काठमाडौं- महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा रहेका विभिन्न शाखाहरु तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको छ।
बैंकले ग्लोबल मनी विक २०२४ का अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो।
सो अवसरमा बैंकले विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्ति विकास गराउने उद्देश्यका साथ सातवटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रम, प्रभातफेरी कार्यक्रम सञ्चालन गर्नुका साथै समाजिक सञ्जालमार्फत विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु प्रसारण गरेको छ।
बैंकले देशका विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमहरुमा विद्यार्थीहरु, स्थानीय युवाहरुका साथै रोजगार व्यक्तिहरु, किसान, लघु, साना तथा मझौला उद्यमीहरु, दैनिक ज्यालादारीहरु, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, महिलाहरु तथा विप्रेषण प्रापकहरुको सहभागिता रहेको थियो।
उक्त कार्यक्रमहरुबाट करिब हजार मानिसहरुलाई बचत, कर्जा, लगानी, सफा नोट, विद्युतीय वित्तीय सेवाहरु, विप्रेषण, गुनासो सुनुवाइ, वित्तीय सेवा प्रदायक संस्था, धितोपत्र बजार, जोखिम व्यवस्थापन, बीमा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको बैंकले जनाएको छ।
त्यस्तै बैंकले ग्लोबल मनी विकमा विभिन्न स्थानमा वित्तीय साक्षरतासम्बन्धी जानकारीसहित प्रभातफेरी कार्यक्रमहरु सञ्चालन गरेको छ। बैंकको लुम्बिनी र मधेस प्रदेशद्वारा सञ्चालित उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ सेवाहरुः जस्तै मोबाइल बैंकिङ, स्मार्ट क्यूआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो। त्यस्तै विभिन्न सचेतनामूलक भिडियो सामाग्रीहरु: विद्युतीय भुक्तानी, वित्तीय ठगी, सर्वजनिक वाइफाइ प्रयोग गर्दा हुनसक्ने जोखिम सम्बन्धित निर्माण गरी सामाजिक सञ्जालमार्फत प्रसारण गरी ग्लोबल मनी विक सफलतापूर्वक सम्पन्न गरिएको बैंकले जनाएको छ।
आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने महालक्ष्मी विकास बैंकले प्रतिबद्धता जनाएको छ।