काठमाडौं- चालु आर्थिक वर्षको ८ महिना बितिसक्दा पनि आयात गत आर्थिक वर्षको तुलनामा ऋणात्मक देखिएको छ। अर्थतन्त्रमा आत्मविश्वास बढ्न नसक्दा अन्तर्राष्ट्रिय व्यापारका सूचकहरू संकुचित भएको छ।
नेपालको अर्थतन्त्र बढी आयातमा निर्भर रहेको छ। भारत चीनलगायतका मुलुकहरूमा नेपाल बढी निर्भर छ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुल आयात २.६६ प्रतिशतले ऋणात्मक रहेको छ। यस अवधिमा १० खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ। गत वर्षको सोही अवधिमा १० खर्ब ५८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।
वस्तु आयातसँगै निर्यात पनि करिब ४ प्रतिशतले घटेको छ। गत वर्षको यसै अवधिमा करिब १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा एक खर्ब रुपैयाँको वस्तु निर्यात भएको छ।
यस अवधिमा नेपालको कुल वस्तु ब्यापारघाटा ९ खर्ब २९ अर्ब रहेको छ। गत वर्षको यसै अवधिमा वस्तु ब्यापारघाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो। यस अवधिमा वस्तु ब्यापारघाटा २.५२ प्रतिशतले घटेको छ।
यस अवधिमा कुल अन्तर्राष्ट्रिय वस्तु ब्यापार ११ खर्ब ३० अर्ब रुपैयाँ बराबरको भएको छ। गत वर्षको सोही अवधिमा ११ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको वस्तु ब्यापार भएको थियो।
गत वर्षको तुलनामा आयात घटेकाले आर्थिक गतिविधि संकुचित भएको छ भने विदेशी मुद्रा सञ्चिति बढेको छ। आयातमा आएको गिरावट र रेमिट्यान्स बढेकाले नेपालसँग करिब १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त सञ्चिति रहेको छ।
देशभित्र विकास निर्माणका काम सुस्त भएकाले पुँजीगत सामाग्रीको आयात घट्दा समग्र वस्तु आयात घटेको छ। निर्माण समाग्रीको आयात घट्दा यसले समग्र अर्थतन्त्रको माग घटाएको छ।
मागमा आएको कमीले सरकारी राजस्व र अर्थतन्त्र गतिविधि संकुचित भएको छ। सरकारले विकास निर्माणको काममा तीब्रता दिन नसकेकाले विकासको निर्माणको काम प्रभावित भइ आर्थिक गतिविधिमा शिथिलता आएको हो।
अर्थतन्त्रमा आएको शिथिलताले गर्दा बैंकिङ प्रणालीमा करिब ६ खर्ब ३६ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम थुप्रिएको छ भने ब्याजदर निरन्तररुपमा घटिरहेको छ।