शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

७ महिनामा १ खर्ब ९७ अर्ब कर्जा प्रवाह, कर्जाको ब्याजदर ११.०८ प्रतिशतमा झर्‍यो

आइतबार, फागुन २७ २०८०
७ महिनामा १ खर्ब ९७ अर्ब कर्जा प्रवाह, कर्जाको ब्याजदर ११.०८ प्रतिशतमा झर्‍यो

गत वर्षको सोही अवधिमा वाणिज्य बैंकको आधारदर १०.७२ प्रतिशत रहेको थियो। अर्थात गत वर्षको माघको तुलनामा चालु आर्थिक वर्षको माघमा बैंकहरूको आधार दर १.६६ प्रतिशत बिन्दुले घटेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको ७ महिनामा बैंकिङ प्रणालीबाट निजी क्षेत्रमा १ खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ।

गत आर्थिक वर्षको तुलनामा कर्जा प्रवाह करिब ४.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यसै अवधिमा १ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो। 

वार्षिक बिन्दुगत आधारमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। चालु आर्थिक वर्ष राष्ट्र बैंकले ११ प्रतिशत कर्जा प्रवाह गर्ने लक्ष्य मौद्रिक नीतिमार्फत राखेको छ।

यस अवधिमा निक्षेप संकलन भने करिब ७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यसै अवधिमा निक्षेप संकलन २ खर्ब ५३ अर्ब ९७ करोड रुपैयाँ भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ खर्ब ९७ अर्ब २० रुपैयाँ भएको छ।

नेपालको आन्तरिक अर्थतन्त्र संकुचित हुँदा निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह न्यून रहँदै आएको छ।

हाल बैंकिङ प्रणालीमा करिब ६ खर्ब १५ अर्ब रुपैयाँ अधिक लगानीयोग्य रकम रहेको छ। राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र ७ दिने तथा १४ दिने रिपो र आन्तरिक ऋणमार्फत तरलता प्रशोचन गरिरहेको छ।

बढ्दो तरलता र न्यून कर्जा प्रवाहका कारण निक्षेप र कर्जाको ब्याजदर दुवै घट्दै गएको छ। चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूको औषत आधारदर ९.०६ प्रतिशतमा झरेको छ।

गत वर्षको सोही अवधिमा वाणिज्य बैंकको आधारदर १०.७२ प्रतिशत रहेको थियो। अर्थात गत वर्षको माघको तुलनामा चालु आर्थिक वर्षको माघमा बैंकहरूको आधार दर १.६६ प्रतिशत बिन्दुले घटेको छ।

यस्तै विकास बैंकहरूको आधारदर ११.१३ प्रतिशत र वित्त कम्पनीहरूको आधारदर १२.७० प्रतिशत कायम भएको छ। 

पुस मसान्तमा वाणिज्य बैंकहरूको औषत कर्जाको ब्याजदर ११.०८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कर्जाको ब्याजदर १३.०३ प्रतिशत रहेको छ। यस अवधिमा विकास बैंकहरूको औषत कर्जाको ब्याजदर १२.८५ प्रतिशत र वित्त कम्पनीको आधार दर १३.९३ प्रतिशत कायम भएको छ। 

यस्तै यस अवधिमा बैंकहरूको अन्तर बैंक ब्याजदर ३.०४ प्रतिशत कायम भएको छ। अघिल्लो वर्षको माघ महिनामा बैंकहरूको अन्तर बैंक ब्याजदर ५.२९ प्रतिशत रहेको थियो।

यस अवधिमा ९१ दिने ट्रेजरी बिलको औषत ब्याजदर ३.३४ प्रतिशतमा सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ९.९७ प्रतिशत रहेको थियो। अर्थात सरकारले उठाएको आन्तरिक ऋणको ब्याजदर दोबरभन्दा बढीले सस्तो भएको छ।


प्रकाशित : आइतबार, फागुन २७ २०८०१५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend