शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

७ महिनामा २० वाणिज्य बैंकको नाफा ३५ अर्ब ४९ करोड, कुन बैंकको नाफा कति?

बुधबार, फागुन ३० २०८०
७ महिनामा २० वाणिज्य बैंकको नाफा ३५ अर्ब ४९ करोड, कुन बैंकको नाफा कति?

बैंकिङ प्रणालीमा ६ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह न्यून हुँदा बैंकहरूको नाफा घटिरहेको छ।

काठमाडौं- बैंक वित्तीय संस्थाहरूको चालु आर्थिक वर्षको सात महिनाको वित्तीय तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको सात महिनामा २० वाणिज्य बैंकले कुल ३५ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेका छन्।

पुसमा भन्दा बैंकहरूको माघको नाफा २३.५० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको माघसम्ममा वाणिज्य बैंकहरूले २८ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा गरेका थिए। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा वाणिज्य बैंकहरूले ७० अर्ब खुद नाफा गर्न सफल भएका थिए। 

अर्थतन्त्रमा आएको संकुचनका कारण पछिल्लो समय बैंकहरूको खराब कर्जा बढ्दै गएको छ। खराब कर्जा बढेकाले बैंकहरूको गैरबैंकिङ सम्पत्ति पनि बढेको छ। 

खराब कर्जा बढेकाले बैंकहरूको वितरणयोग्य नाफा घटेको छ। जसले बैंकहरूको पुँजीकोषमा दबाब पारेको छ। प्रणालीमा अधिक तरलता भएपनि कर्जा विस्तार सुस्त हुँदा बैंकहरूको आम्दानीमा संकुचन आइरहेको छ।

बैंकिङ प्रणालीमा ६ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भएपनि कर्जा प्रवाह न्यून हुँदा बैंकहरूको नाफा घटिरहेको छ।

बैंकहरूले नाफामा संकुचन आउन थालेपछि कर्जाको ब्याजदर घटाएर कर्जा प्रवाह बढाउने रणनीतिमा छन्। अर्थतन्त्रमा आएको शिथिलताका कारण कर्जा प्रवाह बढ्न सकेको छैन। 

यसैबीच राष्ट्र बैंकले ७ महिनाको तथ्यांक प्रकाशन गरेको छ। जसमा बैंकहरूले सन्तोषजनक नै नाफा गरेको देखिन्छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ७ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। यस अवधिमा नबिल बैंकले ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

यस्तै नबिलपछि दोस्रो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ। यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ६८ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ।

तेस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले २ अर्ब ६८ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ।  

चौथो स्थानमा रहेको प्राइम बैंकले २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको छ।

पाँचौ स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले यस अवधिमा २ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। 

यस अवधिमा एनआईसी एसिया बैंकले २ अर्ब १४ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। 

यस्तै नेपाल बैंक लिमिटेडले ९५ करोड ९१ लाख रुपैयाँ, स्टाण्डर्ड चार्टर्ड बैंकले १ खर्ब ९४ करोड रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ८४ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले ८५ करोड २४ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ९० करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ९८ करोड रुपैयाँ, कुमारी बैंकले १ अर्ब १२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ४० करोड रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ४१ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब  ७ करोड रुपैयाँ, सिटिजन्स बैंकले ९९ करोड ७८ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब ६६ करोड रुपैयाँ, प्रभु बैंकले ९२ करोड ७६ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गर्न सफल भएका छन्।


प्रकाशित : बुधबार, फागुन ३० २०८०१७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend