शनिबार, असार २७ गते २०८३    
शनिबार, असार २७ २०८३

१६ अर्बले बढ्यो कर्जा, कमर्सियल बैंकले २ अर्ब लगानी गर्दा विकास बैंक र वित्तीय संस्थाले दिए १४ अर्ब

मंगलबार, फागुन २२ २०८०
१६ अर्बले बढ्यो कर्जा, कमर्सियल बैंकले २ अर्ब लगानी गर्दा विकास बैंक र वित्तीय संस्थाले दिए १४ अर्ब

फागुन १९ गतेसम्ममा कुल ४४ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूबाट फागुन २० गते ४५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।

काठमाडौं- एकैदिनमा बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह करिब १६ अर्ब रुपैयाँले बढेको छ। पछिल्लो समय वाणिज्य बैंकहरूको तुलनामा विकास बैंक तथा वित्तीय कम्पनीले बढी कर्जा दिएका छन्। 

यही फागुन २० गते आइतबार भएको कुल १६ अर्ब कर्जा लगानीमध्ये १४ अर्ब रुपैयाँ विकास बैंक तथा वित्तीय संस्थाबाट र २ अर्ब रुपैयाँ वाणिज्य बैंकबाट भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

गएको शनिबारसम्म समग्र बैंकिङ प्रणालीबाट ५० खर्ब ७२ अर्ब कर्जा प्रवाह भएकोमा आइतबार बढेर ५० खर्ब ८८ अर्ब रुपैयाँ पुगेको हो। जसमध्ये वाणिज्य बैंकबाट करिब २ अर्बमात्रै कर्जा लगानी भएको छ।

फागुन १९ गतेसम्ममा कुल ४४ खर्ब ९९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरूबाट फागुन २० गते ४५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। 

१६ अर्ब रुपैयाँ कर्जामध्ये १४ अर्ब विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रवाह भएको छ। वाणिज्य बैंकबाहेकका बैंक वित्तीय संस्थाहरूले फागुन १९ सम्ममा कुल ५ खर्ब ७३ अर्ब कर्जा दिएकोमा फागुन २० गते बढेर ५ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। 

कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने कम भएको छ। यस अवधिमा बैंकिङ प्रणालीमा निक्षेप करिब २ अर्बले मात्रै बढेको छ। यस अवधिमा कमर्सियल बैंकको निक्षेप संकलन भने करिब २ अर्बले बढ्दा अन्य वित्तीय संस्थाहरूको निक्षेप स्थिर देखिएको छ।

बैंक तथा वित्तीय संस्थाहरूको औषत कर्जा निक्षेप अनुपात (सीडी) ८०.०२ प्रतिशत कायम भएको छ। कर्जा निक्षेप अनुपातका आधारमा बैंकिङ प्रणालीमा करिब ६ खर्ब १५ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। 

बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंक वित्तीय संस्थाहरूलाई स्थायी निक्षेप संकलनको सुविधा दिएको छ। मौद्रिक नीतिको दोस्रो समीक्षामार्फत राष्ट्र बैंकले यस्तो सुविधा दिएको हो। 

राष्ट्र बैंकले स्थायी निक्षेप संकलन सुविधा फागुन १५ बाट कार्यान्वयनमा ल्याएसँगै अन्तरबैंक ब्याजदर २.९१ प्रतिशत कायम भएको छ। यस अवधिमा राष्ट्र बैंकले करिब ४ खर्बभन्दा बढी रकम स्थायी निक्षेप सुविधामार्फत तरलता प्रशोचन गरेको छ। 

राष्ट्र बैंकले निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेकाले स्थायी निक्षेप सुविधामार्फत बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याज पाइरहेका छन्। 


प्रकाशित : मंगलबार, फागुन २२ २०८०१६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend