आइतबार, वैशाख १६ गते २०८१    
images
images
images
images

प्रेरणादायी बनिरहेका छन् वियश, दुग्ध व्यवसायबाट मनग्य आम्दानी

images
बिजनेस न्युज
images
images
प्रेरणादायी बनिरहेका छन् वियश, दुग्ध व्यवसायबाट मनग्य आम्दानी

व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ भन्ने राम्ररी बुझेका राई तालिमहरू खर्च गरेर भए पनि लिन छुटाउँदैनन्।

images
images

सोलुखुम्बु- ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ यो भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-२ का वियश राईले सावित गरिदिएका छन्।

images
images
images

नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरू हातमा राहदानी बोकेर विदेशिने गर्छन्। मासिक ४०/५० हजार रुपैयाँ कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ।

images

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ८० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन्।

images

उनीहरू भन्छन् ‘स्वदेशमा न त कुनै जागिर नै छ न नै। अनि विदेश नहानिएर के गर्नु? यहाँ बसेर कामै छैन्।’ तर जिल्लाको नेचासल्यान गाउँपालिका-२ का वियश राईले भने नेपाल प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै सुरु गरेको दुग्ध व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन्।

images
images

उनले सुरु गरेको उद्यमबाट आफू मात्रै स्वरोजगार भएका छैनन्, गाउँका अन्य थुप्रै युवालाई समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रोजगार सिर्जना गरेका छन्। बिहानदेखि बेलुकासम्म निरन्तर आफनो व्यवसायमा व्यस्त रहने बेफुर्सदिला व्यक्ति हुन् राई।

बिहान सबेरै उठेर दूध संलनका भाँडाकुँडा हातमा बोकेर कहिले आफ्नै गाउँटोल त कहिले छिमेकी गाउँका कृषकहरूको घरदैलोमा पुग्छन् उनी।

राईले डेरी व्यवसाय तथा दुग्धजन्य परिकारहरूको बिक्रीबाट कमाएर नै परिवार पाल्ने, छोराछोरीलाई पढाउने साथै स्थानीय ब्यक्तिहरूलाई समेत रोजगार दिँदै आएका छन्।

विसं २०७९ को स्थानीय निर्वाचनमा प्रहरी नायब निरीक्षक पदबाट राजीनामा दिएर वडाध्यक्षको पदमा नेचासल्यान गाउँपालिका-२ बाट उम्मेद्वारी दर्ता गराएका उनी निर्वाचनमा पराजित भएपछि आफ्नै गाउँमा केही व्यवसाय सञ्चालन गर्ने र अन्य युवालाई समेत प्रेरणा दिने सोच आफूमा पैदा भएको उनी सुनाउँछन्।

राइले भने, ‘गाउँघरमा रोजगारको बाटो छैन भन्ने र मासिक ४०/५० हजार कमाइ गर्नकै लागि खाडी जाने युवाहरूको जमात असाध्यै धेरै देखेँ, म आफू त प्रहरीको छोडेर गाउँ होमिएको व्यक्ति हुँ तर गाउँका युवाको विदेश पलायनले मन छोयो र गाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि मैले यो उद्यम सुरु गरेँ।’

उनले २०७९ मङ्सिरबाट कोठा भाडामा लिइ दूध संकलन गरी दूध र दही बिक्री गर्न थाले। व्यवसायलाई क्रमिक रुपमा विस्तार गर्ने उद्देश्यका अघि बढेका राईले ज्ञान तथा सीपको  आवश्यकता महशुस गरी आफ्नै लगानीमा इलाममा गई दुग्ध तालिम लिए।

उनको लगनशीलता र मेहनत देखेर व्यवसाय विस्तारका लागि गाउँपालिकाले रु दुई लाख आर्थिक सहयोग गरेको भएता पनि पर्याप्त भने थिएन।

यसै क्रममा उनले गाउँपालिकामार्फत जिआइजेड नेपालअन्तर्गत रिप-ग्रिन कार्यक्रमले डेरी तालिम सञ्चालन गर्न लागेको कुरा थाहा पाए र उनी गाउँपालिकाको सिफारिसमा  तालिमका लागि छनोट पनि भए।

उनी २०८० बैशाख ५ गतेदेखि १० गतेसम्म सो कार्यक्रमले इलाममा सञ्चालन गरेको डेरी उत्पादन सीप विकाससम्बन्धी तालिममा सहभागी भए। तालिममा देशभरबाट जम्मा भएका नव उद्यमी, सिकेका ज्ञान, सीपले उनलाई थप व्यावसायिक बन्ने ऊर्जा मिल्यो।

