शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बैंकिङ प्रणालीमा ६ खर्ब ३६ अर्ब अधिक लगानीयोग्य रकम, कर्जा निक्षेप अनुपात ७९.७१ प्रतिशतमा झर्‍यो

मंगलबार, चैत ६ २०८०
बैंकिङ प्रणालीमा ६ खर्ब ३६ अर्ब अधिक लगानीयोग्य रकम, कर्जा निक्षेप अनुपात ७९.७१ प्रतिशतमा झर्‍यो

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरेको छ।

काठमाडौं- बैंकिङ प्रणालीमा लगानीयोग्य रकम निरन्तररुपमा बढ्दै गइरहेको छ। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा करिब ६ खर्ब ३६ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम बैंकिङ प्रणालीमा थुप्रिएको छ।

राष्ट्र बैंकको तीन दिनअगाडिको तथ्यांकअनुसार बैंकहरूको औषत कर्जा निक्षेप अनुपात (सीडी) ७९.७१ प्रतिशत कायम भएको छ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत बैंक वित्तीय संस्थाहरूको कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरेको छ। 

यस आधारमा हेर्दा बैंक वित्तीय संस्थाहरूसँग कर्जा प्रवाहका लागि पर्याप्त लगानीयोग्य रकम रहेको छ। 

बैंक वित्तीय संस्थाहरूको पुँजीकोष र अर्थतन्त्रमा छाएको शिथिलताका कारण कर्जा प्रवाह बढ्न सकेको छैन। अर्थतन्त्रमा छाएको शिथिलताका कारण घरजग्गा तथा सेयर बजारको मूल्य घट्दो क्रममा रहेको छ। बैंकहरूको कर्जा तथा निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको छ। 

कात्तिक महिनादेखि निरन्तररुपमा बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेकाले कर्जाको ब्याजदरसमेत एकल अंकमा झरेको छ। आवासीय घरकर्जालगायतका शीर्षकमा बैंकहरूले एकल अंक ब्याजदरमा नै कर्जा दिन थालेका छन्। 

पछिल्लो अवधिमा बैंक वित्तीय संस्थाहरूबाट ३ अर्बले निक्षेप घटेको छ भने कर्जा प्रवाह पनि १ अर्बले घटेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार यस अवधिमा बैंकहरूमा ६१ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन भएको छ भने ५० खर्ब ८० अर्ब रुपैयाँ कुल कर्जा प्रवाह भएको छ। 

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले स्थायी निक्षेप सुविधामार्फत तरलता प्रशोचन गरिरहेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत स्थायी तरलता सुविधा प्रदान गरेको हो। राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिन स्थायी निक्षेप सुविधा र रिपोलगायतका उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ। 

पहिलो मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले नीतिगत दर १ प्रतिशत बिन्दु, बैंक दर ०.५ प्रतिशत बिन्दु र निक्षेप संकलन दर १.५ प्रतिशत बिन्दुले घटाएको छ। 

गत मंसिरयता बैंकहरूको अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा तल आउन थालेपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षामार्फत निक्षेप संकलन दर ३ प्रतिशतमा कायम गरी निरन्तररुपमा प्रणालीबाट तरलता प्रशोचन गरिरहेको छ। 


प्रकाशित : मंगलबार, चैत ६ २०८०११:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend