काठमाडौं- नीतिगत बहसभन्दा नेतृत्वको चर्चा प्रधान रहने नेपाली कांग्रेसका आमभेलामा यसपटक पनि त्यस्तै भइरहेको छ। शुक्रबारबाट काठमाडौंमा सुरु भएको १४ औँ महाधिवेशनमा पनि नीतिगत र सैद्धान्तिक बहसभन्दा नेतृत्वमा को पुग्ने भन्ने चर्चाको प्रधानता छ। स्थानीय तहदेखिकै अधिवेशनहरूमा नीतिभन्दा नेतृत्वको बहसले प्राथमिकता पाइरह्यो।
नेतृत्वमा आउन चाहने अधिकांशले आफूले कांग्रेसलाई कुन नीतिगत दिशा दिन्छु भन्ने स्पष्ट पारेका छैनन्। महाधिवेशनमा महामन्त्रीको दाबेदार रहेका गगन थापाले आफ्नो दृष्टिकोण सार्वजनिक गरे पनि बाँकी नेताहरूमा राजनीतिक, आर्थिक र सैद्धान्तिक स्पष्टता छैन।
नेपाली कांग्रेसका कार्यकर्ताहरूमा नीतिगत स्पष्टता मात्रै होइन, आफ्ना नेताले अघि बढाएका सुधारको जस लिने आँट पनि छैन। ३० वर्षको प्रतिबन्धपछि २०४८ सालमा बहुमतसहित सत्तारोहण गरेको नेपाली कांग्रेसको सरकारले सुरु गरेको पहिलो चरणको आर्थिक सुधार, आर्थिक उदारीकरण र कमजोर सार्वजनिक संस्थानको निजीकरणको मुद्दालाई कांग्रेसका आम कार्यकर्ताले 'हामीले गरेको सुधार' भन्न सक्दैनन्।
आम कार्यकर्तामात्रै होइन यो सुधारका क्रममा अर्थराज्यमन्त्री रहेका महेश आचार्य पनि आर्थिक नीतिको बहसमा उति रुचि राख्दैनन्। यो बहसको नेतृत्व लिने एकमात्रै व्यक्ति हुन् डा रामशरण महत। महत यस्ता पात्र हुन् आम विपक्षीले यही नीतिको प्रखर आलोचना गरेर कांग्रेस र विशेष गरी महतको चर्को आलोचना गरे पनि उनले आफ्नो दृढता सधैँ कायम राखेका छन्।
महेश आचार्यले अहिले कांग्रेसको उपाध्यक्षका लागि उम्मेद्वारी दिएका छन्। उनी आफैँ पनि उक्त नीतिको न बलियो बचाउमा उत्रिएका छन् न वैकल्पिक 'रोडम्याप' दिन सकेका छन्।
महत पटकपटक अर्थमन्त्री भए। उनीमात्र एक्ला नेता हुन् जो कांग्रेसको त्यो नीतिको बचाउमा अडिग छन्। मञ्च र मौका पाउनेबित्तिकै आफ्नो नीतिको बचाउ गर्न उत्रिन्छन्। त्यही व्यवस्थाको बचाउ र सुधारका लागि उनी अहिलेसम्म पनि बोल्न पछि हट्दैनन्।
डा महत नीतिको बचाउमा मात्रै होइन, आर्थिक राजनीतिक विषयमा आफ्नै बुझाइ र अडान भएका नेता हुन्। खुला र उदार अर्थव्यवस्थाबाट मात्र बलियो लोकतन्त्र स्थापित हुन्छ भन्नेमा उनी चट्टानजस्तै अडिग छन्। अर्थतन्त्र, विकास र समृद्धिका बारेमा उनको दृष्टिकोण र निरन्तरको पैरवीले डा महतलाई नेपालमा उदारीकरणको नायकको रूपमा स्थापित गरेको छ।
तर महतपछिको पुस्ताका नेताहरूमा उनको जस्तो गुण भएको त्यस्तो नेता देखिएको छैन। कांग्रेसका अधिकांश केन्द्रीय नेताहरूमा एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनसम्म गुटको प्यालनमा कसरी पर्ने, चुनावमा कसरी टिकट पाउने भन्नेमै सीमित छन्।
देशकै ठूलो तथा पुरानो लोकतान्त्रिक पार्टीको विधानमा लेखिने तथा छलफलमा देखिनेबाहेक कुनै पनि नेतामा यस्तो बुझाइ देखिँदैन। यसको ज्वलन्त उदाहरण अहिलेको सरकार हो। अहिले केन्द्रीय सरकार नेपाली कांग्रेसको नेतृत्वमा छ। तर यो सरकारको आर्थिक नीति के हो? सुधारका योजना के हुन्? घोषणामै सीमित भए पनि यस्तो कुरा बाहिर आएको छैन।
व्यवहारिकरूपमा त कांग्रेस नेतृत्वको सरकार अर्थतन्त्रप्रति बेखबर छ। अर्थतन्त्र गम्भीर संकटोन्मुख छ। यसका बारेमा प्रधानमन्त्रीको कुनै पनि चासो छैन। अर्थ मन्त्रालयको जिम्मेवारी सत्ता साझेदार माओवादीलाई दिएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको अर्थतन्त्रप्रतिको संवेदनहीनतालाई प्रदर्शन गरेका छन्।
केन्द्रमामात्र होइन, कांग्रेसले दुई प्रदेशमा सरकारको नेतृत्व गरेको छ। ती दुबै प्रदेशमा अर्थ मन्त्रालयको जिम्मेवारी आफूले लिएको छैन।
को होला रामशरण महतको उत्तराधिकारी?
रामशरण महत कांग्रेसमा सक्रियरूपमा सहभागी हुँदा उनको विचार तथा सिद्धान्तलाई प्रतिवाद गर्ने अरू नेताहरू पनि थिए। उनको नीतिका विरुद्धमा प्रदीप गिरिजस्ता नेताहरूले अहिलेसम्म पनि सशक्त प्रतिवाद गरिरहन्छन्। तर पछिल्लो पुस्तामा न महतजस्ता नेता छन् न गिरिजस्ता नेता।
आर्थिक नीतिमा पकड भएका र नेतृत्व लिएर पार्टीलाई दिशानिर्देश गर्नसक्ने नेता को आउन सक्छ? के यो महाधिवेशनले त्यस्तो नेतालाई स्थापित गर्ला? पार्टीमा त्यस्तो सम्भावना सधैँ हुने राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष डा गोविन्दराज पोखरेल बताउँछन्। नीतिगत निरन्तरतामै नयाँ खोजी गर्ने प्रतिभावान नेतृत्वको प्रवेश हुनसक्ने उनको विश्वास छ।
यही महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएका पोखरेल कांग्रेसले सुरु गरेको व्यवस्थाले अहिलेसम्म निरन्तरता पाए पनि यसमा केही कुरा थपेर अझै समृद्ध बनाउनुपर्ने उनको भनाइ छ।
‘डा महतले नेतृत्व गर्नुभएको नीतिमा अब केही कुरा थप गर्नुपर्छ। जस्तो अहिले शिक्षा र स्वास्थ्यलाई राज्यको अनिवार्य जिम्मेवारी स्थापित गरेर देशको आर्थिक व्यवस्थाको डिजाइन गर्नुपर्छ। हामीले यसमा बहस चलाउनुपर्छ,’ उनले भने।
डा पोखरेल एउटा त्यस्तो सम्भावना भएका नेता हुन्। योजना आयोगको उपाध्यक्ष भएर काम गरेका र पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय पोखरेलसँगै अरु केही नेताहरू छन् जसले महतको नीतिगत विरासतलाई अघि बढाउन सक्छन्।
संयुक्त राष्ट्रसंघको जागिरदेखि नेपाल अर्थनीतिको नेतृत्वकर्ता महतले पार्टी राजनीतिमा आफूलाई शीर्ष तहमा स्थापित गराउने अवसर गुमाएका छन्। रुखो स्वभाव र स्पष्टरूपमा कार्यकर्तालाई जवाफ दिने महतको स्वभावले उनलाई आम कार्यकर्तामाझ लोकप्रिय बनाउन सकेन।
राजनीतिकरूपमा प्रतिबन्धित अवस्था होस् या राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा होस् महतले आफूलाई लेखापढीमा सक्रिय राखिरहे। सन् २००५ मा उनले 'इन डिफेन्स अफ डेमोक्रेसी' पुस्तक लेखे र अरुण ३ जलविद्युत आयोजनाबाट विश्व बैंक बाहिरिनु नेपाली अर्थतन्त्र र विकासका लागि दुर्भाग्यपूर्ण रहेको स्पष्ट उल्लेख गरे। उनले '१९ पृष्ठ लामो च्याप्टर'मा 'अरुण तेस्रोको क्षति' शीर्षकमा विरूप राजनीतिका कारण नेपालले गुमाएको अवसरबारे उल्लेख गरेका छन्।
नेपालको राजनीतिमा आफूलाई सँधै 'पपुलर' राख्न चाहने नेताहरू कांग्रेसले सुरु गरेको आर्थिक उदारीकरणको नीतिको सट्टा बामपन्थीले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको बचाउमा लागिहेका छन्। सन् १९९० को दशकमा सुरु भएको पहिलो चरणको आर्थिक सुधारले नेपाली अर्थतन्त्रको विस्तारमा बसालेको जगले सिर्जित लाभभन्दा क्षणिक वितरण र त्यसबाट लाभ देख्ने प्रवृत्तिले कांग्रेसभित्र महतहरू अलोकप्रिय पात्रको रूपमा चिनिँदै गए।
२०७४ सालको निर्वाचनमा कांग्रेसले पराजय भोगेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा कांग्रेस केन्द्रीय समिति बैठकको आयोजना गरे। बैठकमा त्यतिबेलाका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महतको नामै लिएर 'रामशरण दाइले पैसा नबाँड्दा हामी हार्यौँ, विष्णु पौडेलले बाँड्न सक्ने हामीले किन सकेनौँ' भनेर प्रश्न उठाए। कार्कीको यो प्रश्नपछि महतले 'तपाईंहरू मात्रै जान्नुहुन्छ, म हिँडे' भन्दै बैठक कक्षबाट बाहिरिए।
को हुन सक्छ उत्तराधीकारी?
६ पटकका अर्थमन्त्री भएका ७० वर्षीय महतलाई सन् २०१५ मा बेलायतको प्रसिद्ध म्यागेजिन दि ब्यांकरले संसारकै उत्कृष्ट अर्थमन्त्रीको अवार्ड दियो। २०७२ को भूकम्पबाट ध्वस्त अर्थतन्त्रको शीघ्र पुनरोत्थानका लागि महतले गरेको प्रयासको कदर थियो यो।
कांग्रेसमा महतभन्दा अघि अर्थमन्त्री भएका महेश आचार्यले आर्थिक नीतिको बहस छाडिसकेका छन्। महतपछि अर्थमन्त्री हुन पाएका ज्ञानेन्द्रबहादुर कार्कीलाई पनि आर्थिक बहसमा न चासो छ न रुचि नै। कार्की अर्थमन्त्री हुँदा अर्थ राज्यमन्त्री भएका उदयशमशेर राणा अर्थशास्त्र र अन्तर्राष्ट्रिय राजनीतिका विद्यार्थी हुन्। तर उनले पनि खुलेर आर्थिक बहसमा आफ्नो भूमिका बढाउन सकेका छैनन्।
कांग्रेसले महतलाई जस्तै भूमिका डा स्वर्णीम वाग्लेलाई दिन खोजेको थियो। योजना आयोगको सदस्य हुँदै उपाध्यक्ष बनाइएका वाग्ले कांग्रेसको सक्रिय राजनीतिक सिनमा छैनन्। कोरोना महामारी सुरु भएपछि राष्ट्रसंघको सल्लाहकारको भुमिकामा गएका थिए। नेपाल फर्किनेगरी अमेरिका गएका वाग्ले आगमी निर्वाचनमा चितवन, गोरखा वा काठमाडौंबाट चुनाव उठ्ने र त्यहीबाट काँग्रेसको राजनीतिमा अौपचारिक डेब्यु गर्ने सम्भावना बलियो छ।
कांग्रेसले अर्का अर्थशास्त्री डा विश्व पौडेलको परीक्षण गर्दैछ। योजना आयोगको उपाध्यक्ष भएपछि पौडेललाई कांग्रेसको आर्थिक नीतिको एक योजनाकारको रूपमा आँकलन गर्न थालिएको छ। उनले आफूलाई कसरी प्रस्तुत गर्छन् त्यो हेर्न बाँकी छ।
नीतिगत अस्पष्टता नै मूल चरित्र
कांग्रेसको जारी महाधिवेशनबाट आउने नेतृत्वले आगामी दिनमा पार्टी र देशलाई कस्तो नीतिसहित डोहोर्याउँछन् त्यो हेर्न बाँकी छ। तर नेतृत्वमा आकांक्षा गरिरहेकाहरूको तर्क सुन्ने हो भने उनीहरू आर्थिक नीतिको बहसमा ध्यान दिएका छैनन्।
कांग्रेसमा आफ्नै अडान भएका नेताहरूको कमी छ। कांग्रेसमा अहिले यस्ता नेताहरूको संख्या धेरै छ जो आफ्नो गुटको ठूलो नेताले जे भन्छ त्यही बोल्ने गरेका छन्। स्पष्ट भिजन र विचार भएका नेताहरूको संख्या केन्द्रीय समितिमा न्यून छ। यस्तोमा अब आउने केन्द्रीय समितिमा नयाँ नेताहरू आउने सम्भावना पनि न्यून छ। विचारमा अस्पष्टता नै उनीहरूको मूल चरित्र बनेको छ।
पछिल्लो समय कांग्रेसका नेता कार्यकर्तामा एउटा अन्यौलको विषय छ। कांग्रेसकै नेता कार्यकर्ताहरूले आफ्नै पार्टीले सुरु गरेको आर्थिक सुधार तथा राजनीतिक व्यवस्थाको बचाउन गर्नसक्ने अवस्थामा छैनन्। यो अवस्था चिर्न महतको उत्तराधीकारी को निस्किन्छ अब हेर्न बाँकी छ।