शनिबार, पुस ६ गते २०८१    
images
images

पर्वतमा पनि व्यावसायिक स्याउखेती

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ७ २०८०
images
images
पर्वतमा पनि व्यावसायिक स्याउखेती

'गाउँमा रहेका बेरोजगार तथा जग्गा बाँझो राखेर बस्नेलाई समेत प्रेरणा मिलोस् र खाली जग्गा सदुपयोग गरी प्रशस्त आम्दानीसमेत गर्न सकून् भन्ने उद्देश्यले एक्लै भए पनि स्याउखेती सुरुवात गरेको'

images
images

पर्वत- पर्वतमा पहिलोपटक व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ। जिल्लाको मोदी गाउँपालिका वडा नं ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यावसायिकरुपमा स्याउखेती सुरु गरेका हुन्।  

images
images
images

स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउखेती सुरु गरेका हुन्। २८ वर्ष लामो समय भारतीय सेनामा बिताएका शेरपुजाले अवकाशपछि गाउँमा खाली रहेको जग्गा सदुपयोग गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्याउखेती सुरु गरेको बताए। 

images

शेरपुजाले युट्युव च्यानलबाट स्याउखेतीसम्बन्धी विभिन्न जानकारी लिएर पहिलोपटक एग्रो मनाङ प्रालि काठमाडौँसँगको समन्वयमा इटलीबाट चार वटा फरकफरक जातका एक सय बिरुवा खरिद गरेर खेती सुरु गरेका हुन्।

images

गत वर्षदेखि सुरु भएको स्याउखेतीमा अहिले तीन सय  वटा बिरुवा पुगिसकेका छन् भने बिरुवा रोपेको पहिलो वर्षनै झण्डै ५० किलोग्राम स्याउ उत्पादन भएको कृषक शेरपुजाले जानकारी दिए। 

उनले समुद्री सतहबाट दुई हजारदेखि २२ सय मिटरको उचाइमा स्याउखेती गरेका छन्। सुरुमा गाला, गोल्डेन, फुजी र रेडचिप गरी चार वटा जातका बिरुवा रोपेका हुन्। सुरुवातमा मलखाद नमिलेका कारण २०/२५ वटा बिरुवा मरेको र पुन: भारतवाट एम सात र एमएन १११ जातको नयाँ बिरुवा ल्याएर रोपेको शेरपुजाले बताए। 

धेरै वर्ष पहिला कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिरुवा ल्याएर परीक्षण गर्दा फल्ने तर बिरुवा लामो समय नटिक्ने समस्या रहेको थियो। आफूले सामाजिक सञ्जाल र युट्युबमा थप अध्ययन गर्दै जाँदा यहाँको हावापानी र उचाइमा उपयुक्त हुने स्याउ इटलीमा पाइने बुझेपछि एग्रो मनाङ प्रालिमार्फत मगाएर बिरुवा रोपेको बताए। 

सुरुमा परीक्षणका लागि लगाएको बिरुवाबाट पहिलो वर्षमै राम्रो उत्पादन भएपछि आफैँले बिरुवा कलमी गर्ने, बीउबाट नर्सरी बनाउने काममा लागेको बताए। यस वर्ष थप दुई सय बिरुवा रोप्ने योजना बनाएका शेरपुजाले आगामी वर्ष १ हजार ५ सय बोट विस्तार गर्ने लक्ष समेत राखेका छन्। एउटा बोटबाट कम्तीमा पाँच केजीसम्म उत्पादन लिन सकिन्छ। शेरपुजाले भविष्यमा तीन हजारसम्म बोट लगाउने योजना बनाएका छन्।

कोदो, मकै, आलु खेती हुने बारीमा पहिलोपटक आफुले स्याऊका बिरुवा ल्याएर रोपेपछि गाउँलेले जिस्क्याएको भए पनि पहिलो वर्षमै राम्रो फल लागेपछि अहिले छिमेकीसमेत स्याउखेतीतर्फ सकारात्मक बनेका छन्।

शेरपुजाले भने, 'पहिला गाउँलेले विश्वास नै मानेका थिएनन् जब बोट सारेको पहिलो वर्षमै स्याउ फल्न थाल्यो, त्यसपछि भने छिमेकीले पनि स्याऊ खेती गर्न उत्साहित बनेका छन्।'

शेरपुजाले आफ्नै नर्सरीमा तयार गरेका बिरुवा अन्य किसानलाई बिक्री गर्ने जानकारी दिए। 

अहिले परीक्षणकैरुपमा रहेकाले अब फार्म नै खोलेर यो खेती विस्तार गर्ने तयारी शेरपुजाको रहेको छ। 'कोदो मकै लगाउँदा खासै आम्दानी हुने थिएन, स्याउखेती लगाएपछि प्रशस्त आम्दानी हुने अपेक्षा गरेको छु', उनले भने। शेरपुजाले अवकाश पछिको जीवन व्यावसायिक स्याउ उत्पादन र विस्तारमा विताउने योजना रहेको समेत बताए। 

स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको उनको भनाइ छ। शेरपुजा र उहाँकी श्रीमतीले फार्ममा काम गर्दै आएका छन्। उनका एक छोरा अध्ययनका लागि अमेरिका र अर्का छोरा नेपालमै कम्प्युटर इञ्जिनियर, छोरी भने अस्ट्रेलियामा छिन्। सहरमा बस्न बाग्लुङ बजारमा सुविधासम्पन्न घर बनाएको भए पनि आफू भने गाउँमै बसेर व्यावसायिक स्याउखेती गर्ने योजना बनाएको उनले बताए। 

गाउँमा रहेका बेरोजगार तथा जग्गा बाँझो राखेर बस्नेलाई समेत प्रेरणा मिलोस् र खाली जग्गा सदुपयोग गरी प्रशस्त आम्दानीसमेत गर्न सकून् भन्ने उद्देश्यले एक्लै भए पनि स्याउखेती सुरुवात गरेको उनको भनाइ छ। अर्को वर्षदेखि थप जग्गा भाडामा लिएर अझै स्याउखेती विस्तार गर्ने उनको योजना रहेको छ।

स्याउखेतीका लागि भनेर आफूले कुनै तालिम र सीप नसिकेको बताउँदै युट्यबबाटै आवश्यक जानकारी लिएर खेती गरेको उनले सुनाउनुभयो । जिल्लामै पहिलोपटक खेती सुरु गरे पनि कुनै निकायवाट सहयोग नपाएको शेरपुजाले बताए। रासस


प्रकाशित : सोमबार, फागुन ७ २०८०१५:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend