झापा- कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ।
दैनिक आउने जंगली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइँ सर्न थालेका हुन्। पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइँ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको तथ्यांकमा उल्लेख गरिएको छ।
कचनकवल-१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटकपटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइँ सर्न बाध्य भएको बताइन्। हाल उनको परिवार गत जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि कमल गाउँपालिका-६ मंगलबारे डेरा गरेर बसेको छ।
'दुःख गरेर घर बनायो वर्ष दिन नपुग्दै हात्तीले भत्काइदिन्छ', उनले भनिन्, 'धेरैपटक घर भत्काएपछि हामीलाई पनि कुन दिन सुतेकै ठाउँमा मार्छ होला भन्नेभयो, अब नहुने रहेछ भन्ने लागेर ज्यान जोगाउनकै लागि बसाइँ सर्यौँ।' चार दशकदेखि सो स्थानमा बसोबास गर्दै आएको सुवेदी परिवार हात्तीबाट ज्यान जोगाउन बसाइँ सरेको हो।
उनका अनुसार दिनभर जलथल जंगलमा बस्ने जंगली हात्ती साँझ नपर्दै दैनिक गाउँ पसेर आतंक मच्चाउन थालेपछि बाध्य भएर सुवेदी परिवारलगायत अन्य स्थानीय पनि सुरक्षित स्थानमा बसाइँ सर्न थालेका हुन्। हाल कचनकवलका वडा नं १, २ र ३ बाट बसाइँ सर्नेको सङ्ख्या बढिरहेको छ।
पालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका प्रमुख खेमराज भट्टराईले प्रत्येक वर्ष अन्य स्थानबाट आउनेको तुलनामा तेब्बर सङ्ख्या बसाइँ सरेर अन्यत्र गइरहेको जानकारी दिए। उनले चार वर्षको अवधिमा अन्य स्थानबाट बसाइँ सरेर आउनेको सङ्ख्या सात सय ५९ रहेको र जानेको सङ्ख्या एक हजार छ सय आठ रहेको बताए।
उनले विसंं २०७७ मा चार सय २६, २०७८ मा चार सय ४६, २०७९ मा चार सय ३० र २०८० को हालसम्ममा तीन सय छ परिवार पालिकाबाट बसाइँ सरेर अन्य स्थानमा गएको जानकारी दिए। यस क्षेत्रबाट मानिसहरु विर्तामोड, दमक, चारआली, बुधबारेलगायतका क्षेत्रमा बसाइँ सरेर गएका छन्। रासस