शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अर्थतन्त्रले गति नलिँदा सेयर लगानीकर्ता निराश, पर्याप्त तरलता र ब्याजदर घट्दा पनि थपिएन उत्साह

मंगलबार, चैत ६ २०८०
अर्थतन्त्रले गति नलिँदा सेयर लगानीकर्ता निराश, पर्याप्त तरलता र ब्याजदर घट्दा पनि थपिएन उत्साह

२ सय ४३ कम्पनीको सेयर कारोबार भएकोमा १ सय ४ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ३ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- सामान्यतया बैंकिङ प्रणालीमा अधिक तरलता र न्यून ब्याजदर भएको समयमा नेपाली सेयर बजारमा उछाल देखिने गरेको छ। नेपालमा बैंकिङ प्रणाली पनि संकटको बेलामा मात्रै सहज हुने गरेको छ।

तर पछिल्लो समय अर्थतन्त्रमा कुनै पनि संकट छैन। गत वर्ष सरकार तथा राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति जोगाउन लगाएको अधिकांश प्रतिबन्धहरु हटिसकेका छन्। राष्ट्र बैंकले सेयर बजारमा लगाएको क्याप र दायरा पनि फराकिलो बनाएको छ। साना मार्जिन ल्याण्डिङ करिब ६० लाखसम्मको जोखिमभार पनि राष्ट्र बैंकले १०० प्रतिशतमा कायम गरिदिएको छ।

यस्तै ठूला लगानीकर्ताका लागि सेयर कर्जाको सीमा अधिकतम १५ करोड र संस्थागत लगानीकर्ताका लागि २० करोड सीमा कायम गरिएको छ। राष्ट्र बैंकले सेयर कर्जाको जोखिमभार १५० बाट घटाएर १२५ प्रतिशतमा कायम गरिसकेको छ।

कात्तिकयता बैंक वित्तीय संस्थाहरुको निक्षेप तथा कर्जाको ब्याजदर निरन्तररुपमा घटिरहेको छ। कर्जाको ब्याजदर करिब एकल अंक नजिक आइपुगेको छ। बैंकिङ प्रणालीमा करिब ६ खर्ब ३६ अर्बको हाराहारीमा लगानीयोग्य रकम रहेको छ।

कर्जा लगानी नभएकै कारण राष्ट्र बैंकले दैनिक स्थायी निक्षेप संकलन सुविधा र रिपोमार्फत प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ। कोभिड १९ पछि पछिल्लो समय नेपालको बैंकिङ प्रणाली सबैभन्दा सहज अवस्थामा भएपनि नेपाली सेयर बजार भने बढ्न सकेको छैन।

उतारचढावपूर्ण बजारमा यो साताको पहिलो कारोबार निराशाजनक भए पनि सोमबार बजारमा हरियाली छाएको थियो। तर मंगलबार बजार पुन: ओरालो लागेको छ।

मंगलबार नेप्से ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा पुगेको छ। २ सय ४३ कम्पनीको सेयर कारोबार भएकोमा १ सय ४ कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ३ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएको छ। आज १ सय २८ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन।

बुक विल्डिङ प्रक्रियामार्फत आजबाट सेयर कारोबार गरेको सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट ब्रेक लागेको छ। यस्तै बुद्धभूमि नेपाल र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ।

२५ करोड ९७ लाख रूपैयाँ कारोबार गर्दै शिवम सिमेन्ट सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बनेको छ।

यसअघि २०७२ सालमा गएको भूकम्प र कोभिड १९ पछिको बन्दाबन्दीमा नेपालको सेयर बजारमा अधिकतम बिन्दु(बुल) मा पुगेको थियो। तर, भूकम्प र कोभिड पछाडिकै जस्तै अवस्थामा नेपालको बैंकिङ प्रणाली भएपनि सेयर लगानीकर्तामा भने उत्साह देखिएको छैन।

पछिल्लो समय छिटोछिटो भइरहेको राजनीतिक फेरबदल र वास्तविक अर्थतन्त्रमा सुधारको संकेत नदिँदा लगानीकर्तामा निराशा कायमै छ। गठबन्धनको फेरबदलसँगै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री हुने चर्चाले सेयर बजारमा एकैदिन १ सय १७ अंकको वृद्धि भएको थियो। तर वर्षामान पुन अर्थमन्त्री हुने भएपछि सेयर बजार करिब ८० अंकले घटेको थियो।

अर्थमन्त्रीका रुपमा आएर पुनले पुँजीबजार सुधारका लागि सुझाव मागेर बजारलाई चलायमान बनाउने प्रयास गरेपनि लगानीकर्तामा आत्माविश्वास तथा उत्साह देखिएको छैन।

पछिल्लो समय लगानीकर्ताहरुले बैंक वित्तीय संस्थाहरुलाई समेत १० प्रतिशत सेयर करोबार गर्न अनुमति दिएर बजार चलायमान बनाउनुपर्ने माग अर्थमन्त्रीसमक्ष राखेपनि राष्ट्र बैंक यसप्रति सकारात्मक हुने सम्भावना न्यून छ।


प्रकाशित : मंगलबार, चैत ६ २०८०१५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend