काठमाडौं- नेपाली समाजमा इन्टरनेट जीवनशैली बन्दैछ। सूचना र सञ्चारमात्र नभएर किनमेल, मनोरञ्जन र घरायसी काममा समेत इन्टरनेटको प्रयोग विस्तार हुँदै गएको छ।
प्रविधिको विस्तार भएको कुरा नेपालमा बर्सेनि आयात हुने स्मार्टफोनको संख्याले संकेत गर्छ। इन्टरनेट चलाउन मिल्ने र शक्तिशाली स्मार्टफोन सहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा समेत विस्तार भएका छन्।
केही वर्ष पहिले इन्टरनेट र स्मार्टफोनको उपयोग अधिकांशको सामाजिक सञ्जाल चलाउने मात्र थियो। तर पछिल्लो समय त्यसको आयात र उपयोगिता फेरिएको छ। इन्टरनेटको बढ्दो प्रयोगले गर्दा जीवनशैलीलाई नै सजिलो बनाइदिएको छ।
धेरै मानिसले यसअघि थाहा नपाएको प्रविधिको प्रयोगले जीवनशैली सजिलो बनाए पनि त्यसले सँगै जोखिम पनि ल्याएको छ। म्यानुअल जिन्दगी बाँचिरहेका मान्छेहरूले एक्कासी प्रविधिबाट नसोचेको परिणाम पनि भोगेका छन्।
शिक्षित र प्रविधिका बारेमा धेरथोर जानकार व्यक्तिहरू नै इन्टरनेटको दुनियाँमा भिन्न भिन्न जटिलताको शिकार भइरहेका छन्। हामीले दिनदिनै थाहा पाउने सूचनामै यस्तै प्रविधिजन्य अपराध, ठगीका घटनाहरू हुन्छन्। व्यक्तिगत अनुभव तथा जानकारी पनि पाइन्छन्।
इन्टरनेटको दुनियाँमा हुने जोखिमलाई न्यूनीकरणको क्षेत्रमा विश्वका विभिन्न देशमा काम गरिसकेका आशिष श्रेष्ठ र नेपालको ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तारको काम गरिरहेका चेन लामाले यही उदाउँदो साइबर जोखिममा भविष्य देखे। र उनीहरूले स्तुपा इन्फोसेक स्थापना गरे।
संयुक्त अधिराज्य बेलायतमा बसेर साइबर सुरक्षामा काम गरिरहेका श्रेष्ठले नेपाली समाजमा साइबर जोखिम बढ्दै गरेको तर यसका बारेमा जनचेतनाभन्दा पनि नीति निर्माण तहमै गम्भीरता नदेखेपछि नेपालमै यही क्षेत्रमा काम गर्ने योजनासहित फर्किएका हुन्।
'यही नामबाट मैले बेलायतमा कम्पनी चलाइरहेको छु। त्यहाँ पनि मैले विभिन्न साइबर सुरक्षाका प्रोग्रामहरू बनाउँछु। बेलायत सरकारसँग पनि मिलेर काम गरिरहेको छु। तर नेपालमा यसका बारेमा न्यून सचेतना देखेँ मैले' उनले भने।
श्रेष्ठ र लामाले मिलेर स्थापना भएको स्तुपा इन्फसेकले नेपालमा सुरुमै व्यापारिक महत्वाकांक्षा राखेको छैन। साइबर सुरक्षाका बारेमा नीतिगत तहमा पनि सरोकार नभएको र जनस्तरमा पनि सचेतना नभएकाले व्यापार भइहाल्ने अवस्था छैन। यस्तो अवस्थामा सुरुवातमा सचेतना फैलाउने उनीहरूको लक्ष्य रहेको छ।
गैरनाफामूलक संघसंस्थाहरूसँग मिलेर सुरक्षित इन्टरनेट प्रयोग, इन्टरनेटमा हुने जोखिम र त्यसले व्यक्तिगत जिन्दगीमा पार्ने प्रभावका बारेमा सचेत गराउने उनीहरूको लक्ष्य छ।
'नेपालमा दिनदिनै यस्ता सयौँ घटना हुन्छन्। मानव तस्करीदेखि वित्तीय ठगीसम्मका घटना दिनदिनै भइरहेका छन्। त्यस्ता घटना प्राय इन्टरनेटको दुरुपयोग वा प्रयोगकर्ताको असावधानीबाट हुने गरेको छ' श्रेष्ठले भने, 'यस्ता जोखिम न्यूनीकरणका लागि नीतिगत व्यवस्था बलियो छैन। यसले सरकार पनि उतिसारो गम्भीर छैन भन्ने देखिन्छ। यस्तो नीतिगत आवश्यकताको माग उपभोक्तामा सचेतना भयो भने हुनसक्छ।'
स्तुपा इन्फोसेकमार्फत श्रेष्ठले यसअघि नै यस्ता सचेतनाका लागि काम सुरु गरिसकेको जानकारी दिए। चाइल्डनेटसेफसँगको सहकार्यमा काम गरिएको उनले जानकारी दिए।
स्तुपाले नेपालमा व्यावसायिकभन्दा पनि स्वयमसेवी तरबरबाटै काम गर्ने छ। यसका लागि तीन तरीकाले काम गरिने श्रेष्ठले जानकारी दिए।
पहिलो चरणमा स्वयमसेवामुलक काम हुने छ। यसमा व्यक्तिगत र संस्थागत सचेतनाका लागि काम गरिने श्रेष्ठले जानकारी दिए।
व्यक्तिगत सचेतनाका लागि स्तुपाले आफै सिधै गएर काम गर्ने छैन। लक्षित वर्गसँग जोडिएका संघ संस्थाहरूसँग मिलेर सचेतना फैलाउने काम गर्ने छ।
बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरूसँग मिलेर उनीहरूका लागि सुरक्षित इन्टरनेट उपयोगका बारेमा शिक्षक अविभावकदेखि विद्यार्थीसम्मलाई जानकारी दिइनेछ।
‘हामीले पछिल्लो समय पुलिसमा रिपोर्ट भएका घटना हेर्दा पनि विद्यार्थीहरू साइबर अट्याकमा परिरहेका छन्। बालबालिकाहरू पीडित भएका छन्। तर उनीहरूको घटना सम्बिन्धित ठाउँमा पुग्ने गरेको छैन’ श्रेष्ठले भने, ’हामीले यस्तोमा यही क्षेत्रमा काम गरिरहेका संस्थाहरू तथा सरोकारवालासँगको सहकार्यमा सुरक्षित इन्टरनेटका लागि प्रोग्रामिङ गर्छौँ। जस्तो हामीले चाइल्डसेफनेटसँग मिलेर गरेका थियौँ।’
मानव तस्करीका लागि माइती नेपालजस्ता संस्थाहरूसँग सहकार्य हुने उनको भनाइ छ। नेपालमा इन्टरनेट साक्षरता नै कमजोर छ। त्यसमाथि सुरक्षित इन्टरनेटको उपयोगका बारेमा झनै कम जानकारी रहेको उनको बुझाइ छ।
‘केही समयअघि ठूलो ग्राहक सञ्जाल भएका केही कम्पनीको डेटा लिक भयो। ह्याकरले डेटा सार्वजनिक गरिदिए। त्यसबाट कति धेरैको जानकारी जोखिममा पर्यो। त्यत्रो घटनापछि पनि कुनै पनि उपभोक्ताले आवाज उठाएनन्। यहीबाट हाम्रो सचेतना लेभल कमजोर छ। हामीले गर्ने काम नै यही हो। जब उपभोक्ताले आवाज उठाउँछन् अनि कम्पनीले जोखिम न्यूनीकरणमा लगानी गर्छन्। सरकारले नियमन गर्छ’ उनले भने।
व्यक्तिगत सचेतना बढ्दै गएपछि नियामकीय व्यवस्थाका लागि दबाब बढ्ने एकातिर हुने छ। त्यस्तै स्तुपाले अर्कोतिर संस्थागत सचेतना, सावधानीका बारेमा परामर्श दिने छ।
नेपालमा संस्थागत तहमा पनि आफ्नो उपभोक्ता तथा ग्राहकको डेटा सुरक्षित राख्नुपर्छ भन्ने चेतना नरहेको श्रेष्ठको बुझाइ छ। त्यस्तै सरकारी नियमनकारी निकाययहरू पनि बढ्दो साइबर जोखिमका बारेमा खासै गम्भीर छैनन्। समस्या आएपछिमात्र चासो लिन खोज्दा समय धेरै घर्किसक्ने भएकाले अहिलेदेखि नै सबैतिर सचेतना विस्तार आवश्यक देखिएको श्रेष्ठको भनाइ छ।
‘हामी अहिले खासमा सबैतिर नि:शुल्क परामर्श दिइरहेका छौँ। साइबर अट्याक कतिसम्म गम्भीर हुनसक्छ। यसले कहाँसम्म प्रभाव पार्न सक्छ। यसको घनत्व कति हो? भनेर सरकारी अधिकारीदेखि सामान्य मान्छेहरूलाई जानकारी दिइरहेका छौँ’ उनले भने।