शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

भुक्तानी सन्तुलन २ खर्ब ९७ अर्बले बचतमा, विदेशी मुद्रा सञ्चितिले १२.३ महिनाको आयात धान्ने

आइतबार, फागुन २७ २०८०
भुक्तानी सन्तुलन २ खर्ब ९७ अर्बले बचतमा, विदेशी मुद्रा सञ्चितिले १२.३ महिनाको आयात धान्ने

काठमाडौं- चालु आर्थिक वर्षमा मुलुकको बाह्य क्षेत्र निकै सुविधाजनक अवस्थामा रहेको छ। आन्तरिक अर्थतन्त्र संकुचित हुँदा आयात घटेकाले मुलुकको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको हो। 

राष्ट्र बैंकले सार्वजनिक गरेको ७ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार मुलुकको शोधान्तरस्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ। यस अवधिमा रेमिट्यान्स आप्रवाह २१.६ प्रतिशतले बढेर ८ खर्ब ३९ भित्रिएको छ।

यस्तै यस अवधिमा आयात भने २.३ प्रतिशतले घटेर ८ खर्ब ९७ अर्ब ९४ अर्बको मात्रै भएको छ। व्यापार घाटा भने १.८ प्रतिशतले घटेर ८ खर्ब ११ अर्ब कायम भएको छ। रेमिट्यान्समा भएको उच्च वृद्धि र आयातमा आएको गिरावटका कारण मुलुकको बाह्य स्थिति बलियो देखिएको हो।

समीक्षा अवधिमा चालु खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ। गत वर्षको यसै अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो।

चालु आर्थिक वर्षको सुरुवातबाटै चालु खाता बचतमा रहँदै आएको छ। यस्तै गत वर्षको यसै अवधिमा शोधनान्तरस्थिति १ खर्ब २८ अर्ब ५५ करोड रुपैयाँले बचतमा रहेको थियो।

चालुखाता र शोधनान्तरस्थिति बचतमा रहेकाले विदेशी मुद्राको सञ्चितिसमेत उल्लेख्यरुपमा बढेको छ। गत असार मसान्तसम्ममा ११ अर्ब ७१ करोड डलर सञ्चिति रहेकोमा माघ मसान्तसम्म बढेर १९ अर्ब ८९ करोड कायम भएको छ। यस अवधिमा विदेशी मुद्राको सञ्चिति १८.६ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको ७ महिनाको आयातलाई आधार मान्दा यस्तो सञ्चितिले १४.७ महिनाको वस्तु र १२.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।


प्रकाशित : आइतबार, फागुन २७ २०८०१५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend