शनिबार, साउन १२ गते २०८१    
images
images
images

जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहात

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन १८ २०८०
images
images
जोगबूढा नदीमा तटबन्ध निर्माण, कुतियाकबरबासीलाई राहात

महाकाली र जोगबूढा नदीमा तटबन्ध निर्माण तथा मर्मतका लागि गत वर्ष १६ करोड रुपैयाँ बजेट आएको थियो। सो बजेटमा तटबन्ध निर्माण र मर्मतको काम भइरहेको हो।

images

कञ्चनपुर- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरस्थित जोगबूढा नदीमा तटबन्ध निर्माण गरिएको छ। बाढीले गर्ने कटान नियन्त्रणका लागि तटबन्ध निर्माण गरिएको हो।

images
images

जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले जोगबूढा नदीमा यस वर्ष दुई सय एक मिटर तटबन्ध निर्माण गरेको छ।

images

कुतियाकबर जोड्ने जोगबूढा नदीमाथिको झोलुङ्गे पुलबाठ दुई सय मिटर नदीमा कटान नियन्त्रणका लागि तटबन्ध गरिएको जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका इन्जिनियर करुणाकर पन्तले बताए।

'जोगबूढा नदीमा तटबन्ध निर्माणको काम सकिएको छ', उनले भने, 'यस वर्ष महाकाली नदीमा पाँच-छ ठाउँमा तटबन्ध मर्मतको काम हुन्छ।'

images

उनका अनुसार महाकाली र जोगबूढा नदी मिसिने ठाउँमा करिब आठ सय मिटर तटबन्ध नयाँ निर्माण तथा मर्मत गरिने छ। दोधारा चाँदनी नगरपालिका-१० स्वास्थ्य चौकी नजिक महाकाली नदीमा गत वर्ष डेढ सय मिटरभन्दा बढी तटबन्ध निर्माण भएको थियो। दोधारा चाँदनी-१ स्थित नेपाल-भारत सीमा प्रारम्भविन्दुमा कङ्क्रिट ब्लक निर्माणको काम भइरहेको इन्जिनियर पन्तले जानकारी दिए। 

महाकाली र जोगबूढा नदीमा तटबन्ध निर्माण तथा मर्मतका लागि गत वर्ष १६ करोड रुपैयाँ बजेट आएको थियो। सो बजेटमा तटबन्ध निर्माण र मर्मतको काम भइरहेको हो। यसको ठेक्का शङ्कर जोशी जेभीले पाएको थियो। 'काम सम्पन्न हुँदासम्म बजेट अपुग हुने सम्भावना छ । त्यसैले बजेट थपका लागि जनस्रोत तथा सिँचाइ विभागलाई पत्राचार गरेका छौँ', उनले भने।

जोगबूढा नदीमा तटबन्ध निर्माण भएपछि स्थानीय बासिन्दा खुसी छन्। बर्सेनि कटान र बाढीको चपेटामा पर्ने कुतियाकबरका स्थानीयलाई तटबन्ध निर्माणपछि निकै राहत हुने दोधारा चाँदनी नगरपालिका-१० का अध्यक्ष चन्द्रबहादुर सिंह बताउँछन्।

'भारतले जोगबूढामा पानी छाडेपछि तटबन्ध निर्माण गर्न सकिँदैनथ्यो। दुई सातामै तटबन्ध निर्माणको काम सकियो', उनले भने, 'यहाँका किसानको खेत कटान तटबन्धले नियन्त्रण गर्ने विश्वास छ।'

दोधारा चाँदनी-१० मा पर्ने कुतियाकबर बस्तीलाई जोगबूढा र महाकाली नदीले घेरेको छ। बर्सेनि यहाँका स्थानीय कटान र बाढीको समस्या झेल्दै आएका छन्।

महाकाली र जोगबूढा नदीको कटानले स्थानीय बासिन्दाको जमिन कटान गरेर यहाँबाट विस्थापित हुने अवस्था आएको छ। जोगबूढामा यस वर्ष तटबन्ध निर्माणपछि त्यहाँबाट आउने बाढी र गर्ने कटान नियन्त्रण हुने आशा पलाएको कुतियाकबरका स्थानीय बासिन्दा खड्के बुढाले बताए।

'जोगबूढामा तटबन्ध निर्माण भएपछि झोलुङ्गे पुल भएर बस्ती पस्ने बाढी र हुने कटान रोकिन्छ', उनले भने, 'अझै आठ सय मिटर तटबन्ध निर्माण भए जोगबूढाको समस्या समाधान हुन्थ्यो।'

कुतियाकबरमा नेपाली सेनाले ‘सेफ हाउस’ पनि निर्माण गरिरहेको छ। कुतियाकबरस्थित महाकाली नदीमा तटबन्ध नभएकाले त्यस क्षेत्रबाट कटानको उच्च जोखिम रहेको उनले बताए।

'गत वर्ष महाकालीले दुई बिघा जमिन कटान गर्यो, महाकालीतिर तटबन्ध छैन', उनले भने, 'बर्सेनि हुने कटानले गाउँ नै जाने सम्भावना छ। महाकालीमा पनि तटबन्ध निर्माण गरेर कटान रोक्नुपर्छ।' रासस


प्रकाशित : शुक्रबार, फागुन १८ २०८०१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend