त्रिवेणी- रुकुमपश्चिमको मुसिकोट नगरपालिका-११ खर्चिवाङका शशिराम विश्वकर्मा उमेरले ४९ वर्ष पुगे। उनको दैनिकी प्रायः फलामसँगै खेलेर बित्ने गरेको छ। बिहान उठेदेखि साँझसम्म आरनमै काम गर्दा समय बितेको पत्तै हुँदैन। जब याम सुरु हुन्छ, त्यतिबेला झन कामको चाप हुने गरेको विश्वकर्मा सुनाउँछन्।
'याम सुरु हुने भनेको गहुँ, जौ काट्ने बेला र मकै काट्ने समयमा आरनमा कामको निकै चाप पर्छ, त्यो समयमा एक्लै काम नभ्याइने भएकाले ज्याला दिएर काम गर्ने मान्छे राख्ने गरेको छु। अन्य समयमा भने मैले एक्लै काम गर्ने गरेको छु। त्यति चाप पर्दैन', विश्वकर्माले भने। विगत २५ वर्षदेखि निरन्तर आरन पेसामा आबद्ध रहेका उनले बताए।
'२२ वर्षको उमेर हुँदा आरन पेसा सुरु गरेको हुँ, अहिले २५ वर्ष भयो निरन्तर यही पेसामा लागिरहेको छु। यो पेसा छोडेर देश बाहिर जान सकिनँ जति बाँच्छु यही पेसामै दुख गर्छु', विश्वकर्माले भने। हाल आरनमा फलामबाट निर्माण हुने कुटो, कोदालो, हँसिया, खकुरीलगायत सामग्री निर्माण गर्ने गरेको उनले सुनाए।
'फलामबाट निर्माण गरिएका सामग्री हेरेर फरकफरक मूल्यमा बिक्री गर्ने गरेको छु, सामग्री बनाउने व्यक्तिले आफै फलाम लिनुभयो भने पनि सामग्री हेरेर फरकफरक ज्याला लिने गरेको छु। गाउँका करिब ४० घरपरिवारभन्दा बढी मेरो आरनमा कुटो, कोदोलो, हँसिया, खुकुरी, बञ्चरोलगायतका सामग्री निर्माण गर्न आउनुहुन्छ', उनले भने।
शशिरामले फलामबाट निर्माण गरेका सामग्रीको फरकफरक ज्याला लिन्छन्। त्यस्तै फलामबाट निर्माण गरिएका सामग्रीको रेत लगाउने (धारिलो बनाउने) गरेको पनि सामान हेरेर हँसियाको ७० रूपैयाँदेखि एकसय ५० सम्म र खुकुरीको दुईसय ५० रूपैयाँ, ठूलो बञ्चरोको सातसयसम्म ज्याला (पारिश्रमिक) लिने गर्छन्।
'सामग्री बनाउने व्यक्तिले आफै फलाम लिएर एउटा हँसिया बनाउनुभयो भने तीन सयदेखि चार सयसम्म लिने गरेको छु, फलाम मेरो प्रयोग भयो भने त्यसमा एक सयदेखि दुई सयसम्मा बढी रुपैयाँ पर्छ', विश्वर्कमाले भने।
केही व्यक्ति हँसिया, कुटो, कोदालो, खुकुरी, बञ्चरोलगायत सामग्री लिन आरनमै आए पनि धेरै सामग्री बिक्री गर्नको लािग गाउँगाउँमै जाने गरेको विश्वकर्माले बताए। 'सामग्री निर्माण गरिसकेपछि आरनमा धेरै भयो भने गाउँगाउँ जाने गरेको छु, बजारमा सस्तो मूल्यमा राख्न खोज्छन्, त्यसैले पनि गहुँ, मकै काट्ने यामको समयमा घरघरै सामग्री पुर्याएर बिक्री गर्ने गरेको छु', उनले भने। खर्चिवाङ, बेतखोला, गैरिनेटा, बादरपानी, भलाक्चासहित रोल्पा जिल्लाको परिर्वतन गाउँपालिकासम्म सामग्री बोकेर बिक्री गर्ने गरेको उनले सुनाए।
पहिले अन्नमा अहिले ज्यालामा
विसं २०५५ देखि आरन पेसा सुरु गरेका विश्वकर्माले एक दशकभन्दा बढी समय अन्न (खलो) मा काम गरेको सुनाए। 'काम सुरु गरेको लामो सयमसम्म खलोमा काग गरेँ, उतिबेला खलोको चलन थियो, ज्याला भने कमै हुन्थ्यो, बाली उत्पादन हुने समय अर्थात् छ महिनाको अवधिमा जति सामग्री बनाए पनि ज्यालावापत सात, आठ पाथी अन्न ल्याउँथे, खलोमा दुःख बढी पैसा कम हुने भएकाले खलोमा काम गर्न छोडेँ, अहिले सबैले सामान बनाउनुपर्यो भने ज्याला तिरेरै बनाउनुहुन्छ। यसबाट हामीलाई आर्थिकरुपमा पनि सहज भएको छ। दुःखअनुसारको कमाइ हुँदा सन्तुष्ट छौँ।'
पेसाबाटै घर खर्चदेखि घर निर्माणसम्म
आरन पेसाबाटै आफ्नो परिवारको खर्च जोहो गर्ने गरेको विश्वकर्माले बताए। उनले घर खर्चमात्रै जोहो गरेका छैनन्, एक छोरा, तीन छोरीलाई पढाउनेदेखि आफू बस्ने घरसमेत यही पेसाबाटै निर्माण गरेको बताए। 'म अहिलेसम्म देश बाहिर कमाइको लागि गएको छैन, जति कमाइ गरेँ, यही आरन पेसाबाटै हो। छोराछोरीलाई पढाउन लेखाउनसमेत आरन पेसा मेरो लागि आर्थिक स्रोतको सारथी बनेको छ। परिवार घरकै काममा व्यस्त हुने भएकाले एक्लै आरन पेसा चलाएको छु। छोराले सामग्री निर्माणको गर्न सबै सीप सिके पनि यो पेसामा आबद्ध छैन। अरु नै काम गर्ने गरेको छु', उनले भने।
आरन पेसाबाट आम्दानी पनि राम्रै हुने गरेको विश्वकर्मा बताउँछन्। यो पेसा छोडेर अन्यमा जानुपरेको छैन। दुःखअनुसारको कमाइ राम्रै छ। मासिक १५ देखि १८ हजार रूपैयाँ आम्दानी हुन्छ। वार्षिक डेढ लाखभन्दा बढी कमाइ हुने गरेको उनले सुनाए। पेसा सञ्चालन गरेदेखि कुनै अनुदान नपाएको गुनासो विश्वकर्माले गरे। अनुदान पाएमा व्यावसायिकरुपमा आरन सञ्चालन गर्ने उनको योजना छ। आरनमा फलाम काट्ने यन्त्र, खोल्ने यन्त्र, पङ्खालगायत सामग्री आवश्यक रहेको उनले बताए।
आरन पेसा सञ्चालन गरिरहका व्यक्तिलाई वडा कार्यालयले कुनै अनुदानको कार्यक्रम नरहेको जनाएको छ। वडामा आठ घरधुरीले आरन पेसा जोगाइराखे पनि यो व्यवसायलाई थप व्यवस्थित बनाउन वडाबाट कुनै कार्यक्रम नगरेको वडा अध्यक्ष गोविन्द बुढाले जानकारी दिए।
'आफ्नो तरिकाले आरन पेसा चलाइराख्नुभएको छ। त्यसलाई थप व्यवस्थित बनाउन यो आर्थिक वर्षमा कुनै बजेट छैन। आउँदो वर्ष आरन पेसालाई थप व्यवस्थित बनाउन वडाको तर्फबाट पहल गर्नेछौँ', उनले भने। रासस