शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

राजनीतिक हेरफेरसँगै उतारचढावपूर्ण सेयर बजारमा ७० अंकको वृद्धि, आउने साता के होला?

शुक्रबार, फागुन २५ २०८०
राजनीतिक हेरफेरसँगै उतारचढावपूर्ण सेयर बजारमा ७० अंकको वृद्धि, आउने साता के होला?

उनले मंगलबार साँझ पदभारग्रहणको क्रममा पनि सेयर बजारबारे बोल्न भ्याएका थिए। सोही कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन्।

काठमाडौं- सत्तागठबन्धन परिवर्तनको प्रभाव यो साताको पुँजीबजारमा पनि देखिएको छ। तीव्र उतारचढावका बीच यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अंकले बढेको छ।

साताको पहिलो दिन आइतबारको कारोबारपछि १९६० को बिन्दुमा कायम भएको नेप्से परिसूचक अन्तिम दिनको कारोबार बिहीबार २०३०.५६ को बिन्दुमा पुगेको छ।

सत्तागठबन्धन परिवर्तनसँगै सोमबार मात्र नेप्से परिसूचक १ सय १७ दशमलव ७० अंक अर्थात् ६ प्रतिशतले बढेको थियो। उक्त दिन सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको बजारमा मंगलबार भने उच्च अंकको गिरावट देखियो। मंगलबार परिसूचक ७० दशमलव ३१ अंकले घटेर दुई हजार सात दशमलव ६९ को बिन्दुमा कायम भएको थियो।

बुधबार र बिहीबार दुवै दिन परिसूचक बढ्यो। नेप्सेका अनुसार परिसूचक बुधबार नौ दशमलव ३३ र बिहीबार १३ दशमलव ५१ अंकले बढेको थियो।

यो साता पुँजी बजारमा १३ अर्ब २२ करोड १७ लाख १७ हजार रुपैयाँ बराबरको ३ करोड ६० लाख ४४ हजार ३१ कित्ता सेयर कारोबार भएको छ। आइतबार दुई अर्ब पाँच करोड ८५ लाख ९४ हजार बराबरको ५२ लाख ३८ हजार छ सय ९६ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा सकरात्मक सर्किट लागेको सोमबार भने ३७ करोड ३७ लाख ५१ हजार बराबरको नौ लाख २० हजार तीन सय ९९ कित्ता सेयर मात्रै किनबेच भयो।

मंगलबार चार अर्ब चार करोड ५२ लाख ८२ हजार सात सय ५४ बराबरको एक करोड चार लाख दुई हजार नौ सय ४० कित्ता सेयर कारोबार भएको छ।

त्यसैगरी बुधबार तीन अर्ब ४२ करोड २४ लाख ८४ हजार बराबरको ८५ लाख २८ हजार दुई सय ५५ कित्ता र बिहीबार दुई अर्ब ५८ करोड ७३ लाख १६ हजार बराबरको ६३ लाख ७२ हजार चार सय ५२ कित्ता सेयर खरिद बिक्री भएको छ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड ७८ लाख ९५ हजार तीन सय ९४ बराबर कायम भएको छ।

सत्ता साझेदार फेरिँदा हरेक पटक लगानीकर्ता अस्थिर देखिने गरेका छन्। जसको असर दोस्रो बजारमा पर्ने गरेको छ। देशको अर्थतन्त्रको सूचक र कम्पनीको अवस्थामा लगानीकर्ताले कदम चाल्नुपर्नेमा राजनीतिलाई ठूला लगानीकर्ताले हतियार बनाउने गरेका छन्। सोही चपेटामा यो साता सेयर बजार घुम्यो।  

उतारचढावबीच घट्ने क्रम नै बढी भइरहेको बजार मनोवैज्ञानिक आधार बिन्दुबाट नै तल लागिरहँदा लगानीकर्ताले नयाँ सत्ता समीकरणसँग आश गरेको देखिएको छ। अबको बजार कता जान्छ भन्ने अनुमान सरकारले दिने भरोसापछि मात्र थाहा हुने संगठित लगानीकर्ताहरू बताउँछन्।

यत अर्थमन्त्री पुन पनि लगानीकर्ता विश्वस्त पार्नमा केन्द्रित भएको देखिन्छ। उनले मंगलबार साँझ पदभारग्रहणको क्रममा पनि सेयर बजारबारे बोल्न भ्याएका थिए। सोही कारण पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन्।

नवनियुक्त अर्थमन्त्री पुनले बुधबार साँझ मन्त्रालयमा सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्ने बताएका थिए। मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताएका थिए। अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने भन्दै उनले सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने सम्म बताउन भ्याएका थिए।


प्रकाशित : शुक्रबार, फागुन २५ २०८०१४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend