शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बिहीबार , फागुन २४ २०८०
बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

अर्थतन्त्रमा आएको संकुचन र बैंक वित्तीय संस्थाहरूको पुँजीकोषमा रहेको दबाबका कारण कर्जा प्रवाह नबढेकाले बैंकिङ प्रणालीमा करिब ६ खर्ब १५ अर्ब अधिक लगानीयोग्य रकम रहेको छ।

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १४ दिने रिपो उपकरणमार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको छ। तरलता बढी भएका बैंक वित्तीय संस्थाहरूले ५० अर्ब निक्षेप सुविधाको उपयोग गर्नका लागि फागुन २४ गते ३ बजेसम्ममा बोलकबोलका लागि आवेदन दिनसक्ने छन्।

प्राप्त बोलकबोलका आधारमा सोही दिन बैंकहरूले निक्षेप संकलन सुविधा प्राप्त गर्नेछन्। उक्त उपकरण चैत ८ गते परिपक्व हुनेछ। राष्ट्र बैंकले आह्वान गरेको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले आवेदन दिनसक्ने छन्। 

अर्थतन्त्रमा आएको संकुचन र बैंक वित्तीय संस्थाहरूको पुँजीकोषमा रहेको दबाबका कारण कर्जा प्रवाह नबढेकाले बैंकिङ प्रणालीमा करिब ६ खर्ब १५ अर्ब अधिक लगानीयोग्य रकम रहेको छ।

बैंकहरूको औषत कर्जा निक्षेप अनुपात ८० प्रतिशतमा झरेको छ। पछिल्लो समय ब्याजदर घट्दै गएपनि व्यापार व्यवसायमा आएको शिथिलताले कर्जा लगानी बढ्न सकेको छैन। जसका कारण बैंकिङ प्रणालीमा अधिक तरलता अवस्थामा छ। 

राष्ट्र बैंकले ब्याजदर कोरिडोर सीमाहरू घटाएको छ। चालु आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले ब्याजदर कोरिडोरको माथिल्लो सीमा स्थायी तरलता सुविधा दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशत कायम गरेको छ। यस्तै बैंक दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत र निक्षेप संकलन दर ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको छ। 

जसले गर्दा बैंकहरूको अन्तर बैंक ब्याजदर घट्दोक्रममा रहेको छ। बैंकिङ प्रणालीभित्र रहेको अधिक तरलताका कारण अन्तर बैंक ब्याजदर न्यून बिन्दुमा आएपछि राष्ट्र बैंकले निक्षेप संकलन दर घटाएर बैंक ब्याजदरलाई वाञ्चित सीमाभित्र राखेको छ। 

निक्षेप संकलन दरलाई थप प्रभावकारी बनाउन राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षामार्फत स्थायी निक्षेप सुविधामार्फत बैंकहरूको तरलता प्रशोचन गरिरहेको छ। 

चालु आर्थिक वर्षको सुरुवातबाटै अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर निरन्तररुपमा घट्दै गएपनि राष्ट्र बैंकले प्रणालीबाट तरलता प्रशोचन गरेका थिए। 

ब्याजदर थप घटोस् भन्ने मनसाय राखेर तरलता प्रशोचन नगरेको राष्ट्र बैंकले दाबी गर्दै आएको थियो। यद्यपी अन्तर बैंक ब्याजदर १ प्रतिशतभन्दा पनि तल झरेपछि मंसिर ७ गतेबाट राष्ट्र बैंकले निरन्तरुपमा ७ दिने तथा १४ दिने मौद्रिक उपकरणमार्फत राष्ट्र बैंकले तरलता खिच्दै आएको छ। 

राष्ट्र बैंकले फागुन १५ गतेबाट स्थायी निक्षेप संकलन सुविधा दिएसँगै बैंक वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा ४ खर्ब ६५ अर्ब हाराहारीमा निक्षेप राखेका छन्। बुधबार मात्रै बैंकहरूले ४३ अर्ब ८० करोड रुपैयाँ राष्ट्र बैंकमा निक्षेप राखेका छन्। 

बैंकिङ प्रणालीमा अधिक हुँदा राष्ट्र बैंकले रिपो तथा स्थायी निक्षेप सुविधामार्फत तरलता प्रशोचन गर्दछ भने प्रणालीमा तरलता अभाव हुँदा स्थायी तरलता सुविधा र रिभर्स रिपोमार्फत प्रणालीमा तरलता इन्जेक्ट गर्दै आएको छ।


प्रकाशित : बिहीबार , फागुन २४ २०८०१२:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend