काठमाडौं- पछिल्लो समय सेयर बजार २००० बिन्दुको वरपर घुमिरहेको छ। १८०० बाट बढेर २२०० सम्म पुगेको सेयर बजार पुनः घटेर २००० को बिन्दुमा घुमिरहेको छ।
बढ्दा पनि बैंकिङबाहेक अन्य क्षेत्रको बजार नै बढ्ने गरेको छ। अझ वाणिज्य बैंकको सेयर मूल्य सोचेअनुसार बढ्न सकेको छैन।
पछिल्लो वर्षहरुमा लगानीकर्ताको आकर्षण वाणिज्य बैंकको सेयरमा देखिँदैन। बजार पुँजीकरण र वित्तीय सूचकका हिसाबले बलिया भए पनि पछिल्लो समय वाणिज्य बैंकका सेयर सबैभन्दा सस्तोमा खरिद बिक्री भइरहेका छन्।
मर्जर तथा एक्विजिसनपछि वाणिज्य बैंकको संख्या अहिले २० मा झरेको छ। मर्जरपछिको व्यापार बढाउन नसक्दा पनि बैंकले आकर्षक लाभांश दिन सकेका छैनन्। कतिपयले लगानीकर्तालाई हात खालि नै राखेका छन्। महँगा मूल्यका बैंकका सेयर मूल्य पनि अहिले ५ सयभन्दा तल झरेको छ। पछिल्लो समय इन्साइडर ट्रेडिङ मौलाउँदा पनि वाणिज्य बैंकको सेयर मूल्य बढ्न सकेको छैन।
साना पुँजी भएका कम्पनीमा खेलोफड्को गरेर वा नक्कली अर्डर गराएर पनि सेयर मूल्य बढाउने गरिएको छ। तर वाणिज्य बैंकको सेयर मूल्यमा त्यस्तो असम्भव नै हुने गरेको छ। जसका कारण पनि वाणिज्यको सेयर मूल्य खासै बढ्न सकेको छैन।
‘अहिले मूल्य नबढेपनि भविष्यमा वाणिजज्य बैंककै सेयर मूल्यमा आकर्षण हुने छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने। ठूला पुँजी भएका वाणिज्य बैंकको सस्तो मूल्यमा सेयर आएको छ। भविष्यमा मूल्य यही नरहने अध्यक्ष केसीको तर्क छ। साना कम्पनीको सेयरमा अलि बढी चलखेलका चर्चा विगतमा र अहिले पनि हुने गरेको उनको बुझाइ छ।
धितोपत्रको दोस्रो बजारका सूचकलाई नै उल्लेख्य रुपमा परिवर्तन गराउने क्षमता राख्ने वाणिज्य बैंकका सेयरमा लगानीकर्ताको आकर्षण खासै देखिँदैन। बैंकको सेयर संख्या ठूलो भएकाले धेरैको हातमा सेयर पुगेको छ। जसका कारण हल्लकै भरमा बढ्ने र घट्ने हुँदैन।
नेप्से परिसूचक २०७८ भदौ २ गते ३२ सय बिन्दुसम्म पुगेको थियो। उक्त अवधिमा नबिल बैंकको सेयर प्रतिकित्ता १ हजार ६ सय रुपैयाँ पुगेको थियो। खरिद गरेका लगानीकर्ताले ४ सय ६२ रुपैयाँमा कारोबार भइरहेको छ। वाणिज्य बैंकहरुको सेयर मूल्य घटेर तल्लो बिन्दुमा आएकाले अहिले अल्पकालीन वा दीर्घकालीन लगानीका लागि उपयुक्त समय भने रहेको छ।
९ बैंकको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ। कुमारी, प्रभु, सिटिजन्स, लक्ष्मी सन्राइज, नेपाल इन्भेष्टमेण्ट मेगा, माछापुच्छ्रे, एनएमबि, ग्लोबल आइएमई र हिमालयन बैंकको सेयर मूल्य २ सय रुपैयाँभन्दा तल छ।
वाणिज्य बैंकमध्ये सबैभन्दा महँगो स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य आइतवार बजार बन्द हुँदा प्रतिकित्ता ५ सय २७ रुपैयाँ र सबैभन्दा सस्तो कुमारी बैंकको १ सय ४७ रुपैयाँ छ।
गत आर्थिक वर्ष (आव) मुनाफाबाट १२ वाणिज्य बैंकले लाभांश घोषणा दिएका छन्। सात वटाले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका छन्।
हिमालयन, एनएमबि, प्राइम कमर्सियल, कुमारी, कृषि, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र नेपाल बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेका हुन्।