बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, रेलमार्ग र चक्रपथसहित विभिन्न आयोजनालाई तीव्रता दिन जोड

images
मंगलबार, चैत ६ २०८०
images
images
अर्थमन्त्री र चिनियाँ राजदूतबीच भेट, रेलमार्ग र चक्रपथसहित विभिन्न आयोजनालाई तीव्रता दिन जोड

'रेल मार्ग नेपालीको सपना हो’, मन्त्री पुनले भने, ‘यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौँ। छिटो काम अघि बढोस् भन्ने चाहन्छौँ।’

images
images

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सोङले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग सोमबार शिष्टाचार भेट गरेका छन्। 

images
images
images

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत छनले दोश्रोपटक अर्थमन्त्रीको जिम्मेवारी सम्हालेकामा मन्त्री पुनलाई बधाई दिँदै कार्यकाल सफलताको कामना गरे। भेटमा मन्त्री पुनले चिनियाँ सहयोग तथा लगानीमा निर्माणाधीन विकास आयोजनाका कामलाई तीव्रता दिन आग्रह गर्दै प्रक्रियामा रहेका आयोजना अघि बढ्ने विश्वास व्यक्त गरे।

images

चीनले पछिल्लो दशकमा गरेको आर्थिक विकास र गरिबी निवारणको काम विश्वकै लागि उदाहरणीय हुन सक्ने बताएको चर्चा गर्दै चीनको अनुभव नेपालका लागि पनि सान्दर्भिक हुन सक्ने बताए। चीनले नेपालको भौतिक विकाससहित विभिन्न क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएकामा धन्यवाद दिँदै पुनले नेपालको अर्थतन्त्रमा केही शिथिलता देखिएको र जनताको विकासको आकांक्षा उच्च भएकाले नियमितभन्दा थप सहयोगको अपेक्षा राखिएको उल्लेख गरे।

images
images
images

चिनियाँ लगानीमा चक्रपथको दोस्रो खण्डको काम छिट्टै अघि बढ्ने विश्वास व्यक्त गरे। यस्तै उनले जिलोङ-केरुङ-रसुवागढी-चिलिमे २ सय २० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणको काम पनि तत्काल अघि बढाउनुपर्ने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत असोजमा भएको चीन भ्रमणका क्रममा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा त्यसबारे द्विपक्षीय सहमति भएको थियो। मन्त्री पुनले क्रस हिमालय रेलवे परियोजनालाई नेपालले उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै चिनियाँ पक्षबाट भइरहेको सम्भाव्यता अध्ययनको प्रगतिबारे चासो व्यक्त गरे।

नेपाल र चीनबीच रेल मार्गसम्बन्धी परियोजनामा यसअघि नै सैद्धान्तिक सहमति भइसकेको छ। केरुङ-काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम जारी छ। 'रेल मार्ग नेपालीको सपना हो’, मन्त्री पुनले भने, ‘यो आयोजनालाई हामीले प्राथमिकतामा राखेका छौँ। छिटो काम अघि बढोस् भन्ने चाहन्छौँ।’

मन्त्री पुनले तातोपानी र रसुवागढी नाका नियमित सञ्चालनमा आएकामा चिनियाँ पक्षलाई धन्यवाद दिँदै यस्तै उनले जनस्तरबाट अरु परम्परागत नाकाहरु समयसमयमा बन्द हुने गरेका गुनासो आउने गरेको भन्दै नाका बन्द हुने अवस्थाको अन्त्य होस् भन्ने चाहेको स्पष्ट गरे। टोखा-छहरे सुरुङ मार्ग निर्माणको कामलाई पनि नेपालले प्राथमिकतामा राखेकाले सम्भाव्यता अध्ययनको काम छिटो सकाउन आग्रह गरे।

भेटमा अर्थमन्त्री मन्त्री पुनले आगामी बैशाखमा हुने लगानी सम्मेलनका लागि निमन्त्रणा गरिसकिएको जानकारी दिँदै बढीभन्दा बढी लगानीकर्ता आउन प्रेरित गरिदिन राजदूत छनलाई आग्रह गरे।

यस्तै मन्त्री पुनले भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न आग्रह गरे। जवाफमा राजदूत छनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति कार्यान्वयनमा जोड दिए। उनले नेपाल र चीनबीच लामो मित्रता र सहकार्य रहेको भन्दै आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास व्यक्त गरे।

राजदूत छनले नेपालको लगानी सम्मेलन सफलताको शुभकामना दिँदै चिनियाँ व्यवसायीको लगानी सम्मेलनमा उत्साहजनक सहभागिता रहने प्रतिबद्धता जनाए। चीनले नेपालको आर्थिक र सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले कृषि, उद्योग र प्रविधिको क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताए।

‘चीन-नेपाल सम्बन्ध उचाइमा पुर्‍याउन तथा नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौँ’, राजदूत छनले भने, ‘दुई देशबीच आगामी दिनमा आपसी समन्वय र सहकार्य थप प्रगाढ हुने विश्वास दिलाउन चाहन्छौँ।’

यस्तै उनले पोखरा र भैरहवा विमानस्थलमा चिनियाँ कम्पनीका जहाजले उडान गर्नेबारे छलफल चलिरहेको जानकारी मन्त्री पुनलाई दिए। त्यसका लागि हवाई रुटका साथै पोखरा-काठमाडौं र भैरहवा-काठमाडौं उडानको समेत अनुमति चाहिने उल्लेख गरे।


प्रकाशित : मंगलबार, चैत ६ २०८०१४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend