बुधबार, माघ २ गते २०८१    
बुधबार, माघ २ २०८१
images
images

धौवादीमा पहिलोपटक पुग्यो बिजुली, आर्थिक गतिविधि चलायमान बनाउन खुल्यो बाटो

images
सोमबार, चैत ५ २०८०
images
images
धौवादीमा पहिलोपटक पुग्यो बिजुली, आर्थिक गतिविधि चलायमान बनाउन खुल्यो बाटो

अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीयलाई राष्ट्रिय प्रसारणलाइनको विद्युत् सेवा पुगेपछि अहिले सहज भएको छ।

images
images

मध्यविन्दु- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ धौवादीमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ। पुरानो बस्ती भएको गाउँ भए पनि सो क्षेत्रमा अहिलेसम्म विद्युत् सेवा नपुग्दा स्थानीयवासीले वैकल्पिक माध्यमबाट बिजुली बत्ती बाल्दै आएका थिए। 

images
images
images

जिल्लाको पहाडी क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने गरी बुलिङटार गाउँपालिका-४ बोझा पोखरीमा निर्माण गरिएको विद्युत् सबस्टेसनबाट विद्युत् प्रवाह सुरु गरिएपछि धौवादी क्षेत्रमा राष्ट्रिय प्रसारणलाइनको बिजुली पुगेको हो। केही घरमा सोलार र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले सहज महसुस गरेका छन्। आफ्नो घरमा विद्युत् सेवा उपलब्ध भएपछि गाउँका सर्वसाधारण खुसी भएका छन्।

images

बिजुली नहुँदा कुटानी पिसानीदेखि पढाइ लेखाइमा समस्या भोग्दै आएका स्थानीयवासीले अब भने सहज महसुस गर्न पाएको वडाध्यक्ष पदमबहादुर रानाले बताए। 'यस क्षेत्रमा ऐतिहासिक रुद्रपुरगढीलगायतका पर्यटकीय क्षेत्र छन्। अहिलेसम्म विद्युत् सेवा नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको थिएन। अब गाउँको विकास र आर्थिक गतिविधि चलायमान बनाउन विद्युतीकरणले बाटो खोलिदिएको छ', उनले भने।

images
images
images

बोझा पोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सबस्टेसनको यसैवर्ष निर्माण पूरा भएपछि जिल्लाको पहाडी गाउँमा विद्युत् विस्तारका लागि सहज भएको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताए।

'जिल्लाको प्रगतिनगरबाट ११ हजार केभीको विद्युत् प्रवाह गरी सबस्टेसन चार्ज गरी स्थानीयस्तरमा वितरण सुरु गरेका छौँ', उनले भने, 'आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौवादीसम्म र बुलिङटार गाउँपालिका क्षेत्रमा ११ हजार केभीको लाइन वितरण हुनेछ।'

जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकारमै छन्। तनहुँतर्फबाट लाइन तानेर बुलिङटार क्षेत्रमा विद्युतीकरण गरिएकोमा अब यही सबस्टेसनको प्रसारण लाइन जोडिने प्रमुख मण्डलले बताए। कतिपय स्थानमा लघु जलविद्युतबाट विद्युतीकरण गरिएको भए पनि आवश्यक मागअनुसार आपूर्ति हुन सकेको थिएन। साथै लामो दुरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ। 

बोझा पोखरीको सबस्टेसनबाट विद्युत् प्रवाह सञ्चालन हुँदा जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए। हुप्सेकोट गाउँपालिकाले उज्यालो हुप्सेकोट कार्यक्रमअन्तर्गत १६ करोड रूपैयाँको बहुवर्षीय आयोजना सञ्चालन गरी पहाडी गाउँमा राष्ट्रिय प्रसारण लाइन लैजाने कार्यक्रम सुरु गरेको हो। जसअन्तर्गत गाउँपालिकाभित्रका सबै गाउँ बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको गाउँपालिका अध्यक्ष पाण्डेले बताए। 

'हुप्सेकोट गाउँपालिका वडा नं ४, ५, ६ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सेकेको थिएन, अहिले गाउँपालिका, प्रदेश र संघ सरकारको संयुक्त लगानीमा सबै गाउँमा विद्युत् पुर्‍याउन सफल भएका छौँ', उनले भने।

जिल्लाको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिका विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो। ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सबस्टेसन निर्माण सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ। बोझा पोखरी सबस्टेसन भारतीय एटुजेड इन्फ्रा इञ्जिनियरिङ कम्पनीमार्फत सब-कन्ट्रयाक्टर त्रिपुरेश्वर र जयदुर्गे इञ्जिनियरिङले १२ करोड रूपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न गरिएको हो। रासस


प्रकाशित : सोमबार, चैत ५ २०८०१६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend