काठमाडौं- विद्युतीय कारको बजार रोचक बन्दै गइरहेको छ। नयाँ-नयाँ ब्रान्ड आउने क्रम बढेको छ भने संख्यात्मक वृद्धिले ब्रान्डहरूबीच प्रतिस्पर्धा पनि चुलिँदै गएको छ।
सरकारले विद्युतीय कार आयातमा पेट्रोलियम कारको तुलनामा कर सहुलियत दिएको, पेट्रोलियम कारमा वित्तीय सहजता कम भएको, आम उपभोक्तामा बढ्दै गएको वातावरणमैत्री सवारीको चाहनालगायत कारणले बिक्रीको ग्राफ अग्लिँदै गएको छ।
सन् २०२३ मा नेपाली बजारमा ६ हजार ७ सय ६२ वटा विद्युतीय कार आयात भएको तथ्यांक छ। जब कि २०२२ मा २ हजार २ सय ४० वटामात्र विद्युतीय कार आयात भएको थियो।
विद्युतीय कारप्रति उपभोक्ता आकर्षित हुँदै गएकाले डेढ दर्जन ब्रान्डका विद्युतीय कार २०२३ मा भित्रिएका छन् भने त्यसयता आधा दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय कार आयात भइसकेको र आयात हुने क्रममा पनि रहेका छन्। अरु नयाँ ब्रान्डसमेत ल्याउन व्यवसायिक घरानाहरू दौडधुपमा देखिन्छन्।
नेपालमा आयात भएका अधिकांश विद्युतीय कार भारत र चीनबाट आएका हुन्। पछिल्लो तथ्यांकअनुसार धेरै विद्युतीय कार चीनबाट आयात भइरहेको छ।
२०२३ मा सबैभन्दा धेरै विद्युतीय कार टाटा मोटर्सको भित्रिएको छ। टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले सो वर्ष २ हजार ५ सय ५७ वटा विद्युतीय कार आयात गरेको छ। टाटाको नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी नेपाली बजारमा बिक्री भइरहेको छ।
२०२२ मा टाटाका १ हजार ४ सय ९७ वटा विद्युतीय कार आयात भएको थियो। वार्षिक रुपमा टाटाको विद्युतीय कार आयात वृद्धि ४५ प्रतिशत हाराहारीमा रहेको छ।
त्यस्तै २०२३ मा दोस्रो धेरै विद्युतीय कार आयात गर्ने ब्रान्ड बीवाईडी हो। संसारको सबैभन्दा धेरै विद्युतीय कार बिक्रेता कम्पनी बीवाईडीका २ हजार १ सय ७७ वटा विद्युतीय कार २०२३ मा नेपाल भित्रिएको हो। बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले २०२२ को तुलनामा २०२३ मा विद्युतीय कार आयातमा छलाङ नै मारेको छ।
२०२२ मा बीवाईडीका १ सय ४२ वटा विद्युतीय कार आयात भएको तथ्यांक छ। नेपालमा बीवाईडीका एटो थ्री, ई सिक्स र सिल कार रहेका छन्।
तेस्रो धेरै विद्युतीय कार आयात हुने ब्रान्ड मोरिस ग्यारेज (एमजी) हो। २०२३ मा एमजीका १ हजार १ सय २७ वटा विद्युतीय कार नेपाल भित्रिएको हो।
एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले २०२२ को तुलनामा २०२३ मा एमजीका विद्युतीय सवारीको आयात उल्लेख्य रुपमा बढाएको तथ्यांक छ।
२०२२ मा पारामाउन्टले एमजीका १ सय २४ वटा विद्युतीय कार भित्र्याएको थियो। हाल नेपाली बजारमा एमजीका जेडएस ईभी, एमजी फोर र कोमेट ईभी उपलब्ध छन्।
यस्तै २०२३ मा हुन्डाईका १ सय ८७ वटा विद्युतीय कार आयात भएको छ। २०२२ को तुलनामा हुन्डाईका विद्युतीय कार आयात भने घटेको छ। हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले २०२२ मा भने ३ सय १७ वटा विद्युतीय कार आयात गरेको थियो। हुन्डाईका कोना ईभी र आयोनिक फाइभ नेपाली बजारमा उपलब्ध छन्।
चिनियाँ सवारी उत्पादक होजोनको सवब्रान्ड निटाको भी मोडल २०२३ मा २ सय ६५ वटा विद्युतीय कार आयात भएको छ। २०२२ मा भने निटा भी १ सय ४२ वटा आयात भएको तथ्यांक छ। होजोन निटाको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटरले हालसम्म निटाको भी मोडलमात्र उपलब्ध गराएको छ।
२०२३ मा सेरेसका १ सय ७१ वटा विद्युतीय कार नेपाल भित्रिएको थियो। नाडा अटो शो २०२३ मा एमएडब्लू वृद्धिले सेरेस ब्रान्ड नेपाल भित्र्याएको थियो। हाल सेरेसका मिनि ईभी र सेरेस थ्री गरी दुई मोडल बिक्रीका लागि उपलब्ध छन्।
२०२३ मै फ्रेन्च ब्रान्ड सिट्रोनले पनि विद्युतीय कार नेपाल भित्र्याएको थियो। सो वर्ष सिट्रोका १ सय १४ वटा विद्युतीय कार आयात भएको हो। सिट्रोनका विद्युतीय कार सांग्रिला मोटर्सले नेपाल ल्याएको र सिट्रोनका ई सीथ्री ईभी बजारमा उपलब्ध रहेको छ।
यस्तै कियाका विद्युतीय कार विगत लामो समयदेखि नै नेपाली बजारमा उपलब्ध छन्। सरकारले कर बढाएका कारण २०२२ देखि कार आयात रोकिएको थियो तर २०२३ बाट भने कियाको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले कियाको ईभी सिक्स नेपाल भित्र्याएको हो।
त्यस्तै कियाले अन्य दुई/तीन वटा ईभी मोडल ल्याउने तयारी गरेको छ भने २०२३ मा कियाका ३१ वटा विद्युतीय कार नेपाल भित्रिएको हो।
यस्तै ग्रेटवाल मोटर्सको ओरा ०३ ईभी २०२३ मा ५६ वटा आयात भएको छ। ग्रेटवाल मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्स प्रालिले एउटा मोडल ओरा ०३ ईभी बिक्री गरिरहेको छ।
यसका साथै टेस्लाको नेपालका लागि आधिकारिक बिक्रेता अरेट इन्टरनेसनल प्रालिले २०२२ र २०२३ मा १३/१३ वटा विद्युतीय कार नेपाल ल्याएको हो। टेस्लाको मोडल वाई र मोडल थ्री विद्युतीय कार बजारमा उपलब्ध हरेका छन्।
२०२२ मा ५० वटा आयात भएको निसान लिफ २०२३ मा आयात भएको छैन भने २०२३ अउडीको बिक्रेता काइरोस इन्टरनेसनलले ५ वटा, हेनरीका २०२२ र २०२३ मा क्रामशः १३ र १२ वटा, बीएमडब्लूको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी प्रिमियम मोटरले २०२३ मा १० वटा विद्युतीय कार आयात गरेको हो।
२०२३ मा सबै ब्रान्डका गरेर कुल ६ हजार ७ सय ६२ वटा विद्युतीय कार नेपाल आयात हुँदा सबैभन्दा धेरै बजार हिस्सा टाटा मोटर्सको ३८ प्रतिशत छ। दोस्रो धेरै बजार हिस्सा बीवाईडीको ३२ प्रतिशत छ। तेस्रो स्थानमा रहेको एमजीको १७ प्रतिशत बजार हिस्सा छ।
त्यस्तै निटा भीको बजार हिस्सा ४ प्रतिशत, हुन्डाई, सेरेसको समान ३ प्रतिशत, सिट्रोन ई सीथ्रीको २ प्रतिशत, ग्रेटवाल ओराको १ प्रतिशत र बाँकी बजार हिस्सा अन्य ब्रान्डको रहेको छ।
२०२२ को तुलनामा २०२३ मा विद्युतीय कारको आयात उल्लेख्य रुपमा बढेको छ। विद्युतीय कारको आयात वार्षिक रुपमा ५७ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ।