काठमाडौं- सन् २०१२ मा हो निर्मल पुर्जा मगरले हिमाल चढ्ने सपना अघि बढाएका। आधार शिविरसम्मको यात्रा गर्दा सगरमाथा चढ्ने अठोट गरेका पुर्जाले अहिले हिमाल आरोहणमा हिमाल जस्तै उचो कद बनाएका छन्।
सात महिनामा विश्वका अग्ला १४ हिमाल चढ्छु भन्दा निर्मल पुर्जा मगरलाई हेरेर पहिले त मानिस हाँस्थे। हिमालसँग नजिक रहेकाहरूले नै विश्वास गर्न गाह्रो पर्ने साहसिक काममा बढेका पुर्जाले असम्भव देखिने आरोहण सम्भव बनाए।
‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल ६ महिना ६ दिनमा चढेका पुर्जा आफ्नो कामले मानव जातिकै साहस र कर्मको कथा भनेको विश्वास गर्छन्। सकारात्मक सोच र मेहनतले हरेक कुरा सफल हुन्छ भन्ने ठान्ने पुर्जालाई हेर्दा लाग्छ, साच्चै नसकिने भन्ने काम नै पो छैन कि!
हुन पनि लगातार हिमाल आरोहण गर्नु हिमाल आरोहणकै काममा रहेकाहरुलाई पनि चुनौतीपूर्ण नै लाग्छ। बेलायती पूर्वसैनिकसमेत रहेका म्याग्दीका पुर्जाले यही अदम्य साहसका लागि नै हुँदा खाँदाको जागिर छाडेर हिँडेका थिए। कतिले उनलाई मूर्ख भने कतिले आँटिलो।
सन् २००३ मा ब्रिटिस सेनामा गएका पुर्जा आरोहणको सपना लिएरै सेनाबाट बाहिरिएका थिए। सेनामा रहँदाका १६ वर्षमध्ये उनी १० वर्ष त 'स्पेशल फोर्स'मा नै थिए। त्यसमा भएका धेरै अभ्यास र ज्ञान उनका लागि हिमालमा पनि काम लाग्यो नै।
आफू कुनै कीर्तिमान बनाउन हिमाल नचढेको बताउने पुर्जाले गरेका कामले भने हरेक पटक केही कीर्तिमान बनिरहेका छन्। उनले आफ्नै नाममा रहेको सगरमाथा, लोत्से र मकालुको पाँच दिनमा गरेको आरोहण कीर्तिमान ४८ घण्टामा पूरा गरेबाट पनि उनको साहसले नयाँ उचाइ पाएको थियो।
२०७६ साल वैशाख १० गते ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट सात महिनामा १४ हिमाल चढ्ने यात्रा सुरु गरेका पुर्जाले त्यसको १८ दिनपछि वैशाख २९ मा नै ८ हजार १ सय ६७ मिटर अग्लो धवलागिरी हिमाल चढे।
धवगागिरी चढेको दुई दिनपछि जेठ १ गते उनले ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा, जेठ ८ गते ८ हजार ८ सय ४८ मिटरको सर्वोच्च शिखर सगरमाथा र ८ हजार ५ सय १६ मिटरको लोत्से साथै जेठ १० गते ८ हजार ४ सय ८१ मिटरको मकालु हिमालको सफल आरोहण गरे।
मकालुपछि पहिलो चरणको विश्राम गरेर पुर्जाले पाकिस्तानको ८ हजार ६ सय ११ मिटर अग्लो माउन्ट केटु, ८ हजार १ सय २६ मिटर अग्लो नागा पर्वत, ८ हजार ४७ मिटर अग्लो ब्रोड पिक, ८ हजार १० मिटर अग्लो जी वान र ८ हजार ३५ मिटर अग्लो जी टु साथै तिब्ततमा रहेको ८ हजार १ सय ८८ मिटर अग्लो चो यु र ८ हजार २७ मिटर अग्लो शिशापाङ्गमा साथै नेपालकै ८ हजार १ सय ६३ मिटर अग्लो मनासलु हिमाल आरोहण गरे।
१४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गरेका पुर्जाले भन्दाअघि १४ हिमाल आरोहणको कीर्तिमान ७ वर्ष, ११ महिना १४ दिनको रहेको थियो। जसलाई पोल्याण्डका जर्जी कुकुज्काले सन् १९८७ मा पूरा गरेका थिए। त्यसअघि १६ वर्ष लगाएर सन् १९८६ मा इटालीका रिइनहोल्ड मेस्नेरले पनि ८ हजार मिटर अग्ला १४ हिमाल चढेका थिए।
त्यही कामलाई पुर्जाले ७ महिनामा आँटेकैले उनलाई मानिसहरु मुर्खको संज्ञा दिइरहेका थिए। हुन पनि केही नौलो काम गर्न थोरै मुख्र्याइँ चाहिने भएरै पनि हो कि पुर्जा आफूले आँटेको काम दृढ भएर पूरा गरे।
विसं २०७६ वैशाखमा अन्नपूर्ण हिमालबाट आरोहण सुरु गरेका पुर्जाले ०७६ कात्तिकमा चीनको सिसापाङ्गा हिमाल आरोहणसँगै सबैभन्दा कम समयमा ८ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहणको कीर्तिमान आफ्नो नाममा गराए।
'तपाईं साच्चिकै जीवनमा केही गर्न चाहनुहुन्छ भने त्यसका लागि आफ्नो शतप्रतिशत मेहनत लगाउनुहुन्छ, मन र मस्तिष्कबाट त्यसमा लाग्नुहुन्छ र सफल बन्नुहुन्छ' ६ महिना ६ दिनमा १४ अग्ला हिमाल चढेपछि पुर्जाको पहिलो प्रतिक्रिया थियो, 'मैले हिमाल चढ्ने यो अभियानको आँटे सकिन्छ भन्ने सन्देश पर्वतारोहण क्षेत्रमा मात्र नभएर सबै मानिसका लागि हो।'
हिमाल आरोहणको अदम्य साहसलाई मानव जातीको पराक्रमसँग जोडेर हेरिरहेका पुर्जाले आरोहणकै क्रममा मानवीयताको मीठो सन्देशसमेत फैलाइरहेका थिए। मौसम र अन्य कठिनाइका कारण समस्यामा परेका अन्य आरोहीलाई समेत सहयोग गर्दै अघि बढेका पुर्जाले नेपाली मनले विश्वलाई हिमालसँग थप नजिक बनाइरहे।
पुर्जाको टोली पहिलो चरणमा अन्नपूर्णमा चढेर फर्किंदा चौथो क्याम्पमा आइपुग्दा एक आरोही हराएको भन्ने सुने। अन्नपूर्णमा हराएका सिंगापुरका डाक्टर विइ किन चिनलाई पुर्जाकै साहसले भेटिएको थियो। ‘त्यो समय ‘प्रोजेक्ट पोसिबल’ लाई बिर्सिएर हामी हराएकाको खोजीमा लागेका थियौँ। हुन पनि मान्छेको जीवनभन्दा ठूलो कुरा अर्को छैन, तर पनि मेहनतका बाबजुद हामीले बचाउन सकेनौँ’ उनले सुनाए।
यस्तै पुर्जाको टोलीले कञ्चनजङ्घामा भारतीय आरोही विप्लव बैद्य, कुन्तल करारलाई पनि आफूले लगेको अक्सिजन दिएर सहयोग गरेका थिए। अन्नपूर्णमा बाटो पहिल्याउन नै चार पटकसम्म लागेको उनलाई धवलागिरीमा भने हावाको तीब्र गतिका कारण केही कठिनाइ आइपरेको थियो। सगरमाथामा परेको आरोहीको जामका बारेमा त खबरहरू विश्वभर फैलिएको थियो। जसमा उनै पुर्जाले खिचेको तस्बिर चर्चामा रह्यो।
‘हामी सबैको जीवनमा केही न केही कथा हुन्छ। जीवन जिउन केही ठूला कारण आइदिँदा तब परिवार र नजिकका साथीले केही सम्झौता गरिदिनु पर्छ’ आरोहणमा जानुअघि आमासँग बिदाइ भएको तस्बिर इन्स्टाग्राममा राख्दै उनले लेखेका थिए, ‘बेलायती सेनामा हुँदा परिवारलाई सहयोग गरिरहेको म अहिले भने फरक भएको छ। आमालाई मैले हिमाल चढेको मनै पर्दैन। त्यही पनि उहाँले मेरो मिसनका लागि शुभकामना दिनुभएको छ।’
यसबाट पनि पुर्जाले हिमाल आरोहणको कठिन यात्रामा कसरी साहस जुटाए भन्ने थाहा हुन्छ।
‘हिमालको वातावरण मेरो शरीर अनुकुल नै छ । तर मानिसहरू मैले असम्भव काम आँटेको बताइरहेका थिए’ उनले भने, ‘विश्वमा मानव जाति जस्तो गजव कुरा अरु केही छैन। आँट्ने हो भने सकिन्छ, होइन भने बेलायती आर्मीको जागिर छाडेर म किन यहाँ आए त?’
उनलाई लाग्छ मानिस कहाँबाट आयो भन्नेभन्दा महत्वपूर्ण मान्छेले के गर्यो भन्ने हुन्छ। आफूलाई कमजोर सोचर पछाडि पर्न जरुरी छैन। आँट गरेर अगाडि बढ्ने हो भने विश्व जित्न सकिन्छ। जसरी पुर्जाले जिते। मानव जातिको जित देखाए।
‘यो मेरो कसैसँग प्रतिस्पर्धा होइन, घमण्ड पनि होइन, आफ्नो विश्वास र सपनाको यात्राको निरन्तरता मात्रै हो’ उनी भन्छन्, ‘मैले जे गरेँ त्यो राष्ट्रिय गौरवकै काम हो जस्तो लाग्छ। मानव जातिकै कर्मको विश्वास बढाउन केही गर्न सकेँ कि भन्ने लाग्छ।’
पुर्जाका लागि कुनै हिमाल सजिलो या कुनै हिमाल अप्ठ्यारो भन्ने भएन। उनलाई हिमाल आरोहणमा सबै कुरा मिल्दै जाँदा पनि सहज हुने लाग्छ। हुन पनि विश्वमै सजिलो भनिएका हिमालले नै आफूलाई ठूला पाठ सिकाएको उनी सुनाउँछन्।
हुन त सुरूमा सोच आउँदा यो सम्भव हुन्छ भन्ने पूरा विश्वास त पुर्जा स्वयमलाई पनि थिएन। आँटले मात्र हुने होइन, त्यसमा जोडिने आर्थिक पक्षले पनि यसै होला भन्ने अवस्था थिएन। तर विश्वभरबाट जुटेको सहयोगका साथै आफ्नै घरसमेत बेचेर पुर्जाले आँट अदम्य उचाइको अघि पैसालाई बाधा बन्न दिएनन्।
पुर्जाको त्यही साहसको कथा अहिले घर-घरबाटै सबैले अनुभव गर्न पाइरहेका छन्। ‘१४ पिक्सः नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री फिल्ममार्फत। पुर्जाले आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण यात्राको सेरोफेरोलाई समेटिएको डकुमेन्ट्री नेटफ्लिक्समार्फत सबैमाझ पुर्याइएको हो। डकुमेन्ट्री १९१ देशका १८ करोडभन्दा बढी प्रयोगकर्तासम्म पुगेको छ।
नेटफ्लिक्समा आउनुभन्दा केही दिनअघि काठमाडौंमा यसको प्रिमियर शो गरिएको थियो। यो फिल्म नेपालको सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासका लागिसमेत महत्वपूर्ण हुने आरोहण क्षेत्रमा रहेकाहरू बताउँछन्। जाडोयाममा बिनाअक्सिजन पाकिस्तानको माउन्ट केटू चढेको विश्व कीर्तिमानसमेत बनाएका पुर्जाका आधा दर्जन कीर्तिमानका कथाहरू विश्व जगतमा चर्चामै छ।
विश्वभरका सञ्चारमाध्यमहरूले पनि पुर्जाको डकुमेन्ट्रीको चर्चा गरिरहेकै छन्। उनको आरोहण अभियान सुरु भएदेखि नै उनका कथाहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छाइरहेको थियो। अहिले द टाइम्स, द गार्डियन, ग्ल्यामर म्याग जस्ता सञ्चारमाध्यमले १४ पिक्सलाई हेर्नैपर्ने फिल्मको सूचीमा राखेर पुर्जाको कामलाई महत्व दिएका छन्।
आरोही पुर्जा सपना देख्ने हरेक मानिसका लागि यो फिल्मले प्रेरणाको काम गर्ने बताउँछन्। 'यो फिल्ममा मेरो मात्रै नभएर मलाई सहयोग गर्ने सम्पूर्ण महानुभावहरुको कथा समेटिएको छ। यो फिल्म पर्वतारोहणका बारेमा मात्रै होइन संघर्ष र सफलताको दस्तावेज पनि हो' उनले भने।
पुर्जाको यो साहसको कथामा जोडिने धेरै छन्। उनलाई सहयोग गर्ने धेरै नामहरूमा मिङ्मा डेभिड, गेल्जेन शेर्पा, लाक्पा डेन्डी र गेसमान तामाङ जस्ता आरोहीहरू छुटाउन नहुने नाम हुन्। जसको साथ ‘१४ पिक्स'मा पनि देख्न सकिन्छ।
असम्भव देखिएर सम्भव भएको पुर्जाको साहसको कथा मानव जातिका लागि प्रेरणा हो। केही गरौँ भन्ने भावना भएकाका लागि आँट। यस्तो लाग्छ पुर्जाको ऊर्जामा हारको स्थान छैन। उनी जितका लागि जन्मिएका हुन्। प्रकृतिसँगको समभावमा मानवीय जितका लागि। यसैले त पुर्जा भन्छन्- 'हारको कथाहरू सुनेर आँट आउँदैन, आफैसँगको प्रतिस्पर्धामा जितले सधैँ हौसला थपिरहन्छ।'
यसैले त पुर्जाको जितले मानव जातिकै हौसला बढेको छ। त्यसलाई देखेर भन्न सकिएको छ- ओहो! असम्भव केही छैन।
सबै तस्बिरहरू- निम्सदाइ