-क्यू-४००' जहाज रहेका छन् भने हेलिकोप्टर ८ वटा रहेका छन्। श्रीसँग कुलमा १८ वटा वायुयान रहेको छ।
यसैगरी आन्तरिक उडानमै रहेको सौर्यसँग ३ वटा जेट इन्जिन जहाज छ। तर उडानमा २ वटा मात्रै छ। सौर्य एयरलाइन्सले पनि जहाज थप्ने योजना बनाइरहेको छ। यसैगरी ७ वटा जहाज भएको गुण एयरलाइन्स भने आर्थिक संकटमा परेपछि ग्राउन्डेड छ।
यसैगरी स्टलमा उडान गर्ने सितासँग ४, समिटसँग ४ र तारासँग २ वटा जहाज रहेका छन्।
नेपाल एयरलाइन्ससँग ३ वटा टि्वनअटर जहाज छ। तर २ वटा मात्रै उडानमा छ। एउटा टि्वनअटर २०६९ सालदेखि ग्राउन्डेड छ। भएका पाँच वटा चिनियाँ जहाज पनि बिक्री हुन सकेको छैन। चिनियाँ जहाज २०७७ साउनदेखि उडान भएको छैन।
हेलिकप्टर सेवामा १२ कम्पनी
नेपालमा १२ वटा हेलिकप्टर कम्पनीले सेवा दिइरहेका छन्। दुईवटा हेलिकप्टर नै दुर्घटना परेपछि कम्पनीको उडान बन्द भएको मनाङ एयरले समेत एउटा हेलिकोप्टर भित्र्याइसकेको छ।
एयर डाइनेष्ट्रिकसँग ४ वटा हेलिकप्टर रहेको छ। यसैगरी पछिल्लो समय आक्रमक बजार विस्तार गरिरहेको कैलाश हेलिकप्टरसँग ३ वटा हेलिकप्टर रहेको छ।
हेलिकप्टर सेवामा लामो समयदेखि काम सेवा दिँदै आएको सिम्रिक एयरसँग तीनवटा र हेलिएभरेष्टसँग पनि तीनवटा हेलिकप्टर रहेको छ।
यसैगरी फिस्टेलको दुईवटा, माउन्टेनको दुईवटा, मुस्ताङको दुईवटा, प्रभु हेलिकप्टरको दुईवटा, अन्नपूर्णको एउटा, अल्टिच्युटको दुई र श्रीको दुईवटा हेलिकप्टर उडानका रहेका छन्। हेलिकप्टर क्षेत्रमा मात्रै १२ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ।
सेवामा सहजता
सेवा विस्तार र जहाज संख्या बढ्दै जाँदा हवाई यात्रुले पनि सहज र सस्तो दरमा यात्रा गर्न पाएका छन्। हवाई क्षेत्रमा लगानी विस्तार भए पनि हवाई क्षेत्रको विकासमा आवश्यक मात्रामा पूर्वाधारको विकासले प्राथमिकता पाउन सकेको छैन। नेपालको हवाई इतिहासमा पहिलो पटक सन् १९४९ मा चार सिट क्षमताको बोनान्जा बीचक्राफ्ट ल्यान्ड भएको थियो।
बोनान्जा बिचक्राफ्ट ल्यान्डले नै नेपालको हवाई क्षेत्रको ढाका खोलेको थियो। योसँगै सन् १९५० मा हिमालय एभिएसन डाकोटा चार्टर फ्लाइटले झन नेपालको हवाई क्षेत्रलाई मजबुत बनाउन सहयोग भएको थियो। त्यसलगत्तै राजा मेहन्द्रले गौचरन विमानस्थल (हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) उद्घाटन गरेलगतै सन् १९५८ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमले आन्तरिक र बाह्य उडान सुरु गरेको हो। सन् १९६४ मा त्रिभुवन विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता पाएसँगै नेपालको हवाई उद्योगमा अवसर थपिएको थियो।
यही क्रममा अहिले हामी सन् २०२४ मार्चसम्ममा आइपुग्दा १२ वटा हेलिकप्टर कम्पनी, ९ वटा जहाज कम्पनी र ३० वटा जति अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले नेपालबाट ३३ वटा गन्तव्यमा उडान गरिरहेका छन्। अहिले नेपालमा ५४ वटा विमानस्थल छन्। ३ वटा चाहिँ अन्तर्राष्ट्रिय विमानस्थल छन्। ५१ वटा आन्तरिक विमानस्थल छन्। ५१ वटामा ३० वटा चलेका विमानस्थल छन्। २१ वटा बन्द छन्।
नेपालको हवाई इतिहासका अग्नि, काष्ठमण्डप, कस्मिकलगायत एयरलाइन्स भने बन्द हुन पुगे। पछिल्लो सयमा गुण एयरलाइन्स बन्द भएको छ। सञ्चालनमा आएका हवाई कम्पनी बन्द हुँदा नेपालको हवाई उद्योगमा केही नकारात्मक सन्देश फैलिएको थियो।
हवाई इतिहासमा नेपाली आकाशले एक सयवटा जहाज दुर्घटना भोगिसकेको अवस्था छ। पछिल्लो समय पोखरामा यतीको जहाज दुर्घटनामा मात्रै ७२ जनाले ज्यान गुमाएका थिए। त्यसपछि मनाङको हेलिकप्टर दुर्घटनामा समेत मानवीय क्षती भएको थियो।
सिंगल इन्जिन क्षमताको जहाजबाट सुरु भएको नेपालको हवाई यातायातको क्षेत्रमा अहिले अत्याधुनिक र सुविधासम्पन्न जहाजसमेत आइसकेका छन्। आन्तरिक उडानमा मात्रै अहिले सीआरजे जहाजदेखि एटीआर जहाज आइसकेका छन्।
जहाजको संख्या बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ।
अबको ५ वर्षभित्र देशभरका आन्तरिक विमानस्थलमा सुविधासम्पन्न टर्मिनल भवन हुने छ। तराइका सबै विमानस्थलमाबाट रात्रीकालीन उडान भइसकेको हुने छ। पहाडी विमानस्थलको रनवे पनि एक हजार मिटरको बनाउने गरी प्राधिकरणले काम गरिरहेको छ। हवाई उद्योगमा मात्रै सरकारी र निजी क्षेत्रको गरी साढे दुई खर्ब रुपैयाँभन्दा बढी लगानी विस्तार भइसकेको छ।
आम्दानी बढाउँदै एयरलाइन्स कम्पनी
आन्तरिक उडानमा ६२ प्रतिशत बजार हिस्सा ओगट्न सफल बुद्ध एयरको व्यापार निरन्तर रुपमा बढिरहेको छ। बुद्ध एयरले २०७९/०८० मा मात्रै १२ अर्ब १६ करोड रूपैयाँ आम्दानी गरेको इक्राले गरेको रेटिङ विवरणमा उल्लेख छ।
बुद्ध एयरले पछिल्लो चार आर्थिक वर्षमा ३० अर्ब ५० करोड रूपैयाँ आम्दानी गरेको छ। जसमा बुद्ध एयरले आर्थिक वर्ष २०७६/०७७ मा ४ अर्ब ९४ करोड, ०७७/०७८ मा ३ अर्ब ३३ करोड, ०७८/०७९ मा १० अर्ब ९ करोड र २०७९/०८०मा १२ अर्ब १६ करोड आम्दानी गरेको छ।
बुद्ध एयरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मात्रै ३ अर्ब ८३ करोड आम्दानी गरेको छ। निरन्तर बढिरहेको बुद्ध एयरको आम्दानी आर्थिक वर्ष २०७७/०७८ मा भने कोरानाका कारण कमी आएको थियो।
नेपालको आन्तरिक हवाई सेवामा बुद्ध एयरको एकछत्रजस्तै देखिएको छ। यात्रु संख्या तथा लगानीका आधारमा पनि बुद्ध एयरले पछिल्लो लामो समयदेखि बजारमा प्रभावशाली उपस्थिति देखाउँदै आएको छ।छ।
यसैगरी आन्तरिक उडानमा रहेको श्री एयरलाइन्सको पनि व्यापार बढ्दो छ। १८ वठा वायुयान पुर्याएको श्रीले गत आर्थिक वर्ष २०७९/०८० मा ४ अर्ब १४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो। यो आम्दानी २०७८/०७९ को तुलनामा बढी हो। २०७८/०७९ मा श्रीले ३ अर्ब ४५ करोड आम्दानी गरेको थियो। यसैगरी २०७७/०७८ मा भने १ अर्ब ३८ करोड आम्दानी गरेको थियो। श्रीको व्यापार बढ्दो छ।
यसैगरी यती एयरको व्यापार पनि बढ्दो नै छ। गत आर्थिक वर्ष २०७९/०८० को रिपोर्ट सार्वजनिक नभएपनि यती एयले २०७७/०७८ मा १ अर्ब ३९ करोड आम्दानी गरेको थियो भने २०७८/०७९ को ९ महिनामै २ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको थियो।