काठमाडौं- माइक्रो ब्रुअरीसहितको रेष्टुरेन्ट उद्योग स्थापनाका लागि उद्योग विभागले मापदण्ड जारी गरेको छ।
विभागले दुईसय सिट क्षमताको रेष्टुरेन्टको अभिन्न अंगको रुपमा वार्षिक तीन हजार हेक्टोलिटरसम्म बियर उत्पादनगरी आफ्नै रेष्टुरेन्टमा उपभोग गर्ने उद्योगलाई जनाउनेगरी 'माइक्रो ब्रुअरी'को परिभाषा गरेको छ।
मापदण्डमा चारवटा छनौटका आधार तय भएको छ। जसमा कम्तिमा दुईसय सिट क्षमताको रेष्टुरेन्ट हुनुपर्ने र यस्तो माइक्रो ब्रुअरीमा तीनहजार हेक्टोलिटरसम्म उत्पादन गर्न सक्नेछ।
रेष्टुरेन्ट सञ्चालनको लागि सम्बन्धित नियामक निकायबाट अनुमति लिएको हुनुपर्ने र रेष्टुरेन्टसहितको माइक्रो ब्रुअरीको रेष्टुरेन्टको क्षेत्रफल २ हजार ४ सय वर्गफिट (न्यूनतम), ब्रुअरी हाउसको क्षेत्रफल १ हजार २ वर्ग फिट तथा युटिलिटीजको लागि ९ सय वर्गफिट न्यूनतम क्षेत्रफल हुनु पर्ने छ।
यसैगरी रेष्टुरेन्टसहितको माइक्रो ब्रुअरीबाट उत्पन्न हुने सबै प्रकारका फोहरको वातावरणमैत्री बिसर्जन गर्ने ब्यवस्था हुनुपर्नेसमेत मापदण्डमा उल्लेख छ।
माइक्रो ब्रुअरीबाट उत्पादित वस्तुको गुणस्तर नियन्त्रणको विषयसमेत मापदण्डमा उल्लेख छ। माइक्रो ब्रुअरीबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम ६ प्रतिशतसम्म हुनु पर्ने मापदण्डमा उल्लेख छ।
माइक्रो ब्रुअरी पक्की भवनमा स्थापना हुनु पर्ने, कच्चा पदार्थ भण्डारण, उत्पादन क्षेत्र तथा उत्पादित वस्तुको भण्डारण छुट्टाछुट्टै स्थापना गरिने व्यवस्था मिलाउनु पर्ने र प्रमाणीकरण भएको माल्टको मात्र प्रयोग गर्नु पर्नेछ।
नेपाली माल्टको प्रयोग हुने भएमा उत्पादकको गुणस्तरीय माल्ट उत्पादनको प्रमाणपत्र भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ। क्लिन इन पिस सुविधाको प्रयोगशाला निर्माण भएको हुन पर्छ।
माइक्रो ब्रुअरीमा प्रयोग हुने ट्यांक एवम् पाइपलाइन स्टिल स्टील प्रयोग हुन पर्ने र माइक्रो ब्रुअरीमा प्रयोग हुने इन्धनका रुपमा बिजुलीमात्रै प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
माइक्रो ब्रुअरीको उत्पादनमा प्रयोग गर्ने पानी खाद्य तथा गुण नियन्त्रण विभागले तोकिएको खानेपानीको मापदण्डअनुरुपको पानीको चारित्रिक गुण हुनु पर्ने र उत्पादित बियरको चारित्रिक गुण नेपाल गुणस्तर मापदण्डअनुरुपको हुनुपर्ने उल्लेख छ।
उद्योग स्थापनका लागि १० लाख धरौटी राख्नु पर्ने छ भने स्थापनापछि व्यवसायिक रुपमा २ वर्षसम्म सञ्चलान तथा दर्ता गर्ने व्यक्तिको नाममा ५० प्रतिशत सेयर हुन पर्ने छ। बोटलिङ तथा अन्यत्र बिक्री वितरण गर्न नपाइनेसमेत मापदण्डमा उल्लेख छ। माइक्रो ब्रुअरीमा प्रत्यक्ष विदेशी लगानी हुन पाउने छैन।
यसअघि एमाले नेता महेश बस्नेत उद्योगमन्त्री हुँदा माइक्रो ब्रुअरीको अनुमति दिने प्रक्रिया अघि बढेको थियो। तत्कालीन मन्त्री बस्नेतले यसलाई अघि बढाउन खोजेपनि बियर उत्पादक कम्पनीले विरोध गरेका थिए। उद्योगीहरूकै प्रभावमा परेर संसदीय समितिहरूले रोक्न निर्देशन नै दिएका थिए।
त्यसपछि रोकिँदै आए पनि अहिले भने विभागले फेरि मापदण्ड जारी गरेर प्रक्रिया अघि बढाएको छ।