शनिबार, वैशाख १५ गते २०८१    
images
images

आर्थिक संकटको भुमरीमा व्यवसायी उपेन्द्र महतो

बैंकमा रहेको अर्बौं ऋणको किस्ता र ब्याजको भुक्तानी महिनौँदेखि ठप्प

images
images
images
आर्थिक संकटको भुमरीमा व्यवसायी उपेन्द्र महतो

विगतमा मेरो मोबाइल, युटिएलमा लगानी गरेका महतोले पतञ्जलीमा समेत लगानी गरेका थिए। तर लगभग सबै व्यवसाय अहिले महतोको हातबाट फुत्किएको छ। माछापुच्छ्रे बैंकको अध्यक्षबाट समेत बाहिरिएका छन्।

images
images

काठमाडौं- कुनै समय व्यवसायी डा. उपेन्द्र महतोको व्यावसायिक क्षेत्रमा ठूलो रजगज थियो। व्यवसायीबीच मात्र होइन ठूला नेतादेखि मन्त्री प्रधानमन्त्रीसम्म उनको कुरा बिक्थ्यो। तर अहिले अवस्था फेरिएको छ। विस्तारै व्यावसायिक चमकधमकबाट पर हुँदै गएका उनी संकटतर्फको बाटोले व्यावसायिक रुपमा कमजोर बनेका छन्।

images
images
images

हुन त अहिले पनि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका नेतासँग उनको उठबस राम्रै छ। तर उनको एकपछि अर्को व्यवसाय संकटतिर धकेलिइरहँदा त्यो सम्बन्ध फिका बनेको छ। उनको प्रभाव अहिले उनकै लागि उपयोगी बनिरहेको छैन। पछिल्लो समय एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा पनि उनले आफ्नो गुमेको प्रभुत्व जाँच गरिरहेका छन्।

images

पछिल्लो समय महतोले बैंकहरूबाट लिएको ऋणको किस्ता र ब्याज महिनौँदेखि तिर्न सकेका छैनन्। महतोसँग ऋण उठाउन नसकेपछि उनीसँग जोडिएका अन्य व्यवसायीसमक्ष पनि बैंकहरू हारगुहार गर्दै हिँडेका छन्।

images

अस्पतालसँगै बैंक, जलविद्युत, टेलिकमलगायत क्षेत्रमा अर्बौं लगानी गरेर चर्चामा आएका महतो गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्षसमेत हुन्। रसियाबाट नेपाल आएर लगानी गरेका महतो पछिल्ला वर्षहरूमा आर्थिक संकटमा गुज्रिएका छन्। 

images
images

विगतमा मेरो मोबाइल, युटिएलमा लगानी गरेका महतोले पतञ्जलीमा समेत लगानी गरेका थिए। तर लगभग सबै व्यवसाय अहिले महतोको हातबाट फुत्किएको छ। माछापुच्छ्रे बैंकको अध्यक्षबाट समेत बाहिरिएका छन्। उनले बैंकको सबै सेयर बिक्री गर्ने तयारी गरे पनि खरिदकर्तालाई राष्ट्र बैंकले अनुमति नदिएकाले रोकिएको छ। 

महतोले बैंकहरूमा तिर्नुपर्ने अर्बौं ऋणको किस्ता र ब्याज पछिल्लो ११ महिनादेखि कुनै पनि बैंकमा भुक्तानी गरेका छैनन्। उनको विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा अर्बौ रुपैयाँ ऋण रहेको छ। मेडिसिटी अस्पतालको मात्रै बैंकहरूमा अर्बौं ऋण रहेको छ। अन्य व्यवसायमा पनि अर्बौं ऋण छ। तर उनले ऋणको करोडौँ रुपैयाँ किस्ता र ब्याज भुक्तानी गरेका छैनन्। 

सबै बैंकहरूले प्रोभिजन गरेर राख्न बाध्य भएका छन्। हिमालयन र प्रभु लगायतका बैंकमा उनले ऋण तिरेका छैनन्। जसका कारण बैंकहरूलाई आउने असारसम्म नै यही विषयले हम्मे पर्ने देखिएको छ। असारसम्म पनि ब्याज र किस्ता नतिर्ने हो भने धमाधम लिलामीका सूचना आउने बैंकर्सले बताउने गरेका छन्। 

महतो भने ऋणको किस्ता र ब्याज नतिरेको विषय स्वीकार गर्दैनन्। आफूविरुद्ध दुष्प्रचार गर्ने विगतकै प्रथा भएको र यसमा सत्यता नरहेको उनको भनाइ छ। 

‘विगतदेखि मविरुद्ध विभिन्न हल्ला चलाइएको छ, ऋण नतिरेको भन्ने होइन’ महताले भने। अहिले अफवाहहरू फैलाउने काम भएको उनले बताए। ऋण तिरिरहेको दाबीसमेत उनले गरे।

तर महतोका विभिन्न परियोजनामा ऋण लगानी गरेकामध्ये दुई बैंकरले महतोले ऋणको किस्ता नतिरेको बताएका छन्। '११ महिनादेखि उनले ऋणको किस्ता तिरेका छैनन्, ताकेता गर्दा पनि व्यवसाय नै छैन कसरी तिर्ने हो भन्ने सामान्य जवाफ दिँदै आएका छन्' एक बैंकरले भने। 

ठूलो ऋणको पोर्टफोलियो भएकाले सकेसम्म फकाएरै उठाउने नीति बैंकहरूले लिएका छन्। 

किस्ता र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेका महतोले ऋण लिएका बैंकहरूमा अहिले तिर्न नसक्ने भन्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) र बैंकहरूका अध्यक्षहरूलाई भन्दै आएका छन्। बैंकहरूले ठूला व्यवसायी र शक्तिको समेत प्रयोग गर्ने भएकोले तत्कालै कालोसूचीमा पठाउन सक्ने अवस्था छैन।  

आफैले बनाएको सानिमा बैंकबाट वर्षौंअघि बाहिरिए, टेलिकममा अविच्छिन्न दलाली 

सानिमा बैंकबाट महतो २०७६ मै बाहिरिएका थिए। उनले साढे तीन प्रतिशत सेयर बिक्री गरेका थिए। तत्कालीन समयमा २७ लाख १८ हजार ८ सय ३५ कित्ता संस्थापक सेयर प्रतिकित्ता १८० रुपैयाँमा सञ्चयकोषले बिक्री गरेको थियो। उक्त समयमा ४८ करोड ९३ लाख ९० हजार ३ सय रुपैयाँ हात पारेका थिए।

बैंकबाहेक उनले पछिल्लो २० वर्षदेखि नेपालको दूरसञ्चार क्षेत्रमा चलखेल गरेका छन्। दूरसञ्चारमा निजी क्षेत्रको प्रवेशसँगै तत्कालीन स्पाइस नेपाल (अहिलेको एनसेल) मा लगानी गरेका उनले नेपालबाहिर सेयर बिक्री गरेर करछली गरेको समाचार खोज पत्रकारिता केन्द्रले प्रकाशित गरेको थियो। स्पाइसमा भएको सेयर दुई किस्तामा बिक्री गरेर अर्बौं लाभ गरेको तर त्यसको कर तिरेको प्रमाण कतै पनि नदेखिएको उक्त रिपोर्टमा प्रकाशित छ। 

स्पाइसको सेयर बिक्री गरेर राम्रै लाभ लिएका महतोले त्यसपछिका अरु निजी सेवाप्रदायकमा हिस्सा भने लिइरहे। नेपालको दूरसञ्चार क्षेत्रको 'ग्यांग्स अफ दूरसञ्चार'का मुख्य व्यक्ति महतोले स्मार्ट टेलिकम, युटीएलमा पनि अप्रत्यक्ष हिस्सा लिएका थिए। भारतीय सरकारी कम्पनीको समेत लगानी रहेको युटीएलमा सुरुमा उनकै आफन्तको नाममा सेयर थियो। 

पछिल्लो समय दूरसञ्चारमा पूर्वाधार कम्पनीको लाइसेन्स लिन लागिपरेका महतो अहिले भने एनसेलको पछिल्लो सेयर खरिबिक्रीमा चलखेलको प्रयासमा रहेको स्रोतहरूले बताएका छन्। शक्तिको आडमा नियामकमै आफ्नो मान्छेलाई नियुक्ति दिलाएर सेवाप्रदायकमाथि नियन्त्रण गर्न खोजेको उनीमाथि आरोप छ। 

दूरसञ्चार क्षेत्रमा लगानी गर्नेभन्दा पनि सुरुमा सेयर लिने र त्यसमा विदेशी लगानी ल्याएर नाफा कमाउने उनको मोडल रहेको छ। राजबहादुर सिंह, अजयराज सुमार्गी, सतिशलाल आचार्यसँगै उपेन्द्र महतोले नेपालको दूरसञ्चारमा दबादबा कायम गरेका छन्। यिनीहरूलाई नै ग्यांग्स अफ दूरसञ्चार भन्ने पनि गरिन्छ। 

मेडिसिटी अस्पतालपछि झनै संकटमा 

झन्डै ८ अर्ब रुपैयाँ लगानी रहेको मेडिसिटी अस्पताल अहिले मासिक १० करोड रुपैयाँ घाटामा रहेको छ। जसका कारण पनि सवैभन्दा बढी समस्यामा महतो परेका छन्। अस्पताल बिक्रीको तयारीमा महतो लागिरहेका छन्। 

अस्पताल मासिक १० करोड रुपैयाँसम्म घाटामा जान थालेपछि महतोले अस्पताल बिक्रीको प्रयास गरिरहेका हुन्। बिक्रीका लागि भारतीय कम्पनीहरूसँग पटकपटक डिल गरेता पनि मिल्न भनेको सकेको छैन। बिक्रीको तयारीबारे उपेन्द्र महतोले भने- 'अहिले बिक्रीको कुरा भएको छैन, अफवाह मात्रै हो।’ 

उनले अफवाह भनेता पनि दर्जनौँ कम्पनी र ठूला व्यवसायीसँग डिल भने पटक पटक गरेका छन्। डिल अघि बढिरहँदा जग्गा र मेलिकल कलेज चलाउने भनेर पाएको आशयपत्रको विषय मिल्न सकेको छैन। ‘अनुमति पाएमा विदेशीलाई नेपालमा स्वास्थ्य शिक्षा पढाउने संरचना रहेकोले मेलिडकल कलेज चलाउने नै हो’ महतोले भने। 

भीआईपीहरू भारतसहित विभिन्न देशमा उपचारमा जाने क्रम रोक्न संसारमा भएका हरेक सुविधा दिने घोषणासहित महतोले अस्पताल सञ्चालनमा ल्याएका थिए। निजी क्षेत्रकै सबैभन्दा ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय सुविधासहितको अस्पताल सुरु गरेका महताले व्यावसायिक रुपमा राम्ररी चलाउन भने सकेका छैनन्।

अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल २०७४ असोजबाट सुरु भएको थियो। सञ्चालनमा आएको ८ वर्षपछि नै संकटमा छ। जसको असर महतोको अन्य व्यवसायमा समेत परेको छ। 

७५० बेडको मेडिसिटीमा न्युरो साइन्सेज, कार्डियाक, ग्यास्ट्रो, रिनल, अर्थो एन्ड स्पोर्टस् मेडिसिन तथा अंकोलोजी सेन्टर अफ एक्सलेन्सका फरक विभाग स्थापना गरी सेवा सुरु गरिएको थियो। विश्वबाटै नेपालमा बिरामीको उपचार गर्ने ‘हव’ बनाउने घोषणा गरेका महतोले गरेता पनि सफल भने हुन सकेनन्। 

पतञ्जलीबाट रित्तो हात

व्यवसायी महतोले भारतीय योगगुरु बाबा रामदेवसँगको सहकार्य गरेर ठूलो उद्योग र लगानी भित्र्याउने घोषणा गरेका थिए। तर महतो अहिले पतञ्जलीबाट बाहिरिएका छन्। 

आचार्य बालकृष्ण सहितको सहकार्यमा अगाडि बढेता पनि महतोले हात झिकेपछि बालकृष्णसहितको टिमले मात्रै काम गरिरहेको छ। वीरगञ्ज पथलैया सडकखण्डको प्रसौनीमा रहेको उद्योगमा २५ करोड लगानी गरिएको थियो। ९ विगाहा क्षेत्रफलमा स्थापना गरिएको उद्योगको २४ नोभेम्बर २०१६ मा बाबा रामदेव र आचार्य बालकृष्णको उपस्थितमा राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी थिइन्। 

समारोहमा योगगुरु बाबा रामदेवले एक वर्षभित्र नै पतञ्जली उद्योगमा दुई हजार जनाले रोजगारी पाउने र पाँच/सात वर्षभित्र पतञ्जलीको माध्यमबाट थप १० हजार नेपालीले रोजगार पाउने उदघोष गरेका थिए। तर न उद्योग खुल्यो न महतो त्यसमा रहे। अहिले जेनतेन बालकृष्णको टिमले सानो स्केलमा उत्पादन भने गरिरहेका छन्। तर भारतीय लगानी पनि अहिलेसम्म भित्रिएको छैन। 

महताले ३२ करोड रुपैयाँ लिएर उद्योग छाडेका थिए। तर उक्त पैसा पनि वर्षाैंदेखि पाउन सकेका छैनन्। अहिले सहकार्य नभएको र त्यसमा सम्बन्ध पनि केही नभएको महतो बताउँछन्। 

उद्योगले जुस, साबुन, सेम्पु, डिटर्जेन्ट सर्फ, विस्कुट, तेल, चाउचाउ, दन्तमन्जन, च्यवनप्रास, घ्यू, मह, मसाला, औषधिलगायत २० भन्दा बढी प्रकारका आयुर्वेदिक सामानहरू उत्पादन गर्दै आइरहेको छ।

रुस र पूर्व सोभियत संघबाट उदाएका महतो

महतोले सन् १९७७ सम्म जनसेवा माध्यमिक विद्यालय कर्जन्हा सिरहामा पढेका हुन्। उनले सन् १९७९ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियरिङ गरे। बेलारुसको स्टेट पोलिटेक्निक एकेडेमीबाट सन् १९८८ मा इन्जिनियरिङमा स्नातकोत्तर गरेका महतो रुस र पूर्व सोभियत संघको ठूलो प्रभाव थिए।

सन् १९९१ मा सोभियत संघको विघटनपछिको अस्तव्यस्तताका बीच महतोले पनि अवसर देखे। महतोले रुसमा तेल, टेलिभिजन उत्पादन गर्ने र रियल स्टेटको व्यवसाय गर्नुका साथै बेलारुसको हेभी मेसिनरी उत्पादन गर्ने कम्पनी एम्कोडर पनि खरिद गरे र व्यवसायलाई बढाए।

महतो सन् २००० को दशकको सुरुतिर नेपाल फर्किएका हुन्। सन् २००३ मा गैरआवासीय नेपाली संघको संस्थापक अध्यक्ष बने। त्यसपछि नेपालमा व्यवसाय विस्तार गरेर रुसको व्यवसायबाट अलग भएका थिए। 

मेरो मोवाइल हुँदै एनसेललाई सेयर बिक्री गर्दा मोटो रकम फाइदा गरेता पनि अहिले भने महतो आर्थिक संकटको चक्रमा छन्। जुन पार लगाउन हम्मेहम्मे पर्ने देखिएको छ। 

images

प्रकाशित : शुक्रबार, चैत २ २०८००७:४४

प्रतिक्रिया दिनुहोस