शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सीजी मोटर्सले दुई प्रिमियम विद्युतीय ब्रान्ड एक्सपाङ र लोटस मोटर नेपाल ल्याउँदै

images
शुक्रबार, चैत ९ २०८०
images
सीजी मोटर्सले दुई प्रिमियम विद्युतीय ब्रान्ड एक्सपाङ र लोटस मोटर नेपाल ल्याउँदै

न्यू इनर्जी सवारी आयात गर्ने निष्कर्षमा पुगेपछि चौधरी समूहले धेरै रेन्ज दिने, उपयुक्त मूल्यको तथा प्रिमियम ब्रान्डका विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउने चाहना पूरा गर्न विभिन्न चिनियाँ कम्पनी रोजेर विभिन्न सम्झौता पनि गरिसकेको छ।

images
images

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी मोटर्स नयाँ-नयाँ सवारी ब्रान्ड भित्र्याउन आक्रामक छ। दुई वर्षअघि चिनियाँ विद्युतीय सवारी कम्पनी होजोन मोटरको निटा ब्रान्ड ल्याएर अटोमोबाइल व्यवसायमा पुनरागमन गरेको चौधरी समूहले त्यसयता आधादर्जन ब्रान्ड ल्याइसकेको र कतिपय ल्याउने क्रममा रहेको छ। 

images
images
images

पछिल्लो पटक सीजी मोटर्सले दुई प्रिमियम ब्रान्डका विद्युतीय सवारी नेपाल ल्याउन सम्झौता गरेको छ। कम्पनीले चिनियाँ सवारी उत्पादक समूह झेजियाङ जिली होल्डिङ ग्रुपको स्वामित्वमा रहेका एक्सपाङ र लोटस कार ल्याउने भएको हो। 

images
images

त्यस्तै सीजी मोटर्सले यसअघि नै सोही समूहको स्वामित्वमा रहेको स्मार्ट ब्रान्डको विद्युतीय कारसमेत ल्याउन सम्झौता गरिसकेको छ। बदलिँदो समय र आवश्यकताको मध्यनजर गर्दै विद्युतीय सवारीमात्र ल्याउने नीति सीजी मोटर्सले लिएको छ। 

images
images

सोहीअनुसार सीजी मोटर्सले होजोन अटोको निटा ब्रान्डपछि विद्युतीय कमर्सियल भ्यान ब्रान्डहरू केवाईसी र किङलङ ल्याइसकेको छ।

त्यस्तैगरी अघिल्लो महिना सीजी मोटर्सले अर्को चिनियाँ सवारी उत्पादक कम्पनी जीएसीको आयोन ब्रान्डको वाई मोडल नेपाली बजारमा ल्याएको हो। 

सीजी मोटर्सले थापाथलीमा प्रिमियम शोरुम बनाउने तयारी गरिरहेको छ। राजीव बिक्रम शाहको थापाथली चोकमा बनिरहेको भवनमा सीजी मोटर्सले आफूले नेपाल भित्र्याएका प्रिमियम ब्रान्डहरूको ‘मल्टी ब्रान्ड’ शोरुमको रुपमा विकास गर्न खोजेको छ। 

अर्बपति व्यवसायी विनोद चौधरीसँगै उनका छोरा निर्वाण अटोमोबाइलमा निकै रुची राख्छन्। त्यसैले पनि निर्वाण चौधरी धेरै अघिदेखि अटोमोबाइल व्यवसायमा आउन चाहन्थे। अहिले विद्युतीय सवारीको माग बढ्दै गएकाले चौधरी समूह विद्युतीय सवारी लिएर अटोमोबाइल व्यवसायमा आएको हो। नेपालका अधिकांश व्यवसायिक घराना अटोमोबाइल व्यवसायमा संलग्न रहेका छन्।

न्यू इनर्जी सवारी आयात गर्ने निष्कर्षमा पुगेपछि चौधरी समूहले धेरै रेन्ज दिने, उपयुक्त मूल्यको तथा प्रिमियम ब्रान्डका विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउने चाहना पूरा गर्न विभिन्न चिनियाँ कम्पनी रोजेर विभिन्न सम्झौता पनि गरिसकेको छ। 

विद्युतीय सवारीमा समकालीन विश्वको सबैभन्दा शक्तिशाली उत्पादकहरू चीनमै छन्। अमेरिकी विद्युतीय कार उत्पादक टेस्लासमेत अमेरिकापछि बाह्य विश्वमा आफ्नो पहिलो प्लान्ट लिएर चीन नै पुग्यो। विश्वका विभिन्न देशका ब्रान्डहरू पनि चिनियाँ कम्पनीको स्वामित्वमा पुगेका छन्। सीजी मोटर्सले ल्याउन लागेका स्मार्ट ब्रान्ड मर्सिडिजसँगको संयुक्त उपक्रममा बनेको हो भने लोटस कार बेलायती ब्रान्ड हो र यसको स्वामित्व जिलीसँग रहेको छ।  

