सोमबार, वैशाख २४ गते २०८१    
images
images

पर्वतमा यसवर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै

images
images
images
पर्वतमा यसवर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै

पर्वतमा यस वर्ष प्रदेश र संघीय सरकारबाट गरी पूर्वाधार योजनाका लागि एक अर्ब नौ लाख रूपैयाँ बराबर बजेट विनियोजन भएको थियो। जसमध्ये नौवटा क्रमागत योजना, दुईवटा कृषि सडक, १४ वटा संघीय सरकारद्वारा हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ वटा योजना रहेका छन्।

images
images

पर्वत- पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ। पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र हुने भएको हो।

images
images
images

जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार दक्षिण पर्वतको चिसापानी-हातेमालोचोक-त्रिवेणी-पोखरचौर सडक खण्ड कालोपत्र सम्पन्न भइसकेको छ। कुश्मा नगरपालिका-१ पाङ नुवारदेखि वडा नं २ को हिमालय माविसम्मको छ किलोमिटर लामो सडक कालोपत्रको काम भइरहेको छ।

images

यो सडकका लागि यस वर्ष आठ करोड रूपैयाँ विनियोजन भएकामा अहिलेसम्म २० प्रतिशत काम भइसकेको कार्यालयले जनाएको छ। मोदी गाउँपालिकाको शेराबेँसी मोहोरिया हुँदै झिलिबराङ जाने सडक दुई किलोमिटर कालोपत्र हुने छ भने मख ठूलीपोखरी-देउपुर सडक पनि दुई किलोमिटर कालोपत्र गर्नेगरी योजना सुरु भइसकेको छ। यी दुवै योजनाका लागि दुई करोड ५० लाख रूपैयाँको दरले बजेट विनियोजन भएको छ।

images

कार्यालयका अनुसार मिलनचोक-धाइरिङ-घाखेत सडकअन्तर्गत यस वर्ष आठ किलोमिटर कालोपत्र हुने भएको छ। बहुवर्षीय योजनाअन्तर्गत रहेको यो सडक लामो समयदेखि अलपत्र रहकामा गत असोजदेखि धमाधम निर्माण भइरहेको छ। यसवर्ष काम सम्पन्न हुने अपेक्षा गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए।

images
images

यसैगरी, मोदी गाउँपालिकाको रतिखोला-दराक चित्रे सडक पनि कालोपत्रको चरणमा रहेको छ। तेह्र किलोमिटर लामो यो सडक कालोपत्रका लागि समपूरक बजेटबाट १८ करोड रूपैयाँ विनियोजन भएको छ। चालु आर्थिक वर्षको ठूलो योजनाका रुपमा रहेको यो सडक यस वर्ष सम्झौता मात्र गर्न सकिने र अर्को आर्थिक वर्षदेखि कालोपत्रको काम सुरु गरिने भएको छ।

त्यसैगरी, फलेवास नगरपालिकाअन्तर्गत हिलेखोला-कार्कीनेटा-थापाठाना-फलेवास सडक खण्डमा पनि चार किलोमिटर सडक कालोपत्र हुने भएको छ। यो सडकको पनि ठेक्का लागिसकेको छ। उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ।

यसैगरी, गँगटे- आर्थर सडक खण्डमा पनि कालोपत्रका लागि काम सुरु भएको छ। पाँच करोड रूपैयाँ विनियोजन भएकामा यस वर्ष झन्डै दुई किलोमिटर सडक कालोपत्र नै हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। यो सडक निर्माणको काम धमाधम भइरहेको उनको भनाइ  छ। कालोपत्रबाहेक विभिन्न सडक ढलान गर्ने योजना पनि रहेका छन्। ३० लाख रूपैयाँभन्दा कम बजेट विनियोजन भएका सडक ढलान गर्ने योजना पनि धमाधम सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ। पर्वतमा यसवर्ष एक सय ३२ वटा पूर्वाधारका योजना रहेको र तीमध्ये अधिकांश योजना कार्यान्वयनमा गइसकेका छन्।

जनशक्तिको अभावका कारण कतिपय योजनाको विस्तृत सर्भेक्षण गर्न र बेलपत्र आह्वान गर्न समस्या भइरहेको अधिकारीले बताए। पर्वतमा यस वर्ष प्रदेश र संघीय सरकारबाट गरी पूर्वाधार योजनाका लागि एक अर्ब नौ लाख रूपैयाँ बराबर बजेट विनियोजन भएको थियो। जसमध्ये नौवटा क्रमागत योजना, दुईवटा कृषि सडक, १४ वटा संघीय सरकारद्वारा हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ वटा योजना रहेका छन्। रासस

images

प्रकाशित : मंगलबार, फागुन १५ २०८०१२:१३

प्रतिक्रिया दिनुहोस