तालिमपश्चात परिश्रम नै सबैभन्दा ठूलो हो र यसले नै मानिसलाई स्वावलम्बी बनाउँछ भन्ने पूर्ण विश्वासको साथ थप सशक्त भइ उनले यसलाई नै मुख्य पेशाको रूपमा अँगाल्न सुरु गरे।

उनले व्यवसाय समेत दर्ता गरी दूधबाट बन्ने दही, पनीर, घीउ, खुवा र आइसक्रिमजस्ता परिकारहरू नेचासल्यान गाउँपालिका साथै सदरमुकाम सल्लेरीबजारमा समेत बिक्री गर्न थाले।

तालिमपश्चात् उनको आत्मविश्वास पनि बढ्यो, दूधका परिकारहरू उत्पादन गरी व्यवसायलाई बिस्तार पनि गरे ।  व्यवसाय सञ्चालनका लागि अहिले छ जनालाई रोजगार पनि दिरहेका छन्। उनको व्यवसायलाई चाहिने दूध बिक्रीबाट गाउँका करिव ६० घर कृषकहरू अप्रत्यक्षरुपमा लाभान्वित बनेका छन्।

व्यवसायबाट मासिक चार लाख रुपैयाँभन्दा बढी कारोवार भइरहेको अनुमान उनको छ। यही आम्दानीबाट छोराछोरीको पढाइ, औषधोपचार खर्च गरेर बचेको पैसाले भाडामा लिएको जग्गामा घर निर्माण गरी भैँसीपालन व्यवसाय विस्तार गरेका छन्।

व्यवसायलाई अझ दिगो र विस्तारितरुपमा सञ्चालन गर्न आफ्नै लगानीमा कृषि तथा भैँसीफार्म सुरु गरेको उनको भनाइ छ। चार माउभैँसीबाट सुरु गरिएको फार्ममा २० माउभैँसी बनाउने योजनाका साथ आफू अघि बढेको राईले बताए।

गाउँघर र छिमेकीहरूलाई समेत पशुपालन र दूध उत्पादनमा उनले प्रोत्साहन गर्दै आएका छन्। सदरमुकाम सल्लेरीमा मात्रै दैनिक सात सय लिटरभन्दा बढीको दूध खपत हुन्छ भने नेचासल्यानमा दैनिक १०० लिटरसम्म दूध खपत हुने गरेको उद्यमी राईको भनाइ छ।

जिल्लामा व्यावसायिक पशुपालन र दूध उत्पादन फस्टाउन नसक्दा डेरी व्यवसाय सञ्चालनमा चुनौती थपिएको उनले बताए। ‘जिल्लाका किसानहरूले परम्परागत ढङ्गबाट बस्तुभाउ पाल्दै आएका छन्, व्यावसायिक दूध उत्पादनको अवधारणा अझै विकास हुन सकेका छैन, युवाहरू जति सबै खाडीमा छन्, यहाँ गाईभैँसी पाल्ने जनशक्ति पर्याप्त छैन’ राईले भने।

जिल्ला सदरमुकामदेखि गाउँघरसम्ममा दूध मात्र नभइ दुग्धजन्य परिकारको माग र खपत उच्च रहेको छ। दूध, दही, मही, पनिर, खुवा, दूधबाट बन्ने मिठाइहरू धेरै माग रहेको उनले बताए। उत्पादित वस्तुहरूलाई सहज बिक्री वितरणका लागि काठमाडौँका बजारहरू तथा अन्तरराष्ट्रिय बजारहरूसँग समेत समन्वय गरिरहेको राई बताउँछन्।

व्यवसायप्रतिको जिम्मेवारी तथा दिगो व्यवसायका लागि व्यक्तिमा ज्ञान तथा सीपको आवश्यकता हुन्छ भन्ने राम्ररी बुझेका राई यस्ता तालिमहरू खर्च गरेर भए पनि लिन छुटाउँदैनन्। रिपग्रीन कार्यक्रमद्वारा सञ्चालित तालिमपछि उनले विभिन्न वस्तुहरू उत्पादन गरी थप आम्दानी बढाउन सफल भएका हुन्।

सीप र काम गर्ने जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ, घर व्यवहार सम्हालन सक्ने र आफ्नो आवश्यकता टार्न कसैसँग हात फिँजाएर माग्न नपर्ने उनको तर्क छ। रासस

images

प्रकाशित : आइतबार, चैत ११ २०८००१:३७
प्रतिक्रिया दिनुहोस