शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

अर्थमन्त्रीले पुँजी बजार सुधारबारे बोलिरहँदा लगानीकर्ताको साथ, निरन्तर उचाइतर्फ बजार

मंगलबार, फागुन २९ २०८०
अर्थमन्त्रीले पुँजी बजार सुधारबारे बोलिरहँदा लगानीकर्ताको साथ, निरन्तर उचाइतर्फ बजार

काठमाडौं- सत्तागठबन्धन परिवर्तनको प्रभाव देखिएर गएको साता समग्रमा ७०.२६ अंकको वृद्धि भएको सेयर बजारमा यो साता पनि वृद्धितर्फ नै साथ मिलिरहेको छ। आइतबार २२.१० अंकले बढेको बजार साताको दोस्रो कारोबारमा मंगलबार पनि हरियालीतर्फ नै लाग्यो।

मंगलबार ५८.५८ अंकले बढेर बजार २१११.२४ बिन्दुमा पुगेको छ। २२० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँको कारोबार भएको छ। लामो समयपछि कारोबार रकममा समेत सुधार देखिएको हो। २२ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

पर्ख र हेरको सोचमा रहेका संगठित लगानीकर्ताहरू पनि नयाँ सरकारसँगै हौसिएका छन्। सेयर बजारका संगठित लगानीकर्ताहरूको मनोविज्ञान बुझेर अर्थमन्त्री वर्षमान पुनले बजारको सुधारका काममा आफू लागिरहने बताइरहँदा वृद्धितर्फकै कारोबारमा साथ मिलिरहेको छ। 

पुँजी बजारका नियामक निकायलाई समस्या समाधानसहित कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल क्लियरिङ लिमिटेड (सीडीएसी)लाई अर्थतन्त्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने पुँजी बजारमा देखिएका समस्या समाधान र त्यस क्षेत्रको विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने कामको सम्बन्धमा सरोकारवालासँग पनि राय लिएर सात दिनभित्र आउन पत्रमार्फत निर्देशन दिएका थिए। 

गत बुधबार पदभार ग्रहण गर्दै अर्थमन्त्री पुनले ६० लाख लगानीकर्ताको हितमा रहेर काम गर्ने बताएका थिए। उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र आवश्यक समस्याको समाधान गर्नका लागि आफू सधैँ तयार रहेकोसमेत बताएका थिए। 

गएको साता पहिलो दिन आइतबारको कारोबारपछि १९६०.३० को बिन्दुमा झरेको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार २०३०.५६ को बिन्दुमा पुगेको थियो। सत्तागठबन्धन परिवर्तनसँगै गएको साता सोमबारमात्र ११७.७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो। मंगलबार परिसूचक ७०.३१ अंकले घटेको बजार बुधबार ९.३३ र बिहीबार १३.५२ अंकले बढेको थियो। 

सत्ता साझेदार फेरिँदा हरेक पटक लगानीकर्ता अस्थिर देखिने गरेका छन्। जसको असर दोस्रो बजारमा पर्ने गरेको छ। देशको अर्थतन्त्रको सूचक र कम्पनीको अवस्थामा लगानीकर्ताले कदम चाल्नुपर्नेमा राजनीतिलाई ठूला लगानीकर्ताले हतियार बनाउने गरेका छन्। जसले गर्दा बजार प्राकृतिक घटबढभन्दा पनि अस्वभाविक उचाल्ने गरिएको छ।

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले नयाँ सत्ता समीकरणसँग आश गरेको देखिएको छ। अबको बजार कता जान्छ भन्ने अनुमान सरकारले दिने भरोसापछि मात्र थाहा हुने संगठित लगानीकर्ताहरू बताउँछन्।

यस्तोमा अर्थमन्त्री पुन पनि लगानीकर्ता विश्वस्त पार्नमा केन्द्रित भएका देखिन्छन्। सेयर बजारमा भएका नीतिगत कुरालाई सुधार गरेर अगाडि बढ्ने उनले बताएका छन्। मन्त्री पुनले सेयर लगानीकर्ताको हितमा काम गर्ने बताइरहँदा लगानीकर्ताहरूले नीतिगत अप्ठ्यारोमा नपरिने आश गरेका छन्। 

लगानीकर्ताहरूले यो वृद्धिको साथ पुन: २२०० को बिन्दुतर्फ लाग्ने अपेक्षा गरेका छन्। विश्लेषकहरू समेत अहिलेको समग्र परिस्थिति हेर्दा बजार क्रमश: धिमा गतिमा माथितिर नै लाग्ने देखिएको बताउँछन्।


प्रकाशित : मंगलबार, फागुन २९ २०८०१५:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend