बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई खर्ब लगानीमार्फत एक हजार मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह

सौर्य र जलविद्युतका ११ परियोजना निर्माणको चरणमा

बिहीबार , फागुन १७ २०८०
दुई खर्ब लगानीमार्फत एक हजार मेगावाट बिजुली उत्पादन गर्दै गोल्यान समूह

गोल्यान समूहले अहिलेसम्म सौर्य ऊर्जातर्फ २० मेगावाटको आयोजना सम्पन्न गरेको छ भने जलविद्युततर्फ ३६ मेगावाटको आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ।

काठमाडौं- औद्योगिक घराना गोल्यान समूह पछिल्लो समय ऊर्जा क्षेत्रको लगानीमा आक्रामक देखिएको छ। गोल्यान समूहले झन्डै एक दर्जन आयोजनामार्फत ९ सय ९१ मेगावाटभन्दा बढी विद्युत उत्पादन गर्न अनुमति लिएर निर्माणको प्रक्रिया अगाडि बढाउँदै छ। जसका लागि समूहले झन्डै २ खर्ब रुपैयाँ लगानी गर्दै छ। 

अर्पाटमेन्ट निर्माण, इन्स्योरेन्स, बैंक वित्तसहित कृषि क्षेत्रमा समेत लगानी गरिरहेको गोल्यान समूहले ऊर्जामा लगानीलाई आक्रामक बनाएको छ।

६० वर्षदेखि नेपालमा लगानी गर्दै आएको गोल्यान समूहले धागो उद्योगमा समेत करोडौँ लगानी गरिरहेको छ। समूहले अहिले ऊर्जाअन्तर्गत सौर्य र जलविद्युत दुवैतर्फ लगानी बढाउन लागेको हो। 

गोल्यान समूहले अहिलेसम्म सौर्य ऊर्जातर्फ २० मेगावाटको आयोजना सम्पन्न गरेको छ भने जलविद्युततर्फ ३६ मेगावाटको आयोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ। 

गोल्यान समूहले त्यसका लागि १ खर्ब ९८ अर्ब रुपैयाँ लगानी गर्दैछ। समूहले सन् २०३० सम्म ९ सय ९१ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप्ने लक्ष्य राखेको छ। 

अहिले थोरैमा पनि प्रतिमेगावाट २० करोड रुपैयाँ लगानी पर्ने भएकोले ९ सय ९१ मेगावाट निर्माणका लागि कम्तीमा पनि समूहले १ खर्ब ९८ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ। समूहले ११ वटा आयोजनाहरू अगाडि बढाएको छ। अहिलेसम्म ९ सय ३५ मेगावाट विद्युत उत्पादन गर्न आयोजनाहरू निर्माणको चरणमा गएको छ। 

समूहको संलग्नता रहेकामध्ये ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको छ। समूहले पहिलो लगानी यही आयोजनाबाट सुरु गरेको थियो।

सिन्धुपाल्चोकमा बलेफी हाइड्रो पावर लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजना २०७९ देखि नै प्रसारणलाइनमा जोडिएको छ। बाँकीमध्ये ८ आयोजनाको निर्माण कार्यको काम धमाधम भइरहेको छ।

समूहले जलविद्युतसँगै सौर्य ऊर्जामा समेत लगानी गरेको छ। समूहले पीयोर इनर्जीमार्फत ६० मेगावाट सौर्य ऊर्जा परियोनासमेत अगाडि सारेको छ। जसमध्ये २० मेगावाटका दुई आयोजनाको निर्माण पूरा गरी सञ्चालन भइरहेको छ। बाँकी ४० मेगावाटका ४ आयोजना निर्माणका विभिन्न चरणमा छन्। 

सौर्य ऊर्जाबाट २० मेगावाट विद्युत् उत्पादन गरिएको छ । पियोर इनर्जी लिमिटेडले उत्पादन गरेको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारणलाइनको कोहलपुरस्थित सबस्टेसनमा जोडिएको छ। दुई भागमा विभाजन भएको पियोर इनर्जीको यस परियोजनामा पहिलो र दोस्रो भागबाट १०/१० मेगावाट विद्युत् उत्पादन गरी प्रसारणलाइनमा जोडिएको छ।  

जलविद्युत आयोजनामा धमाधम काम

पछिल्लो समय समूहले सानाभन्दा पनि अर्धजलाशययुक्त आयोजनामा लगानी बढाउँदै लगेको छ। नदी प्रवाहमा आधारितभन्दा पनि अर्धजलाशययुक्त आयोजना अगाडि बढाएको छ। समूहले अहिलेसम्म ३०६ मेगावाट आयोजनाको अर्धजलाशययुक्त आयोजनाको कामसमेत अगाडि बढाएको छ। 

निजी क्षेत्रले साना आयोजनामात्रै अगाडि बढाउने गरेको सरकारी आरोपकाबीच गोल्यान समूहले दुगडसँग मिलेर ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली आयोजनामा लगानी गर्दैछ।  

२६० मेगावाटको नामलाङ खोला हाइड्रोपावर, ९७ मेगावाटको इसुवा खोला, ४६ मेगावाटको माथिल्लो बलेफी, ३६ मेगावाटको बलेफी, ५० मेगावाटको ताराव खोला, ५४ मेगावाटको तल्लो अप्सुवा मिजु, ५७ मेगावाटको मुगु खोलाको कामसमेत अगाडि बढेको छ। २५ मेगावाटको भोटेकोशी खोला हाइड्रोपावर आयोजनाको समेत समूहले काम अगाडि बढाएको छ। 


प्रकाशित : बिहीबार , फागुन १७ २०८०१२:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend