काठमाडौं- एक किलो २१० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र सिन्धुपाल्चोकबाट दुईजना पक्राउ परेका छन्।
करिब २ सय १० ग्राम तौलबराबरको सुनका विभिन्न गरगहनासहित प्युठान ऐरावतीकी २८ वर्षीया संगीता परियारलाई त्रिभुवन विमानस्थलबाट सोमबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा भन्सार छली गरी लैजान लागेको अवस्थामा लकेटसहितको सिक्री १ थान, ब्रासलेट १ थान, औँठी ३ थान, रानीहार १ थान, मिनिहार १ थान, मंगलसुत्र २ थान, कानमा लगाउने झुम्का २ जोर र औँठी १ थानसहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइने प्रहरीले जनाएको छ।
यस्तै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ खुर्सानीबारीबाट करिब १ किलो सुनसहित भोटेकोशी गाउँपालिका-५ मार्मिङ बस्ने २३ वर्षीय थारचेन तेम्बा तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले भे११प ५५५८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङले पेटमा बाँधी लुकाएर ल्याएको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।