काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि फागुन मसान्तसम्ममा उद्योग विभागमा २ सय ५८ उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमार्फत १ खर्ब ५५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।
चालु आवको ८ महिनामा दर्ता उद्योगको संख्या गत आवको भन्दा बढी हो। गत आवको सोही अविधा १ सय ८३ वटा उद्योग दर्ता भएका थिए।
दर्ता उद्योगको संख्या उल्लेख्य मात्रामा बढे पनि लगानी प्रतिबद्धता रकम भने गत आवको सोही अवधिको तुलनामा खासै फरक छैन। गत आवको ८ महिनमा १ अर्ब ५५ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो।
८ महिनाको अवधिमा ठूला उद्योग ३२ वटा, मझौला उद्योग २२ वटा र साना उद्योग २ सय ४ वटा दर्ता भएका छन्। विभागका अनुसार विदेशी लगानी स्वीकृत संख्या भने २ सय ५३ वटा रहेको छ। ८ महिनामा २९ अर्ब १३ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ।
दर्ता उद्योगमा १८ हजार १ सय ५३ जनाका लागि रोजगारीको प्रस्ताव गरेको छ। ८ महिनामा २२ वटा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत भएको विभागले जनाएको छ।