शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

२१ खर्बको बजेट ल्याउने तयारी भएको भन्दै पूर्वअर्थमन्त्री महत असन्तुष्ट, ठूलो बजेटले संकट ल्याउने चेतावनी

बुधबार, चैत ७ २०८०
२१ खर्बको बजेट ल्याउने तयारी भएको भन्दै पूर्वअर्थमन्त्री महत असन्तुष्ट, ठूलो बजेटले संकट ल्याउने चेतावनी

काल्पनिक आम्दानीको स्रोत देखाउने र कार्यकर्ता रिझाउने गरी वितरणमुखी बजेट नल्याउन प्रकाशशरण महतले अर्थमन्त्रीलाई सुझाव दिएका छन्।

काठमाडौं- सरकारले २१ खर्बको बजेट ल्याउने तयारी गरेको भन्दै पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले असन्तुष्टि व्यक्त गरेका छन्। वर्तमान समयमा ठूलो आकारको बजेट ल्याउँदा अर्थतन्त्रमा संकट आउनसक्ने चेतावनी डा.महतले दिएका छन्।

बुधबार प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा भएको छलफलमा उनले काल्पनिक आम्दानीको स्रोत देखाउने र कार्यकर्ता रिझाउने गरी वितरणमुखी बजेट नल्याउन अर्थमन्त्री वर्षामान पुनलाई आग्रह गरेका छन्। अर्थमन्त्री पुनप्रति कटाक्ष गर्दै वास्तविकतामा आधारित भएर ३० खर्बकै बजेट ल्याउन उनले सुझाव दिएका छन्।

ठूलो आकारको बजेट ल्याउँदा अल्पकालमा खुसी दिएपनि राज्यलाई दीर्घकालीन दायित्व सृजना गर्ने उनले बताए। जसले गर्दा बजेट कार्यान्वयन गर्ने समयमा बजेटमार्फत घोषणा पूरा गर्न अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ने स्थिति आउने उनले बताए।

'मैले सुनिरहेको छु २० खर्बको बजेट बनाउन सरकार लागेको छ। बजेट प्रस्ताव गर्ने काल्पनिक आम्दानीको स्रोत देखाउने, सबै ठाउँमा बजेट राखेको छु भनेर घोषणा गर्ने र कार्यकर्ताले चाहेका मागलाई वितरण गरेर पूर्ति गर्दा सबै एकक्षण खुसी भएको जस्तो देखिएला तर यसले गर्ने दीर्घकालीन दायित्व सिर्जना गर्छ र घोषणा पूर्ति हुँदैन', उनले भने, 'त्यसपछि अर्थमन्त्रीले टाउकोमा हात राख्नुपर्ला।'

आगामी आर्थिक वर्ष ऋणको साँवा ब्याज भुक्तानीको दायित्व मात्रै ३ खर्ब ३१ अर्ब पुग्ने बताए। यस्तै स्थानीय निकायमा मात्रै करिब ४ खर्ब ३५ अर्ब रूपैयाँको दायित्व सृजना हुने उनले बताए। 

सामाजिक सुरक्षालाई प्राथमिकीकरण गर्न नसकिएकाले पनि दायित्व थप बढ्दै जाने उनले बताए। यस्तै परियोजनाको वर्गीकरण गरेर खर्च गर्नुपर्नेमा उनले जोड दिए। यस्तो गर्न नसके स्रोतमा दबाब पर्ने निश्चित रहेको दाबी उनले गरे। 


प्रकाशित : बुधबार, चैत ७ २०८०१७:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend