आइतबार, पुस ७ गते २०८१    
images
images

च्याउ खेतीबाट मनग्य आम्दानी

images
बिहीबार , चैत १ २०८०
images
images
च्याउ खेतीबाट मनग्य आम्दानी

च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनले लगानी बढाउँदै लगेका छन्। अहिले उनले वार्षिकरुपमा १५ लाख रूपैयाँ बराबरको च्याउको कारोबार गर्दै आएका छन्।

images
images

दाङ- रुकुम पश्चिम बाँफिकोटका सिजाराम बाठामगरको मुख्य पेसा च्याउ खेती हो। उनले विगत आठ वर्षदेखि घोराही-१७ गैरागाउँमा च्याउखेती गर्दै आएका छन्। च्याउ खेतीबाट मनग्य आम्दानी हुन थालेपछि उनले लगानी बढाउँदै लगेका छन्।

images
images
images

अहिले उनले वार्षिकरुपमा १५ लाख रूपैयाँ बराबरको च्याउको कारोबार गर्दै आएका छन्। यसबाट तीन लाख रूपैयाँसम्म बचत हुने गरेको उनको भनाइ छ। '२०७२ सालबाट च्याउ खेती सुरु गरेको थिए। अहिले आठ वर्ष भयो। म निरन्तर रुपमा च्याउ उत्पादन गर्दै आएको छु', उनले भने, 'यो अवधिमा राम्रो आम्दानी भएको छ।'

images

पहिले च्याउको बजार कम भए पनि पछिल्लो समय बढ्दै जाँदा च्याउ खेतीमा लाग्ने व्यवसायीसमेत थपिँदै गएको बताए। ३९ वर्षीय बाठामगरले देश बाहिर समेत गएर च्याउ खेतीको बारेमा अवलोकन र अध्ययन गरेर आएका छन्। उनको च्याउ फार्ममा स्थानीय १२ कामदारले समेत रोजगार पाएका छन्।

images

दैनिक करिब ४०/५० केजी बराबरको च्याउ उत्पादन गर्दै आएको बताउने बाठामगरले उत्पादन भएको च्याउ जिल्लाको घोराही, तुलसीपुरसँगै जिल्ला बाहिर प्युठान, बुटवल, कोहलपुर, सुर्खेतलगायतका ठाउँमा समेत पठाउने गरेको बताए। उनले खुद्रामा दुईसय रूपैयाँ केजीका दरले बिक्री गर्दै आएका छन्। सुगर, प्रेसरलगायतका बिरामीले समेत खान मिल्ने र मासु नखानेले समेत च्याउ खान मिल्ने भएका कारण पछिल्लो समय जिल्लामा च्याउको माग बढ्दै गएको उनको भनाइ छ। 

'पहिले धेरैलाई च्याउ खान हुँदैन भन्ने थियो। तर अहिले त्यो अवस्था हटेको छ', उनले भने, 'अहिले च्याउ खानुपर्छ भन्ने चेतनाको विकास भएको छ। जसले गर्दा खपत बढेको छ।' बाठामगरले दुई बिघा जग्गा भाडामा लिएर विगत लामो समयदेखि व्यवसाय गर्दै आएको बताउँछन्। उनका अनुसार च्याउ भदौ महिनादेखि चैतसम्म राम्रो आम्दानी लिन सकिने बताए। उनले अहिले कन्य, पाते जातको च्याउ उत्पादन गरेर बिक्री गर्दै आएका छन्।

मेहनत गर्न सकियो भने आम्दानी पनि सोचेअनुसारको प्राप्त गर्दै जाने उनको अनुभव रहेको छ। आगामी दिनमा च्याउ खेती गरेका किसानलाई बजारीकरणमा सहयोग पुर्‍याउनका लागि सरकारीस्तरबाट पनि च्याउको महत्व र यसले स्वास्थ्यलाई दिने फाइदालगायतका बारेरमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको बताए।

आफ्नै देशमा कुषि व्यवसायमार्फत स्वरोजगार बन्नका लागि अनुदानसँगै बजारको ग्यारेन्टी गरिदिन स्थानीय सरकारलाई उनी आग्रह गर्छन्। अनुदान प्राप्त गर्ने वास्तविक किसानभन्दा पनि यहाँ विचौलियाको बढी हाबी हुने हुँदा कृषक सधैँ मारमा पर्ने गरेको उनको अनुभव रहेको छ। आफ्नो च्याउ खेतीबाट राम्रो आम्दानीसँगै स्थानीय धेरै नागरिकले रोजगार पाउन सफल भएको हुँदा भोलिका दिनमा व्यवसायलाई बढाउँदै लैजाने किसान बाढामगरको भनाइ रहेको छ। रासस


प्रकाशित : बिहीबार , चैत १ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend