आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

परम्परागत खेती छाडेर कफीखेतीमा गुल्मीका कृषक

images
शनिबार, फागुन २६ २०८०
images
परम्परागत खेती छाडेर कफीखेतीमा गुल्मीका कृषक

प्रत्येक घरमा ५० देखि दुई हजारसम्म कफीका बोट छन्। तीन वर्षअघि रोपेका बोटले फल दिन सुरु गरेपछि कृषक उत्साहित बनेका छन्।

images
images

गुल्मी- गुल्मीमा परम्परागत कृषि पेसा गर्दै आएका कृषक आजभोलि कफीखेतीमा लागेका छन्। जिल्लाको मदाने गाउँपालिका-३ अन्तर्गत सिर्सेनीस्थित तोरेटाका कृषकले बारीमा मकै र कोदो लगाउन छोडेर कफीखेती सुरु गरेका हुन्।

images
images
images

यहाँका कृषकको रोजाई यतिबेला परम्परागतरूपमा उत्पादन गरिने मकै र कोदोलाई छाडेर कफीखेतीमा परेको छ। प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजनाले कृषकलाई व्यावसायिकरूपमा कफीखेती गर्न उत्प्रेरित गरेको हो।

images
images

परियोजनाले कृषकलाई कफीको उत्पादन र महत्वबारे जानकारी गराउँदै खेतीका लागि अनुदान उपलब्ध गराउन सुरु गरेपछि कृषक कफीखेतीमा आकर्षित बनेका हुन्।

images
images

परम्परागत खेतीबाट बादर, बदेँल, दुम्सी तथा चराचुरुङ्गीबाट हैरानी खेप्दै आइरहेका अवस्थामा कफीखेती कृषकको लागि अन्य बाली उत्पादनको तुलनामा थप सजिलो बनेको छ।

सिर्सेनीका कृषकले समूहमार्फत गाउँमा तीनधारे कफी उत्पादन कृषक समूह गठन गरेका छन्। तीन वर्षअघि गठन भएको उक्त संस्थामार्फत यहाँका प्रत्येक घरधुरीले व्यावसायिकरूपमा कफीखेतीको सुरुआत गरेका हुन्। प्रत्येक घरमा ५० देखि दुई हजारसम्म कफीका बोट छन्। तीन वर्षअघि रोपेका बोटले फल दिन सुरु गरेपछि कृषक उत्साहित बनेका छन्। 

सिर्सेनी टोरेटाका कृषक मेघलाल अर्याल यस क्षेत्रमा सबैभन्दा धेरै कफी लगाउने कृषकमध्येमा पर्छन्। उनको बारी यतिबेला दुई हजारभन्दा कफीका बोटले ढपक्कै ढाकेको छ। चाँडै हुर्किएका बोटले उत्पादन दिन सुरु गरेको उनले बताए।

'विगतमा मकै र कोदो रोप्दै आएका बारीहरू अहिले सबै कफीले ढपक्क ढाकेका छन्', अर्यालले भने, 'दश रोपनी जग्गामा सबै कफी लगाएको छु।' उनीजस्तै सोही गाउँका शशिधर अर्यालले सुरुमा बिरुवा हुर्काउन समस्या परे पनि अहिले कफीखेतीले आशा जगाएको बताए।

परियोजना गुल्मीकी प्रमुख गंगाकुमारी पोख्रेलले व्यावसायिक कफीखेतीको विस्तारका लागि कार्यालयकातर्फबाट बिरुवा, मल, सिँचाइ, छहारीका लागि नेटजालीलगायतमा अनुदान उपलब्ध गराउँदै आइएको बताइन्। साथै गाउँमा कफी पाठशाला सञ्चालन गरेर कृषकलाई व्यावसायिक र प्राविधिक ज्ञान दिने गरिएको उनले जानकारी दिइन्।

जिल्लामा कफीखेतीमा कृषकको आकर्षण बढे पनि समयसमयमा देखिने गवारो, ढुसी र डढुवा संक्रमणका कारण कफीका बोटमा क्षति पुग्ने गरेको कृषकले गुनासो गर्दै आएका छन्। समयमै यस्ता समस्याको समाधान गर्नसकेमा जिल्लामा व्यावसायिकरूपमा कफीखेती गर्ने कृषकको सङ्ख्यामा उल्लेखनीयरूपमा वृद्धि हुने जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताए।

गुल्मीमा अहिले दुई सय ४१ हेक्टर क्षेत्रफलमा कफीखेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ। जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ३० मेट्रिकटन कफी उत्पादन भएको थियो। सोअन्तर्गत आठ टन ग्रिनविन मात्र तेस्रो मुलुकमा निर्यात भएको छ। 

पछिल्लो समयमा कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्रलगायत कार्यालयका साथै स्थानीय तहले जिल्लामा रहेका कृषकलाई कफीखेतीमा लाग्न प्रेरित गर्दै आइरहेका छन्। रासस


प्रकाशित : शनिबार, फागुन २६ २०८०१७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend