आइतबार, असार २१ गते २०८३    
आइतबार, असार २१ २०८३

मुगुका किसानलाई स्याउ बगैँचा काँटछाँटको चटारो

बुधबार, फागुन २ २०८०
मुगुका किसानलाई स्याउ बगैँचा काँटछाँटको चटारो

कति किसानहरुले पहिला कोदो, जौ, गहुँ, तरकारी खेती गर्दा जीविकोपार्जनमा समस्या हुन थालेपछि अहिले स्याउखेती गर्न थालेका छन्। घरखर्च र छोराछोरीको पढाइलेखाई यही स्याउ खेतीले धानेको ताल्चाकी किसान मायादेवी बताउँछिन्।

मुगु- मुगुका स्याउ किसानलाई अहिले बिरुवा काँटछाँटको कामले भ्याइनभ्याइ छ। माघ-फागुनलाई स्याउका बिरुवा काँटछाँट गर्ने उपयुक्त समय मानिन्छ।

अहिले बिरुवा काँटछाँट नगरे स्याउ थोरै फल्ने, साना दाना लाग्ने र धेरै फल झर्ने समस्या देखिने भएकाले मुगुका किसान यतिबेला बगैँचामा बिरुवा/बोट काँटछाँट गर्नमा व्यस्त भएका हुन्।

फागुनको दोस्रो सातापछि स्याउका बिरुवामा पालुवा पलाउँन थाल्छन् त्यसअघि नै बोटमा निस्किएका बाक्ला तथा अनावश्यक देखिएका हाँगा काट्नुपर्ने हुन्छ। मुगुको स्याउ पकेट क्षेत्र मानिएका ताल्चा, कालापाल्त, मैथु, पाथरखोला, तुम, घट्टलेख, शोभा, रोवा, बाम, सोरुकोट, खमाले लमेरा, सेरी र जामका किसान अहिले धमाधम आफ्ना बगैँचाका अनावश्यक हाँगाबिगा काँटछाँट गरिरहेका छन्। उनीहरु बिहानदेखि बेलुकासम्म स्याउ बगैँचामा व्यस्त देखिन्छन्। 

'पहिला कोदो, जौ, गहुँ, तरकारी खेती गर्दा जीविकोपार्जनमा समस्या हुन थालेपछि अहिले स्याउखेती गर्न थालेका छौँ। पछिल्लो समय गाउँगाउँमा सडक सञ्जाल जोडिएपछि स्याउको माग बढेको छ', छायानाथ रारा नगरपालिका-४ ताल्चाकी किसान मायादेवी भामले भनिन्, 'घरखर्च र छोराछोरीको पढाइलेखाई यही स्याउ खेतीले धानेको छ।'

उनका अनुसार बगैँचामा तीन सयभन्दा बढी स्याउ फल्ने बिरुवा रहेका छन्। बिहान, बेलुका बिरुवालाई सुरक्षा दिने, काँटछाँट गर्ने, निलोतुथो र चुना लगाउने काम भइरहेको उनले जानकारी दिइन्।

किसान विष्णुमाया रोकायाले आफ्नो बगैँचामा पाँच हजार स्याउका बिरुवा रहेको जानकारी दिइन्।। बगैँचाका बोट काँटछाँट गर्ने, सुरक्षा दिनेलगायत काममा दैनिकी बित्ने गरेको उनले सुनाइन्।

'घरमा अन्य सबै खेती छोडिसकेका छौँ। यही स्याउ खेतीमा १३/१४ वर्ष बितिसक्यो। बिरुवाले फल राम्रो दिए हाम्रो जीविकोपार्जन सहज हुन्छ', रोकायाले भनिन्, 'गतवर्ष धेरै हिउँ पर्नाले स्याउका बिरुवालाई सिँचाइमा कुनै समस्या थिएन। यो वर्ष हिउँ कम परेकाले सिँचाइमा समस्या भएको छ।'

छायानाथ रारा-६ का कुसलाल कुलालले धेरै वर्ष भारतको हिमाञ्चल प्रदेशमा स्याउसम्बन्धी काम गरेर अहिले गाउँमा खेती गरिरहेको बताइन्। अर्काको देशमा कुनै हकअधिकार नहुने भएकाले भारतमा सिकेको सीप आफ्नै गाउँघरमा लागु गर्नुपर्छ भन्ने लागेर स्याउखेती थालेको उनको भनाइ थियो।

पछिल्लो समय मुगुका धेरै किसानले स्याउ खेती गरे पनि प्राविधिक ज्ञान नहुँदा खेतीमा समस्या भोग्दै आएका छन्। जिल्ला कृषि कार्यालयका प्रमुख चन्द्रबहादुर शाहीका अनुसार बगैँचामा प्रत्येक वर्ष बिरुवा काँटछाँट गर्नुपर्ने हुन्छ। 'बिरुवालाई पहिलादेखि मलजल र गोडमेल गर्नुका साथै विभिन्न जातिका कीरा लागेर रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले यसबाट बिरुवालाई बचाउन काँटछाँट, गोड्मेल तथा उपचार समयमा नै गर्नुपर्छ', उनले भने, 'अहिले यहाँका किसानले त्यही काम गरिरहेका छन्।'

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाइ मुगु (स्याउ जोन) कार्यालयका प्रमुख तेजविक्रम मल्लले नराम्रो धेरै स्याउ फल्नुभन्दा राम्रो गुणात्मत्क थोरै स्याउ उत्पादनले प्रशस्त आम्दानी दिने बताए। गुणस्तरीय  स्याउका दाना उत्पादनका लागि यो बेला किसान स्याउका बिरुवाको सुरक्षाका काममा लागिरहेको उनको भनाइ थियो। रासस


प्रकाशित : बुधबार, फागुन २ २०८०१४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend