फिक्कल- इलामको रोङ गाउँपालिका-३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा एक करोड चार लाख ५९ हजार एक सय ६४ रूपैयाँ भेटी संकलन भएको छ। चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी संकलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए।
समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ रूपैयाँ बराबरको जिन्सी संकलन भएको समितिका अध्यक्ष राईले जानकारी दिए।
जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु संकलन हुने गरेको छ। समितिका अनुसार साउनमा चार लाख ४२ हजार पाँच सय ८८ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौसय रूपैयाँ बराबरको जिन्सी तथा कात्तिकमा २१ लाख १० हजार चार सय ७५ नगद र ५९ हजार नौ सय रूपैयाँ बराबरको जिन्सी संकलन भएको छ।
त्यसैगरी, मङ्सिरमा १८ लाख ३२ हजार पाँच सय ५७ नगद र ६८ हजार आठ सय रूपैयाँ बराबरको जिन्सी, पुसमा १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय रूपैयाँ बराबरको जिन्सी, माघमा १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय रूपैयाँ बराबरको जिन्सी तथा फागुनमा १४ लाख ५५ हजार दुई सय ४३ नगद र एक लाख २१ हजार नौ सय आठ रूपैयाँ बराबरको जिन्सी संकलन भएको छ।
पाथीभरा मन्दिरमा संकलन भएको रकम त्यही ठाउँको विकासमा खर्च भइरहेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए। 'भक्तजनको सहयोग सही ढंगले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैँ दृढ छ,' अध्यक्ष स्याङ्बोले भने, 'हामी सधैँ पारदर्शीता र सुशासनको पक्षमा छौँ, मन्दिरबाट संकलन भएको रकम मन्दिरकै विकासमा खर्च गर्छौँ।'
पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रुपमा आम्दानी सार्वजनिक गर्न थालेको छ। गाउँपालिकाले ऐन बनाएर मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो। गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो।
गत वर्ष फागुनदेखि असारसम्म ९२ लाख ९५ हजार तीन सय ६२ रूपैयाँ भेटी संकलन भएको थियो। सो अवधिमा ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० रूपैयाँ बराबरको जिन्सी संकलन भएको थियो। रासस