शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

दुग्ध किसानले पाउने भए भुक्तानी, अर्थले अघि बढायो प्रक्रिया

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २ २०८०
images
दुग्ध किसानले पाउने भए भुक्तानी, अर्थले अघि बढायो प्रक्रिया
फाइल तस्बिर

कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो।

images
images

काठमाडौं- अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल दिने भएको छ। अर्थ मन्त्रालयले दुग्ध किसानको बक्यौता भुक्तानीका लागि शुक्रबार वा आइतबारसम्म दुग्ध विकास संस्थान (डीडीसी) लाई रकम भुक्तानी दिने भएको हो।   

images
images
images

अर्थमन्त्री वर्षमान पुनले शुक्रबार सचिव डा. रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। 

images
images

त्यसअघि मन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव डा. गोविन्द्रप्रसाद शर्मा र पशुपंक्षी विकास सचिव डा. रेवतीरमण पौडेलसँग छलफल गरेका थिए।

images
images

भुक्तानी नपाएको भन्दै केही महिनायता दुग्ध किसान आन्दोलित छन्। किसानलाई भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) ले अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो। तर अर्थले रकम अभावको कारण देखाउँदै भुक्तानी दिएको थिएन।

अहिले डीडीसीले दुग्ध किसानलाई एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ। निजी डेरीहरूसमेतको किसानलाई दिन बाँकी रहेको भुक्तानी हेर्दा त्यो रकम पाँच अर्बभन्दा बढी रहेको छ। 

मन्त्रालयको नेतृत्व सम्हालेको केही दिनमै अर्थमन्त्री पुनले किसानलाई भुक्तानी दिने प्रक्रिया अघि बढाएका हुन्। ‘देशभरका हजारौँ किसान भुक्तानी नपाएर तड्किएको अवस्था रहेछ। राज्य जनताको अभिभावक  भएकाले किसानका पीडा हेरेर बस्न सक्दैन। विगतमा जे कारणले रोकिएको भए पनि आजै वा आइतबारसम्म किसानको बक्यौता भुक्तानी हुन्छ’, पुनले भने।

पुनले राज्यले बहानाबाजी गरेर किसान, निर्माण व्यवसायी लगायतको भुक्तानी रोक्न नमिल्ने स्पष्ट गरे। जनतालाई डेलीभरीको महसुस गराउनकै लागि आफ्नो कुर्सी सुरक्षित हुँदाहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तासमीकरण बदलेको उल्लेख गर्दै पुनले ‘केही गरौं’ भन्ने प्रधानमन्त्रीको हुटहुटीलाई बुझेर आफूले काम थालिसकेको बताए।

उनका अनुसार कृषि मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट समर्पण गराएर किसानको भुक्तानी दिइन लागिएको हो। चालु आर्थिक वर्षमा ५१ अर्ब बजेट रहेको कृषि मन्त्रालयले हालसम्म कुल बजेटको ५४ प्रतिशत मात्र खर्च गरेको छ। 

मन्त्री पुनले बजेट समर्पणका लागि शुक्रबारै पत्राचार गर्न कृषीमन्त्री र सचिवहरुलाई भनेका छन्। मन्त्रीबाट स्पष्ट निर्देशन आएको र मन्त्रालयले क्रमशः दुग्ध किसानको बक्यौता भुक्तानी गर्दै जाने सचिव घिमिरले जानकारी दिए। 


प्रकाशित : शुक्रबार, चैत २ २०८०१४:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend