काठमाडौं- पोखराको सूर्यदर्शन सहकारीका पीडितहरूले आफूहरूको बचत फिर्ताको वातावरण बनाइदिन आग्रह गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन्।
सूर्यदर्शन बचतपीडित संघर्ष समितिका तर्फबाट अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बिहीबार पत्र बुझाएका हुन्।
रकम फिर्ता नपाएपछि कानूनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई पक्राउ नपरेको उल्लेख गर्दै उनीहरूले राईलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गरेका छन्।
सहकारीको पैसा गोर्खा मिडिया कम्पनीअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० करोड रुपैयाँ लगानी गरिएको देखिएको बताउँदै उनीहरूले भनेका छन्, 'यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिएर जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको छन्।'
१९ जना विरुद्ध किटानी जाहेरी दिइए पनि हालसम्म १४ जना पक्राउ नपरेको उनीहरूले बताएका छन्। गएको माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधान एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी दिइएको थियो तर उनीमाथि छानबिन नगरिएको उनीहरूले बताएका छन्।
सूर्यदर्शन सहकारीले १८ हजार ७ सय बचतकर्ताको लगभग १ अर्ब ४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने संघर्ष समितिले जनाएको छ। विगत दुई वर्षयता कसैले पनि बचत फिर्ता पाउन नसकेको उनीहरूले बताएका छन्।