सीजी मोटर्सले लोटस कार र एक्सपाङको शोरुम थापाथलीमै राख्ने तयारी गरेको छ। त्यसका लागि कम्पनीले तयारीको काम गरिरहेको छ भने कार आइपुग्न भने केही समय लाग्ने छ। स्रोतका अनुसार लोटस कारभन्दा पहिलो एक्सपाङका विद्युतीय कार पहिला नेपाल आइपुग्ने छ। एक्सपाङको कुन मोडल पहिला नेपाल आउने भन्नेबारे खुलाइएको छैन। एक्सपाङ र लोटसका कार प्रिमियम भएकाले एक करोडभन्दा बढी नै मूल्यमा उपलब्ध हुनेछ। 

चौधरी समूहको सीजी मोटर्सले कार तथा कमर्सियल भ्यानमात्र होइन दुईपांग्रे सवारी पनि बिक्री सुरु गर्दैछ। कम्पनीले विश्वको सबैभन्दा ठूलो (बिक्री संख्याका आधारमा) दुईपांग्रे उत्पादक हिरो मोटोकर्पका मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने तयारी गर्दैछ। 

हिरो मोटोकर्प इन्डियाले यही २०२४ को मार्चदेखि लागु हुनेगरि सीजी मोटर्सलाई नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त गरेको हो। सोहीअनुसार कम्पनीले नवलपरासीमा हिरोको एसेम्बल प्लन्ट तयार गरेर एसेम्ब्लीको अन्तिम तयारीका लागि किट आयात गरिरहेको छ। सीजी मोटर्सले आउँदो अप्रिलभित्रै हिरोका उत्पादन सार्वजनिक गर्ने तयारी गरिरहेको छ। 

एक्सपाङ ब्रान्ड

XPeng-Logo.jpg

एक्सपाङ २०१४ मा स्थापना भएको विद्युतीय प्रिमियम कार निर्माता कम्पनी हो। एक्सपाङ मोटर्स अर्थात ग्वाङझाउ सियाओपाङ मोटर्स टेक्नोलोजी कम्पनी लिमिटेडको हेडक्वाटर गोङडोङको ग्वाङझाउमा रहेको छ। त्यस्तैगरी एक्सपाङको कार्यालय अमेरिकाको क्यालिफोर्निया र जर्मनीको म्युनिखमा पनि छ। 

एक्सपाङ अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्ज र हङकङ स्टक एक्सचेन्जमा सूचीकृत रहेको छ। एक्सपाङ ब्रान्डको विद्युतीय कार २०२४ को मध्यतिर सिंगापुरमा समेत सार्वजनिक गर्ने तयारी गरेको छ। 

एक्सपाङले २०१८ को नोभेम्बरमा पहिलो कार एक्सपाङ जीथ्री एसयूभी उत्पादन गरेको थियो भने यो कार पहिलो २०१८ मा लस भेगासमा भएको कन्जुमर इलेक्ट्रिोनिक शोमा सार्वजनिक भएको थियो। दोस्रो मोडल पीसेभेन भने अटो साङघाई २०१९ मा सार्वजनिक भएको थियो भने २०२० जुनबाट उपभोक्ताई बिक्री सुरु भएको थियो। 

२०१९ मा एक्सपाङमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमी रणनीतिक साझेदारको रुपमा भित्रिएको थियो। विभिन्न चरणमा गरेर एक्सपाङले २ अर्ब डलरभन्दा बढी फन्ड रेज गरिसकेको छ। यसमा १ अर्ब ५० करोड डलरको आईपीओ पनि रहेको छ। २०२३ मा जर्मनीको फक्सवागन समूहले एक्सपाङमा ७० करोड डलर लगानी गरेर ४.९९ प्रतिशत सेयर समेत खरिद गरेको थियो। 

हाल एक्सपाङका दुई एसयूभी, दुई सेडान र एउटा एमपीभी विद्युतीय कार उत्पादन भइरहेको छन्। 

लोटस कार ब्रान्ड

Logo-Lotus.png

लोटस कार बेलायती कार उत्पादक कम्पनी हो। यो कम्पनी १९४८ मा स्थापना भएको र यसको प्रधान कार्यालय बेलायतमा रहेको छ। लोटस कारमा चिनियाँ सवारी उत्पादक जिलीको ५१ प्रतिशत सेयर रहेको छ। 

एक्सपाङ र लोटस कार चीनको झेजियाङ जिली होल्डिङ ग्रुपको स्वामित्वमा रहेको छ। लोटसको सुपरकार र एयूभी उपलब्ध रहेको छ। कम्पनीले विद्युतीय मोडलसमेत उत्पादन गरिरहेको छ।

सीजी मोटर्सले लोटसको विद्युतीय कार नै नेपाल ल्याउने तयारी गरेको छ। कुन मोडल पहिला आउने र त्यसको मूल्य तथा अन्य विशेषताबारे भने कम्पनीले खुलाएको छैन। 


प्रकाशित : शुक्रबार, चैत ९ २०८०१६:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend